काठमाडौं । भाटभटेनी सुपर मार्केटले ६५ करोड रुपैयाँ कर छलेको अदालतले ठहर गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्र सम्शेर राणा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानको संयुक्त इजलासले भाटभटेनीले ६५ करोड रुपैयाँ कर छलेको ठहर गरेको हो ।
राजस्व न्यायधीकरणको फसलालाई सदर गर्दै भाटभटेनीसहित विभिन्न कम्पनीलाई दोषी ठहर गरेको हो । नक्कली भ्याटबिल प्रयोग गरी राजस्व छली गर्नेमा भाटभटेनी सुपर मार्केट, अरुण इन्टरकन्टिनेन्टल, शङ्कर अक्सिजन ग्यास, आइएजी प्रालि र महेश बानियाँ छन् ।
उनीहरुले मूल्य अभिवृद्धि करसँगै आयकर समेत छलेको अदालतको ठहर छ । २०६७ सालमा आन्तरिक राजस्व विभागले गठन गरेको समितिले अनुसन्धान गरी ५ सय १८ ओटा व्यापारीक फमले नक्कली भ्याट बिल बनाइ कर छलेको ठहर गरेको थियो ।
त्यसैको आधारमा सरकारले ३ अर्ब ७ करोड भ्याट, ३ अर्ब ३३ करोड रुपैयाँ आयकर र २० करोड ५० लाख रुपैयाँ अन्तशुल्क गरी कुल ६ अर्ब ५९ करोड रुपैयाँ कर निर्धारण गरेको थियो ।
भाटभटेनी सुपर मार्केटले मात्रै ६५ करोड रुपैयाँ कर छलेको महान्याधिवक्ता कार्यालयले जनाएको छ । त्यस्तै आइएजी प्रालिले २४ लाख ९५ हजार, अरुण कन्टिनेन्टलले ५० लाख १६ हजार रुपैयाँ भ्याट छलेको ठहरसहित राजस्व प्रशासनले त्यति नै जरिवाना सहित भराउनुपर्ने निर्णय गरेको थियो ।
बानियाँ स्टोर्स एन्ड फमका सञ्चालक महेश बानियाँले ५७ हजार ५ सय ४८, शङ्कर अक्सिजन ग्यासले २२ लाख १३ हजार रुपैयाँ छलेको निश्कर्षसहित थप दस्तुर र त्यति नै जरिवाना निर्धारण गरेको थियो । राजस्व प्रशासनले निर्धारण गरेको कर दस्तुर र जरिवानाविरुद्ध व्यापारीहरु आन्तरिक राजस्व विभागका महानिर्देशकसामू पुनरावलोकनका लागि निवेदन दिएका थिए ।
त्यहाँबाट आफ्नो पक्षमा निर्णय नभएपछि राजस्व न्यायधीकरण गएका थिए । न्यायधीकरणले पनि उनीहरुलाई नै दोषी देखाए पछि व्यापारीहरु सर्वोच्च अदालत पुगेका थिए ।