अध्ययन गर्न गठित समितिले लिने र दिने ब्याजदरमा परिमार्जन नगर्न सुझाव दिएपछि कोष व्यवस्थापनले सञ्चालक समिति बैठकमा प्रस्ताव गर्ने भएको छ । सम्भवतः आउँदो बुधबार बस्ने कोषको सञ्चालक समिति बैठकले निर्णय गर्नेछ ।
काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्तालाई दिने र सापटी दिँदा लिने दुवैको ब्याजदर स्थिर राख्ने भएको छ । कोषले गठन गरेको समितिले सञ्चय कोष जम्मा गर्दा दिने र सञ्चयकर्तालाई दिने सापटी दुबैको ब्याजदर चालु आर्थिक वर्षको कायम राख्ने प्रस्ताव गरेको छ ।
हाल कोषले सञ्चयकर्तालाई वार्षिक ८.२५ र सञ्चयकर्तालाई सापटीमा ९.५ प्रतिशत ब्याज लिँदै आएको छ । अध्ययन समितिले पुरानै ब्याजदर प्रस्ताव गरेको कोषका प्रशासक तुलसी गौतमले बताए । यस विषयमा सञ्चालक समितिले निर्णय गर्न बाँकी रहेको उनले सुनाए ।
सञ्चालक समितिले आवश्यक देखेमा सामान्य हेरफेर गर्न पनि सक्छ । ‘आगामी वर्षका लागि लगभग यही नै ब्याजदर हुने सम्भावना छ,’ उनले भने, ‘चालु आर्थिक वर्षमा सञ्चयकर्तालाई ८.२५ प्रतिशत ब्याज दिनुका साथै ३ अर्ब रुपैयाँ नाफा लाभांशका रुपमा वितरण गरेको छ । ४० लाख रुपैयाँभन्दा बढी घरसापटी लिनेको ब्याजदर ०.२५ बाट घटाएर १० प्रतिशत कायम राख्ने प्रस्ताव गरिएको छ ।’
अध्ययन गर्न गठित समितिले लिने र दिने ब्याजदरमा परिमार्जन नगर्न सुझाव दिएपछि कोष व्यवस्थापनले सञ्चालक समिति बैठकमा प्रस्ताव गर्ने भएको छ । सम्भवतः आउँदो बुधबार बस्ने कोषको सञ्चालक समिति बैठकले निर्णय गर्नेछ । आगामी साउन १ गतेदेखि कोषले नयाँ ब्याजदर लागू गर्नुपर्ने हुन्छ । आगामी वर्ष पनि लिने र दिने दुवैको ब्याजदर अन्तर १.२५ हुने भएको छ । कोषले अन्तरलाई १ प्रतिशतमा झार्ने लक्ष्य लिएको छ ।
यो आर्थिक वर्षलाई सञ्चय कोष रकममा ८ प्रतिशत रहेको ब्याजदरलाई ०.२५ प्रतिशत बढाएर ८.२५ प्रतिशत पुर्याएको थियो । सञ्चय कोषले आफ्नो ऋण लगानीमा निर्माण भइरहेका ५ ओटा जलविद्युत् आयोजनाको ब्याजदर घटाउने तयारी थालेको छ । कोषले ४५६ मेगावाटको माथिल्लो तामाकोसी, १११ मेगावाटको रसुवागढी, १०२ मेगावाटको मध्य भोटेकोसी, ४२ मेगावाटको तल्लो सान्जेन र १४ मेगावाटको माथिल्लो सान्जेन जलविद्युत् आयोजनाको ब्याजदर घटाउने तयारी गरेको हो । ५ ओटा आयोजनाको जडित क्षमता ८२६ मेगावाट छ । यी आयोजना निर्माणको अन्तिम चरणमा छन ।
यसअघि १२ प्रतिशत ब्याजदर तय गरेकोमा सञ्चय कोषले १ प्रतिशत घटाएर ११ प्रतिशत कायम गरेको थियो । आगामी आर्थिक वर्षदेखि बढीमा ०.५ प्रतिशतसम्म घटाएर १०.५ प्रतिशतमा झार्ने कोषको तयारी छ । कोषले सबै आयोजनालाई एउटै ब्याजदर निर्धारण गरेको छ । तामाकोसीसँग १२ प्रतिशत ब्याजदरमा ऋण सम्झौता गरे पनि कोष आफैंले घटाउँदै आएको छ । ब्याजदर कम भएमा आयोजनाको लागत कम हुने छ ।
आयोजनामा सञ्चय कोषका अतिरिक्त नागरिक लगानी कोष, नेपाल टेलिकम र राष्ट्रिय बीमा संस्थानको समेत लगानी छ । माथिल्लो तामाकोसीको ब्याजदर मात्र २० अर्ब रुपैयाँ पुगिसकेको छ ।