काठमाडौँ । नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोट नगरपालिकाको पहाडी गाउँका कृषकले अम्रिसो खेतीबाट आम्दानी गर्न थालेका छन् । गैँडाकोट ३ र १८ का किसानले लगाएको अम्रिसोले भू-क्षयसँगै पहिरो रोकथामका साथै वैकल्पिक आम्दानीको स्रोत बनेको हो ।
गैँडाकोट १८ का वडाध्यक्ष तिलबहादुर चितौरी मगरले भिरालो जमिनमा अम्रिसो खेती गर्ने किसान बढ्दै गएको बताउँदै यसले पहिरो रोकथाममा सहयोग गर्ने विश्वास व्यक्त गरे ।
'सिँचाइ अभाव भएका ठाउँमा अन्य खेती हुँदैन', उनले भने, 'अम्रिसो लगाएपछि खेती पनि हुने बर्खामा परेको पानीले जमिन कटान हुनबाट रोक्ने भएकाले यसतर्फ आकर्षण बढ्दै गएको हो ।'
अम्रिसो खेती गर्न चाहने किसानलाई पालिकाले सहजीकरण गरेर बिरुवा उपलब्ध गराइरहेको वडाध्यक्ष चितौरी मगरले जानकारी दिए । अम्रिसोमा मेहनत बढी नपर्ने र आम्दानी पनि हुने भएकाले पछिल्लो समय किसानको जीविकोपाजर्नमा वैकल्पिक आम्दानीको स्रोत बन्दै गएको उनको भनाइ थियो ।
'अम्रिसोबाट घर सफा गर्ने कुचो बनाएर बिक्री गरिने हुँदा बजारको अभाव छैन', वडाध्यक्ष मगरले भने, 'नवलपुर बजार क्षेत्र, नारायणगढ, बुटवलका व्यापारीको सहयोगमा भारत र बंगलादेशसम्म यहाँको अम्रिसोको कुचो पुग्ने गरेको छ ।'
कृषक लेखबहादुर आलेले अम्रिसो खेतीबाट आएको आम्दानीले जीविकोपार्जनमा सहजता भएको बताए । सिँचाइ अभावले बारीमा खेती कम हुने भन्दै उनले अम्रिसो गाई बाख्रालाई घाँसका रूपमा प्रयोगका साथै कुचो बिक्री गरेर आम्दानी लिन सकिने बताए ।
यहाँका पहाडी क्षेत्रमा अधिकांश किसानले अम्रिसोलाई आम्दानीको वैकल्पिक माध्यम बनाउने गरेका आलेले उल्लेख गरे ।
गैँडाकोट १८ मा धान खेती नहुने भएकाले किसानले धानसँग कुचोसमेत साट्ने आलेको भनाइ छ । 'पहाडी क्षेत्रमा धानखेती कम हुन्छ, भएको खेतमा लगाएको धानले केही महिना मात्रै खान पुग्छ', उनले भने, 'यहाँका कतिपय किसानले सामूहिक रूपमा पनि अम्रिसोखेती गर्दै आएका छन् ।'
गैँडाकोट ३ भुजेल बस्तीका युगबहादुर सारुले वार्षिक ५० हजार बढीको अम्रिसो बिक्री हुँदै आएको बताए । गाउँको भिरालो जमिन अम्रिसो खेतीले भरिएको भन्दै उनले अहिले अम्रिसो फुल्न सुरु भइसकेको बताए ।
गैँडाकोट नगरपालिकाका कृषि शाखा प्रमुख राजुप्रसाद शर्माले नगरपालिकाको पहाडी क्षेत्रमा केही समुदायले कबुलियत वनमा अम्रिसोखेती गरिरहेका बताए ।
अम्रिसो खेती गर्ने किसानलाई पालिकाले आर्थिक अनुदानका साथै प्राविधिक सहयोग गर्दै आएको शर्माले बताए । प्रत्येक वर्ष मनसुन सुरु हुने बेलामा अम्रिसोको बिरुवा लगाउने, मंसिरमा फूल्ने र चैतसम्म काटेर बजार पठाउने गरिएको उनको भनाइ थियो ।