काठमाडौं । गैरआवासीय नेपालीको लगानी रहेको सानिमा ग्रुपले आगामी ३ वर्षभित्र ११५ मेगावाट थप बिजुली उत्पादन गर्ने भएको छ । ग्रुपले साना र ठुला गरी ३ जलविद्युत आयोजना सम्पन्न गरी सो परिमाण बिजुली थप्ने भएको हो ।
ग्रुपले ७३ मेगावाटको मध्यतमोर, २८.१ मेगावाटको तल्लो लिखुखोला र १४.३ मेगावाटको मैलुङखोला आयोजना निर्माण गरिरहेको छ । तल्लो लिखुखोला आयोजना आउँदो २ वर्ष अर्थात २०२१ को डिसेम्बर, मैलुङखोला जुन २०२१ र मध्यतमोर मार्च २०२२ मा सम्पन्न गर्ने ग्रुपका अध्यक्ष जीवा लामिछानेले बताए ।
आन्तरिक खपतका लागि यी आयोजना निर्माण सुरु भएको हो । सबै आयोजना नदीको बहावमा आधारित (रन अफ दि रिभर) प्रकृतिका छन । सानिमाले निर्माण गरिरहेको मध्यतमोर ताप्लेजुङ, लिखु रामेछाप र मैलुङखोला रसुवा जिल्लामा पर्छ । ग्रुपले निर्माण गर्ने आयोजनामा सर्वसाधारणको सेयर लगानी हुने छ ।
२.५ मेगावाटको सुनकोसी साना जलविद्युत आयोजना निर्माण गरेर जलविद्युतमा प्रवेश गरेको सानिमाले २२ मेगावाटको सानिमामाई र ७ मेगावाटको सानिमा माइ क्यासकेड गरी ३१.५ मेगावाटका ३ आयोजना सञ्चालन गरिरहेको छ । थप ३ ओटा आयोजना बनेपछि आधादर्जन आयोजना भई जडित क्षमता १४५ मेगावाट पुग्ने छ । यी आयोजना सहायक कम्पनीमार्फत निर्माण सुरु भएको हो ।
तल्लो लिखु आयोजना स्वेतगंगा हाइड्रोपावर एन्ड कन्ट्रक्सन लिमिटेड, मध्यतमोर सानिमा मिडिल तमोर हाइड्रोपावर लिमिटेड र माथिल्लो मैलुङखोला माथिल्लो मैलुङखोला हाइड्रोपावर लिमिटेड मार्फत निर्माण गर्ने भएको छ ।
यस्तै सानिमाले २८५ मेगावाटको माथिल्लो तमोर, ६२ मेगावाटको जुमखोला र ७.५ मेगावाटको माथिल्लो मैलुङखोला बी आयोजना पनि निर्माणको तयारीमा छ । यी आयोजनाको सम्भाव्यता अध्ययन भइरहेको छ ।
प्रस्तावित आयोजनाका काम अघि बढाउन सानिमा माइले ६५ करोड ३२ लाख रुपैयाँ अग्रिम लगानी गरेको जानकारी दिएको छ । यी आयोजनामा सानिमा माइले १ अर्ब ८ करोड ८२ लाख ५० हजार रुपैयाँ स्वपुँजी (इक्विटी) लगानीको योजना तयार पारेको छ ।
सानिमाले जलविद्युतका साथै बैंक, बीमा र पर्यटन सेवा क्षेत्रमा लगानी विस्तार गरिरहेको छ । ग्रुपले जलविद्युतका साथै सानिमा बैंक, सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, सानिमा जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र अंकमा होटल सञ्चालन गरिरहेको छ ।