काठमाडाैं। नेपालमा विद्युतीय गाडी (ईभी) को चाहना हरेक दिन बढ्दै गएको छ। सरकारले पनि यसलाई वातावरणमैत्री विकल्पका रूपमा प्रवर्द्धन गर्दै छ। इन्धनको बढ्दो मूल्य र विद्युतको सदुपयोगको अवसर देखेर निजी र सार्वजनिक दुवै क्षेत्रमा ईभीको संख्या उल्लेख्य रूपमा बढेको छ। तर, ईभीको आशलाग्दाे विकासमा भने समस्या छ। ईभी गाडीको मर्मत र पार्टस् उपलब्धता चुनौती बन्दै गएको छ।
जब ईभी गाडीमा कुनै खराबी आएर सर्भिस सेन्टरमा लगिन्छ, तब प्रयोगकर्ताले कठिन वास्तविकताको सामना गर्छन्। आवश्यक पार्टस् नपाइएकाले गाडी महिनौंसम्म ग्यारेजमै थन्किन्छन्। भक्तपुरका सुरज श्रेष्ठ दुई वर्षअघि विद्युतीय कार किनेका थिए, किनभने उनी कम संचालन खर्च र वातावरणीय सुरक्षा सोचका साथ थिए।
तर, दसैंका दिन अप्ठ्याराे यात्रामा गए र बीचमै गाडीमा समस्या आयो। रडार सेन्सर र कुलिङ प्रणालीमा खराबी आएपछि कम्पनीको सर्भिस सेन्टरमा गाडी छाड्न बाध्य भए। कम्पनीले जतिसके छिटो बनाइदिने आश्वासन दिए पनि २५ दिनसम्म गाडी फिर्ता आएन। कारण? पार्टस चीनबाट अर्डर गर्नुपरेको थियो र कहिले आइपुग्छ भन्ने कुनै निश्चित थिएन।
यस्तै समस्या अर्का ईभी प्रयोगकर्ता प्रकाश जोशीले पनि भोगेका छन्। उनी सानो पार्टस् परिवर्तनका लागि सर्भिस सेन्टर गए तर मूल्य अत्यधिक महँगो र पार्टस पाउन लामो समय लाग्ने सुनेर निरास भए। कम्पनीले महिनौं पार्टस् आइरहेको छ भनी टाेलमटोल जवाफ दिइरह्याे। यस्ता अनुभव अब ईभी प्रयोगकर्ताका लागि सामान्य बन्दै गएका छन्।
किन पार्टस् पाउन गाह्रो हुन्छ?
समस्याको मूल कारण नेपालमा ईभी नयाँ र विकासशील क्षेत्र हो। कम्पनीले ईभी बजार निश्चित नभएकाले पार्टस् स्टकमा राखेका छैनन्। ईभी प्रविधि नयाँ भएकाले आफ्टर सेल्स सर्भिसको संरचना अझै व्यवस्थित छैन। धेरै पार्टस, विशेषगरी ब्याट्री, मोटर र कन्ट्रोलरजस्ता मुख्य यन्त्र नेपालमा निर्माण हुँदैनन्। त्यसकारण चीन वा भारतबाट अर्डर गर्नुपर्छ, जसमा समय लाग्ने कम्पनीका प्रतिनिधि बताउँछन् ।
नेपालमा आउने अधिकांश ईभी गाडी चिनियाँ कम्पनीका हुन्छन्। यसले पार्टस् प्राप्तिलाई अझै जटिल बनाएको छ। चीनबाट पार्टस् आयातमा सीमाशुल्क, यातायात समय र दस्तावेजीकरण प्रक्रिया लामो हुन्छ। ईभीको बजार नयाँ भएकाले कम्पनीले पर्याप्त पार्टस् राख्दैनन्। अधिक स्टक राख्दा पुँजी थुप्रिएर बस्छ। कम्पनीकाे यही तरिकाले गर्दा प्रयोगकर्ता अप्ठ्याराे अवस्थामा परेका छन्।
