काठमाडाैं । भारतले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतिलाल दुगड त्यसलाई खुलाउने प्रतिबद्धता ब्यक्त गरेका छन् ।
उद्योगीसँग आफ्नै कार्यकक्षमा कुराकानी गर्दै दुगडले भारतसँग कुराकानी भइरहेको र केही दिनमै निर्यात खुल्ने आश्वासन दिएको सहभागी एक उद्योगीले बताएका छन् ।
‘राज्यमन्त्रीज्यूले यस विषयलाई गम्भीर रुपमा लिएर कुराकानी गर्नु भएको महशुस भएको छ,’ सहभागी एक उद्योगीले भने, ‘उहाँको कुराबाट हामी विश्वस्त छौं, छिटै निर्यात खुल्छ ।’
उद्योग राज्यमन्त्री दुगडले छिटो भन्दा छिटो निर्यात प्रतिबन्ध फुकुवा गराउन भारतसँग कुरा गरिरहेको बताए । ‘सम्बद्ध उद्योगीहरु आउनु भएको थियो,’ उनले भने ‘नेपालमा उत्पादित पाम आयल छिनै भारत पठाउन सकिन्छ ।’ पाम आयातको निर्यात खुलाउन सरकारी उच्च तहबाट पनि कुरा भइरहेको दुगडले बताए ।
भारत सरकारले पाम आयल आयातमा प्रतिबन्ध लगाएपछि नेपाली लगानीकर्ताको अर्बौ रुपैयाँ जोखिममा पर्ने अवस्था आएको छ । नेपाली लगानीकर्ताले मलेसिया तथा इन्डोनेसियाबाट पाम आयल आयात गरी भ्यालू एड गरेर भारत निकासी गर्दै आएका थिए ।
पछिल्ला केही महिनायता नेपालमा पाम आयलको निर्यात तथा आयातमा वृद्धि भएको थियो ।
सोही अनुसार उद्योगीले पनि नयाँ उद्योगमा लगानी बढाएका थिए । तर, भारतले एकाएक आयातमा रोक लगाएपछि सरकारी तवरबाट यसलाई खुलाउने प्रयास भइरहेको छ ।