नेपाल उद्योग वाणिज्य महासंघको एक टोली अहिले भारतमा छ । बुधबारदेखि भारतको ग्रेटर नोयोडामा आयोजित खाद्य तथा खाद्य प्रविधिसंग सम्बन्धित वृहद अन्तराष्ट्रिय प्रर्दशनीमा सहभागी हुन महासंघका उपाध्यक्ष किशोरकुमार प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले भाग लिएको हो ।
भारतीय व्यापार प्रवद्र्धन केन्द्रको आयोजना भएको सो प्रदर्शनी शुक्रवारसम्म चल्ने छ । उक्त प्रदर्शनीमा भाग लिन उपाध्यक्ष प्रधानको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डल हिजो त्यसतर्फ प्रस्थान गरेको थियो ।
महासंघका कोषाध्यक्ष निरक के.सी., महासंघको कार्यकारिणी समितिका सदस्यहरू नरेन्द्र कुमार खड्का, दिल सुन्दर श्रेष्ठ, हेमराज ढकाल, जिल्ला उद्योग वाणिज्य संघका अध्यक्षहरू, वस्तुगत संघका अध्यक्षहरू सहित खाद्य तथा खाद्य प्रविधिसंग जोडिएका २२ जना नेपाली उद्यमी व्यवसायीहरूले सो प्रर्दशनीमा भाग लिएका छन् ।
प्रर्दशनीमा खाद्य तथा पेय पदार्थ प्रशोधन सम्बन्धी प्रविधि, खाद्य प्याकेजिङ तथा लेवलिङ प्रविधि, उत्पादनमा स्वचालित तथा नियन्त्रण प्रविधि, वेकरी तथा कन्फेक्शनरी, उपभोग्य वस्तु, खाद्य मील तथा खाद्यान्न तेल उद्योगहरूले प्रयोगमा ल्याएका पछिल्लो प्रविधिहरूको प्रदर्शनी गरिएको छ । प्रदर्शनीमा भारत लगायत विश्वका औद्योगिक राष्ट्रहरूको सहभागिता रहेको छ ।
मेलामा महासंघको प्रतिनिधिमण्डलद्वारा प्रर्दशनीको अवलोकन गर्नुका साथै नेपालको खाद्य तथा खाद्य प्रशोधन क्षेत्रमा प्रविधि भित्रयाउने विषयमा विभिन्न देशका उद्योगी व्यवसायीहरूसंग छलफल भेटवार्ता हुने कार्यक्रम छ । साथै प्रतिनिधिमण्डलले महासंघद्वारा आगामी चैत्र महिनामा आयोजना गरिने नेपाल अन्तराष्ट्रिय व्यापार मेलामा सहभागिताका लागि वाहय कम्पनीलाई आमन्त्रण समेत गर्ने कार्यक्रम छ ।