काठमाडौं। पूर्वश्रममन्त्री कृष्णकुमार श्रेष्ठ(किशान)ले बाराको सिमरामा पाँचतारे होटल निर्माण गर्ने भएका छन्। उद्योगी व्यवसायी समेत रहेका पूर्वश्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री श्रेष्ठले मधेश प्रदेशकै सबैभन्दा ठूलो होटल बनाउने अभियानका साथ पाँचतारे होटल निर्माण गर्न लागिएको जानकारी दिए।
२०८४ साल भित्र सञ्चालनमा ल्याउने गरी निर्माण गर्न लागिएको होटलको अहिले वातावरणीय प्रभाव मूल्याङ्कन (ईआईए)को काम भइरहेको उनले बताए। ३ विगाह क्षेत्रफलमा निर्माण हुने होटलमा १०० भन्दा बढी कोठाहरु हुने छ।
ईआईएकै चरणमा रहेकोले कति लागतमा निर्माण सम्पन्न भइसक्छ भन्ने टुंगो नलागे पनि होटलमा २ अर्ब भन्दा बढी लागत लाग्ने अनुमान अनुसार काम भइरहेको सञ्चालक श्रेष्ठले जानकारी दिए। होटलमा क्यासिनोसमेत सञ्चालन हुनेछ। भारतको सिमा नजिकै पर्ने भएकाले क्यासिनो खेल्न आउने भारतीयहरुलाई विषेश लक्षित गरिएको जनाएको छ।
भिल्ला सहित निर्माण हुने होटलको शिल्यान्यास केही महिना भित्रै गर्ने गरी तयारी तीब्र थालिएको बताइएको छ। ‘ईआएको काम सकिने वित्तिकै शिल्यान्यास हुन्छ,‘ सञ्चालक श्रेष्ठले भने, ‘निर्माण सुरु भएको २ वर्ष भित्रै सञ्चालनमा ल्याउने हो।‘
होटलमा सुइट, डिलक्स, सुपरडिलक्स र स्ट्याण्डर्ड खालका कोठाहरु रहने छ। साथै स्विमिङपुल, स्पा र हेल्थक्लव समेत हुने छ।यस अघि श्रेष्ठले बाराको सिमरामै २० करोड लगानीमा होटल क्लासिक प्लाजा सञ्चालनमा ल्याइसकेका छन्। उनको सिमरामै क्लासिक म्याट्रेससँगै व्यावसायिक कृषि खेती समेत गरिरहेका छन्।
कर्पोट हाउसलाई टार्गेट
सिमरामा निर्माण हुन लागेको पाँचतारे होटल भारतीय पर्यटकहरु मात्र नभई त्यस क्षेत्रमा सञ्चालित उद्योगहरुलाई समेत लक्षित गरिएको जनाएको छ।
बारा,पर्सा क्षेत्रमा नेपालमा सञ्चालनमा रहेका अधिकाशं ठूला उद्योगहरु पर्छन भने बहुराष्ट्रिय कम्पनीहरु समेत त्यस क्षेत्रमा रहेको छ। हवाई मार्गबाट वीरगञ्ज आउनेहरुको जक्सन पनि सिमरा विमानस्थल नै भएकाले होटलको आर्कषण थप बढ्न सक्ने सञ्चालक श्रेष्ठको दाबी छ। यस्तै उद्योगहरुले आफ्नो कर्पोरेट मिटिङहरु सँगै विभिन्न सेमिनारहरुका लागि समेत होटल उपयुक्त हुने जनाएको छ।
यस्तै पछिल्लो समय होटलमा विवाह गर्ने प्रचलन बढेको कारणले अव बन्न लागेको होटल वेडिङ डेस्टिनेशनका लागि समेत उपयुक्त हुने उनको भनाइ छ। जंगलको बीचमा निर्माण हुने होटलमा शान्त र पारिवारीक वातारण पाइने भएकोले सबैको रोजाइमा पर्ने सञ्चाल श्रेष्ठको दाबी छ। होटलको व्यवस्थापन आफैले गर्ने वा विदेशी ल्याउने भन्ने विषय भने छलफलकै चरणमा रहेको उनले बताए।