काठमाडौं। काठमाडौं महानगरपालिकाले आगलागी हुँदा दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा ‘ड्राइ राइजर’जडान गर्न सुरू गरेको छ। महानगरको विपद् व्यवस्थापन विभागले यस कार्यलाई तीव्ररूपमा अगाडि बढाएको छ भने केन्द्रीय योजनामा नभएका ठाउँमा वडाहरूले पनि वडाकै बजेटबाट यो प्रणाली जडान गरिरहेको छ।
कामपाको ६, ७, ९, १३, १७, १८, २१, २५ र २७ मा ‘ड्राइ राइजर’ जडान भइसकेको छ भने अन्य वडाहरूमा पनि आवश्यकताअनुसार उक्त प्रविधि जडानको काम भइरहेको नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले जानकारी दिए। उनका अनुसार कामपाका कतिपय भित्री गल्ली दमकल र एम्बुलेन्स छिर्न नसक्ने किसिमका छन्। साँघुरा गल्लीमा आगलागी वा अन्य विपत्जन्य घटना हुँदा नियन्त्रण कठिन हुने हुँदा उक्त प्रविधि जडान गरिएको हो।
जोशीले भने, ‘यसले अग्नि नियन्त्रणमा ठूलो सहयोग गर्ने विश्वास छ।’ उनका अनुसार ड्राइ राइजर पाइप खनेर भित्री गल्लीहरूमा पुर्याइएको छ भने ठाउँठाउँमा दमकलको पानी पठाउने पाइप जडानको लागि ‘आउटलेट’ राखिएको छ। करिब ३० मिटरको अन्तरमा आउटलेटहरू राखिएका छन्।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा हुने आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको सुक्खा पाइप लाइन ड्राइ राइजर हो। यदि पाइपमा नियमित पानी बगिरहन्छ भने यसलाई ‘वेट राइजर’ भनिन्छ।
ड्राइ राइजरको दुवैतर्फ दमकल पुग्ने ठाउँमा ‘इनलेट भल्व’ राखिएको हुन्छ। यसपछिका ४५ मिटरदेखि ७५ मिटरसम्मको दूरीमा आउटलेट राखिएका हुन्छन्। दमकलको पानी ‘इनलेट’मा राखेपछि आवश्यकताका आधारमा ‘पाइपलाइन’ का बीचमा जुनसुकै ‘आउटलेट’ खोले पनि पानी प्राप्त हुन्छ। यसले आगो नियन्त्रण गर्न गरिन्छ।
दमकलबाट आठ बारको प्रेसरमा पानी पठाउँदा सात तले अग्लो भवनमा आगो निभाउन सकिने प्रेसरमा पानी पुग्छ।
ड्राइ राइजरले कसरी काम गर्छ ?
भित्री गल्लीमा पाइपबाट दमकलको पानी पठाउने पारेको संरचनालाई ‘ड्राइ राइजर’ भनिन्छ। सामान्य भाषामा ‘पाइपलाइन’ भनेर बुझ्दा हुन्छ। तर दकमलको पानी निकै फोर्सले आउने भएकाले यो पाइप अन्य पाइपभन्दा बाक्लो हुन्छ आउटलेटहरू पनि बलिया हुन्छन्।
यसरी तयारी अवस्थामा राखिएको पाइपमा दमकलको पाइपको मुख (होज) जोडिन्छ । त्यसपछि मात्रै ‘फायर फाइटिङ’ गरिन्छ । यस प्रकारको पाइपलाइन जडान गर्दा धेरै खर्चिलो नहुने भएकाले सहरी क्षेत्रमा प्रभावकारी हुन्छ।