काठमाडौं। अर्थतन्त्र सुस्ताएका बेला व्यापार चलयमान बनाउने उद्देश्यले होटल रेष्टुराँ व्यवसायीहरुले ‘ड्रिंक्स एट एमआरपी’ अवधारणा अघि सारे।
खासगरी, अल्कोहलिक पेय पदार्थको व्यापार ठप्प भएपछि व्यवसायीहरु अधिकतम खुद्रा बिक्री मूल्य (एमआरपी)मा पेय पदार्थ बिक्री गर्न बाध्य भएका थिए। सो समय भन्दा अगाडिसम्म कुनै पनि होटल, रेस्टुरेन्ट, क्याफेहरुमा एमआरपीमा मदिरा पाउन सम्भव थिएन।
नेपालको अर्थतन्त्र हरेक दिन झन समस्यातर्फ गइरहेको, व्यवसायीले सानो पुँजीबाट सञ्चालन गरेको व्यवसाय झन झन समस्यामा पर्दै गइरहेका बेला व्यापार टिकाउन अनेकन उपाय लगाइरहेका छन्। त्यही उपायमध्ये एउटा हो ड्रिङ्क्स एट एमआरपी।
अहिले थुप्रै होटलहरुमा एमआरपीमा नै मदिरा बिक्री वितरण भइरहेको छ। अझ, हालै व्यवसाय सुरु गरेका र सञ्चालनमा आएका होटलहरुले एमआरपीमा डिं«क्स पाइने भन्दै ग्राहक आकर्षणको प्रयास गरिरहेका छन्। यसले बजारमा एक किसिमको प्रतिस्पर्धा सिर्जना गरेको छ भने मदिरामा आफू खुसी मूल्य लिने गरेका होटलहरुले पनि यसबारे सोच्नुपर्ने स्थिति बनेको छ।
एकातिर उपभोक्ताको क्रयशक्तिमा निरन्तर ह्रास आइरहेका बेला व्यवासयीले उनीहरुलाई सस्तो दरमै सेवा प्रवाह गरेर व्यवसाय टिकाउने दाउ बनाइरहेका छन्।
खासगरी, अपरेसनल खर्च कम लाग्ने रेस्टुरेन्टहरुमा बढी मात्रामा एमआरपीमा मदिरा बिक्री हुँदै आएको छ। बाजेको सेकुवाकी निर्देशक नीतिमा कार्की साना र अपरेसनल खर्च कम लाग्ने रेस्टुरेन्टहरुमा एमआरपीमा मदिरा उचित देखिएको बताउँछिन्।
‘अपरेसनल खर्च बढी लाग्ने र ठूलाठूला होटल रेस्टुरेन्टमा एमआरपीमा मदिरा सम्भव हुँदैन। तर, साना र अपरेसनल खर्च एकदमै कम हुने रेस्टुरेन्टमा भने एमआरपीमा बिक्री गर्दा ठिकै हुने गरेको देखिन्छ,’ कार्की भन्छिन्, ‘यसरी बिक्री गर्दा धेरै नाफा नभए पनि व्यापार गर्न सक्ने स्थिति भने हुन्छ।’
कार्कीका अनुसार साना रेस्टुरेन्टहरुमा अपरेसनल खर्च कम लाग्ने भएकाले हाल अधिकांश साना रेस्टुरेन्टहरुमा एमआरपीमा मदिरा बिक्री भइरहेको छ। ठूला रेस्टुरेन्टमा त्यहाँको व्यवस्थापन, पूर्वाधार, जनशक्ति जस्ता कुरामा धेरै खर्च हुने हुनाले कम मूल्यले लागत उठ्न सम्भव हुँदैन। साथै, साना रेस्टुरेन्टहरुमा अन्य खानेकुरा बनाउने खर्च पनि कम लाग्ने हुनाले त्यसबाट पनि एमआरपीमा मदिरा बिक्री गर्न सहयोग पुग्ने गरेको देखिन्छ।
