काठमाडौं । बीमा समितिले सञ्चालनमा रहेका सबै बीमा कम्पनीहरुलाई स्थलगतविनै नियमन गर्ने भएको छ । समितिले आफू मातहत रहेका बीमा कम्पनीहरुको कार्यालयबाटै नियमन गर्ने गरी कार्यविधी तयार गरी पारित गरिसकेको छ । समितिले ‘जोखिममा आधारित गैरस्थल सुपरिवेक्षण कार्यविधि २०७६’ पारित गरेको हो ।
समितिले बीमा कम्पनीहरुलाई जोखिमको विश्लेषण गरेर कार्यालयबाटै नियमन गर्न लागेको समितिका सूचना अधिकारी निर्मल अधिकारीले बताए । ‘बीमा कम्पनीहरुको जोखिम पत्ता लगाउने र त्यसको आधारमा सुपरिवेक्षण गर्ने हो ।’ सूचना अधिकारी अधिकारीले भने । यो सुपरिवेक्षण स्थलगत र गैरस्थलगत दुवै हुने समितिले जनाएको छ ।
यस कार्यविधी अनुसार कम्पनीहरूको नीतिगत तथा सञ्चालनको सम्बन्धमा तथ्याँक संकलन गरी सुक्ष्म निगरानी गरिनेछ । समितिले यसरी निगरानीको गर्दा आवश्यक परेमा बीमा कम्पनीहरुलाई निर्देशन दिने बाटो खुल्ला गर्न सक्नेछ ।
यसका लागि बीमा समिति आन्तरिक निर्देशिका बनाई लागु समेत गरेको छ । समितिले बीमा कम्पनीले लगानी गर्ने ऋण, तरलता, दावी भुक्तानी आदि क्षेत्रमा हुने जोखिमको विश्लेषण गरी सोही आधारमा जोखिमको थ्रेसहोल्डभन्दा माथि हुने बित्तिकै सुधारको लागि निर्देशन दिन सक्नेछ ।
बीमा कम्पनीहरुले कानूनहरु पालन गरे नगरेको तथा नीति निर्देशनहरु परिपालना गरे नगरेको सुपरिवेक्षण गर्ने उनले बताए । तथ्याँङकमा आधारित जोखिम विश्लेषण गरी त्यसैको आधारमा बीमा कम्पनीहरुलाई नियमन गर्दा प्रभावकारी हुने अधिकारीको भनाई छ ।
सोही कार्यविधिको अधिनमा रहेर बीमा कम्पनीहरु अब कार्यालयबाटै नियमन हुनेछन् । कार्यलयबाटै हरेक बीमा कम्पनीहरुले पठाउने तथ्याङकहरुको सुक्ष्म रुपमा विश्लेषण गरिनेछ । त्यसका साथै जोखिमको अवस्थाको नियमित अनुगमन समेत हुने छ ।