काठमाडौं । प्रस्तावित माथिल्लो मस्र्याङदी–२ जलविद्युत आयोजनाको क्षमता घटेको छ । आयोजनाको क्षमता ६०० मेगावाटबाट घटेर ३२७ मेगावाट कायम भएको हो ।
जीएमआर इनर्जी लिमिटेडले भारत निकासी प्रयोजनका लागि आयोजना क्यू २८ मा डिजाइन गरेको थियो । क्यू २८ मा डिजाइन गर्दा आयोजनाको जडित क्षमता ६०० मेगावाट थियो ।
नेपाल विद्युत प्राधिकरणले क्यू ४० भन्दा कम डिजाइनका आयोजनासंग विद्युत खरिदबिक्री सम्झौता (पीपीए) नगर्ने नीति ल्याएपछि आयोजनाको क्षमता घटेको बुटवल पावर कम्पनी लिमिटेड (बीपीसी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) उत्तरकुमार श्रेष्ठले बताए ।
‘जीएमआरले भारत निकासीका लागि क्यू २८ मा डिजाइन गरेर क्षमता बढाएको थियो । प्राधिकरणले ४० भन्दा कम क्यूका आयोजनासंग पीपीए नगर्ने भएपछि क्षमता घटेको हो’ उनले क्यापिटल नेपालसंग भने ।
बीपीसीले जीएमआरसंग साढे ३ अर्ब रुपैयाँमा सो आयोजना खरिद गरेको हो । जीएमआरसंग माथिल्लो कर्णाली आयोजना मात्र छ । माथिल्लो मस्र्याङदी आयोजना बीपीसीले ३ ओटा चिनियाँ कम्पनीसंग साझेदारीमा बनाउने भएको छ ।
बीपीसी र ३ ओटा चिनियाँ कम्पनीले एससीआईजी इन्टरनेसनल नेपाल हाइड्रो ज्वाइन्ट डेभलपमेन्ट कम्पनी प्राइभेट लिमिटेड गठन गरिसकेका छ ।
पीपीएका लागि विद्युत प्राधिकरणमा आवेदन दिएको छ । विद्युत प्राधिकरणले डलरमा पीपीए गर्न मानेको छैन । यो कम्पनीमा बीपीसीको १९.५ र बाँकी चिनियाँहरुको छ ।
पीपीए र हेज फण्डको काम बाँकी रहेको सीईओ श्रेष्ठले बताए । हेज फण्डमा ढिलाइ भइरहेको उनले सुनाए । चीनबाट डलरमा लगानी आउने भएकाले आयोजनालाई डलरमा पीपीए र परिवत्र्य मुद्रा जोखिम व्योहर्न हेज फण्ड आवश्यक भएको उनको भनाई छ ।
बीपीसीले चिनियाँ साझेदारमिा माथिल्लो मस्र्याङदी र १४० मेगावाटको तल्लो मनाङ मस्र्याङ्दी आयोजना बनाउन तयारी थालेको छ । । दुई आयोजनाको जडित क्षमता ४६७ मेगावाट छ ।
बीपीसीले दुबै आयोजनाको पुरक वातावरणीय प्रभाव मूल्याँकन सुरु गरेको छ । माथिल्लोको क्षमता घटेको र तल्लोको बढेकाले पुरक वातावरणीय प्रभाव मूल्याँकन गर्न लागेको हो ।
बीपीसीले तल्लो मनाङ मस्र्याङदीको ८०.६ प्रतिशत सेयर चिनियाँ कम्पनीलाई बिक्री गरिसकेको छ । एसीआईजीमा बीपीसीको १९.४ प्रतिशत सेयर छ ।
एससीआईजीमा बीपीसीका अतिरित्त एससीआईजी इन्टरनेसनल लिमिटेड, जीचेङ इन्टरनेसनल इन्भेस्टमेन्ट कम्पनी लिमिटेड, क्युआईइसी इन्टरनेसनल कम्पनी लिमिटेड हङकङको लगानी रहने छ ।
मनाङमा पर्ने १४० मेगावाटको सो आयोजनाबाट ६९ करोड ८२ लाख युनिट बिजुली उत्पादन हुने संभाव्यता अध्ययनले देखाएको छ ।
तल्लो मनाङ मस्र्याङदी आयोजना भन्दा तल दुई आयोजनासंग क्यासकेड अवधारणामा स्रोतको अधिकतम उपयोग हुने गरी बिजुली उत्पादन बढाउने लक्ष्य रहेको बीपीसीले जनाएको छ ।
आयोजनाको संरचना मनाङको नासोङ गाउँपालिकाम रहनेछ । आयोजनाबाट उत्पादन हुने बिजुली नासोङ गाउँपालिकाको घेलाञ्चोक र ओडार गाउँमा प्रस्तावित २२० केभी मनाङ हवमा ल्याएर जोडिने छ ।
बीपीसीले नेपालमा १ हजार मेगावाट बिजुली उत्पादन गर्न चीनबाट २ खर्ब रुपैयाँ बढी वैदेशिक लगानी ल्याउन चिनियाँसँग सम्झौता गरेको छ ।
होल्डिङ कम्पनीमार्फत आउदो ५ वर्षमा थप १ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्य लिइएको छ । बीपीसीले ३० मेगावाटको न्यादी आयोजनाको निर्माण गरिरहेको छ ।