एमआरपीमा मदिरा बिक्री गर्ने रेस्टुरेन्टहरुको व्यापारमा समेत यसले सहयोग पुर्याएको छ। मदिरा सेवन गर्न रेस्टुरेन्ट पुग्नेहरुले अन्य खानेकुराहरु पनि उतिकै मात्रामा खाने भएकाले समग्र कारोबार नै वृद्धि हुन पुग्दछ।
त्यसैले पनि साना र कम खर्च हुने रेस्टुरेन्टहरुले एमआरपीमा मदिरा उपलब्ध गराउने कार्यलाई निरन्तरता दिँदै आएका छन्। कोरोना समयमा केही रेस्टुरेन्टले एमआरपीमा मदिरा उपलब्ध गराउन सुरु गर्दा यो अस्थायी मात्रै हुने भनिएको थियो। तर, हाल धेरैले एमआरपीमै व्यापार गरिरहेका छन्।
हाल ११ वटा आउटलेट रहेको झिर सेकुवाले एमआरपीमा मदीरा उपलब्ध गराइरहेको छ। शंखमुल, नयाँ बानेश्वर, झम्सिखेल, बालाजु, भैंसेपाटी, कालोपुल, पेप्सीकोला, टोखा लगायतका ठाउँमा आउटलेट रहेको झिरले एमआरपीमा मदिरा बिक्री गरिरहेको हो। झिरले ‘काठमाडौंको रेस्टुरेन्टमा पहिलो पटक एआरपीमा अल्कोहल’ भन्ने श्लोकसहितको प्रचारका साथ एमआरपीमा मदिरा बिक्री गरिरहेको छ।
आधा दर्जन आउलेट रहेको टिम्मुरे सेकुवाले पनि एमआरपी मूल्यमा नै मदिरा बिक्री गरिरहेको छ। टिम्मुरेको आउटलेटहरु मध्य बानेश्वर, कमलबिनायक, दरबारमार्ग, अनामनगर लगायतका स्थानमा छन्। टिम्मुरे पोर्क सेकुवा, टिम्मुरे चिकेन, टिम्मुर आलुलगायतमा लोकप्रिय छ।
यी खानासँगै टिम्मुरेले एमआरपी मूल्यमा नै ग्राहकलाई मदिरा उपलब्ध गराइरहेको छ। काठमाडौं उपत्यकामा सात र पोखरामा एक गरी आठ आउटलेट रहेको जिग्री सेकुवाले पनि ‘ड्रिंक्स एट एमआरपी’ रणनीतिमा आधारित रहेर नै आफ्नो व्यवसाय अगाडि बढाइरहेको छ। जिग्रीले आफ्नो आठ वटै आउटलेटमा एमआरपी मूल्यमा नै पेय पदार्थ बिक्री गरिरहेको छ।
हात्तीगौडा, झम्सिखेल, कपन, शान्तिनगर, जोरपाटी, बालुवाटार, नारायणथान र पोखरा गरी जिग्री सेकुवाका आठ आउटलेट रहेको जिग्री सेकुवा पोर्क, मटन, चिकेनका, आलु, लसुन र सागको सेकुवामा चर्चित छ।
यसबाहेक सबैभन्दा बढी चहलपहल हुने मध्येमा पर्ने काठमाडौंको ठमेलमा समेत थुप्रै होटल तथा रेस्टुरेन्टहरुले एमआरपीमा पेय पदार्थ प्रदान गरिरहेका छन्।
सेकुवालाई प्राथमिकताका साथ बिक्री गरिरहेका रेस्टुरेन्टहरुले यसलाई थप प्राथमिकता दिएका छन्। सेकुवासँग मदिरा पिउने र रमाउने मानिसको संख्या बढेकाले पनि विभिन्न ब्रान्डका सेकुवा रेस्टुरेन्टको संख्या दिनप्रतिदिन बढिरहेको छ।
कोरोना समयमा नै बियर एन्ड फायर सेकुवा, द चिल हाउस रेस्टुरेन्ट, परिक्रमा रेस्टुरेन्टहरुले मदिरामा एमआरपी लागू गरेका थिए।