स्पेयर पार्टसकाे महँगो मूल्य
ईभीको अर्को समस्या भनेको पार्टसको महँगाे मूल्य हो। इन्धन गाडीका साधारण पार्टस् अपेक्षाकृत सस्तो र बहुसंख्यक वर्कसपमा पाइन्छन्। तर, ईभीका पार्टस् असाधारण महँगा हुन्छन्। उदाहरणका लागि, एउटा ईभी गाडीको हेडलाइट ८६ हजारदेखि १ लाख रुपैयाँसम्म पर्छ। चार्जिङ पोर्ट ७५ हजार रुपैयाँ आसपास पर्छ। ब्याट्री भने ईभीको सबैभन्दा महँगो पार्ट हो।
महँगो मूल्यका कारण विभिन्न ब्रान्ड र भेन्डरबाट भिन्नभिन्न पार्टस् आयात गरिन्छ। मूल्य निर्धारणमा पनि एकरूपता छैन। कसैले महँगो, कसैले अलिकति सस्तोमा बेच्छन्। नेपालमा आउने अधिकांश चिनियाँ ईभीको पार्टस् उतैबाटै आयात गरिन्छ, जसले मूल्यलाई अझै महँगो बनाएको छ।
दीर्घकालीन समस्या र उपभोक्ताको द्विविधा
ईभी खरिद गर्ने सोच बनाएका उपभोक्ताले द्विविधा भोग्दै छन्। यद्यपि ईभी सञ्चालन खर्च कम हुन्छ र मर्मत खर्च पनि अपेक्षाकृत कम हुन्छ। किनभने, यसमा इन्जिन र गियरबक्सजस्ता जटिल घुम्ने पार्ट हुँदैनन्। तर, यदि कुनै मुख्य इलेक्ट्रिकल घटक बिग्रिए खर्च अत्यधिक बढ्छ। स्पेयर पार्टस् अभाव र महँगो मूल्य भविष्यमा गाडीको खर्चलाई अप्रत्याशित बनाएको छ।
सरकार र कम्पनीको उदासीनता
सरकारले विद्युतीय सवारीलाई प्रवर्द्धन गर्न कर छुट दिएको छ। चार्जिङ स्टेसन विस्तारमा लगानी गरेको छ र प्रदूषण घटाउने नीति बनाएको छ। तर, आफ्टर सेल्स सर्भिसको पाटो अत्यन्त कमजोर छ। सरकारले पार्टस् मर्मत र प्रतिस्थापनको कुनै स्पष्ट नीति बनाएको छैन।
कम्पनीहरू पनि केवल गाडी बेच्नेमा ध्यान केन्द्रित गरेका छन्। सर्भिस सेन्टरको संख्या चार्जिङ स्टेसनको तुलनामा निकै कम छ। ईभीको लोकप्रियता बढ्दै गए पनि गुणस्तरीय सर्भिस केन्द्र अपर्याप्त छ। यसले प्रयोगकर्ताले कहिले सर्भिस सेन्टरमा गाडी राख्नुपरेको हुन्छ कहिले महिनौं कुर्नुपरेकाे हुन्छ।
नेपालले विद्युतीय सवारीतर्फ सकारात्मक कदम चाल्यो। वातावरणमैत्री र इन्धन बचतको सपना देखाएर मानिस ईभी किन्दै छन्। तर, स्पेयर पार्टस् संकटले सपनालाई धमिलाउँदै छ। आवश्यक पार्टस नपाउँदा सवारी महिनौंसम्म ग्यारेजै थन्किएका छन्। यो वास्तविकता ईभी बजारको विकासमा बाधा बन्दै गएको छ। सरकार र कम्पनीले तत्काले स्पेयर पार्टस् व्यवस्थापनमा ध्यान दिनैपर्छ। अन्यथा विद्युतीय सवारीको फाइदाजनक पहल ध्वस्त हुनेछ।