नेपालको हस्पिटालिटी क्षेत्रमा विशाल लगानी भए पनि उत्पादन क्षमताको तुलनामा पर्यटक आगमन कम हुँदा उपयोग कम भइरहेको छ। नेपालमा हालसम्म कुल १८ खर्ब बढी लगानीमा एक लाख ४२ हजारभन्दा बढी होटेल, रेस्टुरेन्ट, गेस्ट हाउसहरु सञ्चालनमा छन्।
जसमा लाइसेन्स प्राप्त तारे होटलको संख्या ३२ वटा भए पनि सञ्चालनमा करिब २५-२६ वटा (अन्नपूर्ण, लाजिम्पाटको शङ्ग्रिला, पोखराको फूलबारी, हिल्टन जस्ता केही बन्द वा सञ्चालनमा नरहेकाले) छन्। आगामी दिनमा थपिने तारे होटल अहिले सञ्चालनमा रहेका जत्तिकै संख्यामा (करिब २५ देखि ३० वटा) नयाँ तारे होटलहरू विभिन्न चरणमा (निर्माण वा फिनिसिङ) थपिँदै छन्।
होटल क्षेत्रलाई बैंक तथा वित्तीय संस्थाहरुले करिब साढे ३ खर्ब रुपैयाँ कर्जा दिएका छन्। पछिल्लो आर्थिक सर्वेक्षणअनुसार नेपालमा एक हजार ४१६ होटलका ५४ हजार ३७० शैय्याहरु छन्।
होटेलको कुल क्षमता ३५ देखि ४० लाख ग्राहकलाई सेवा दिन सक्ने क्षमता भए पनि क्षमताको करिब ३३ प्रतिशत होटलमात्रै अकुपेन्सी खपत भएको छ। सन् २०२६ मा १२ लाख पर्यटन भित्रिने अनुमन गरिए पनि हालसम्म ११ लाख ४७ हजारको हाराहारी मात्रै पर्यटक आगमन भएको हुँदा कम मात्रामा पर्यटक भित्रिने होटल एसोशिएसन नेपाल (हान) का अध्यक्ष विनयक शाक्य बताउँछन्।
क्षमताको खपत (उपयोग) कुल क्षमताको एक तिहाई मात्र उपयोग भइरहेको हुँदा तत्काल नयाँ होटलको आवश्यकता नेपालम नभएको शाक्यको भनाइ छ।
‘तत्कालको अवस्था हेर्दा हामीसँग होटल ओभर क्यापसिटीमा छन्। क्षमताको एक तिहाई मात्र उपयोग भइरहेको छ। तर, लगानीकर्ताहरू (खासगरी अन्तर्राष्ट्रिय चेनहरू)ले आजको होइन। आगामी १५-२० वर्षपछिको भारत र चीनको ठूलो बजारको सम्भावना देखेर लगानी गरिरहेका छन्,’ हान अध्यक्ष भन्छन्, ‘दीर्घकालीन भविष्यको लागि लगानी आवश्यक छ। तर, अहिलेको चुनौती भनेको पूर्वाधार सुधारेर पर्यटक आगमनलाई दोब्बर पार्नु हो।’
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हस्पिटालिटी क्षेत्रमा ३ खर्ब बराबरको कर्जा प्रवाह भएको देखिन्छ।
उनका अनुसार नेपालमा जेनजी आन्दोलनपछि सुरक्षामाथि प्रश्न उठ्नु, ८-१० देशले ट्राभल एडभाइजरी जारी गर्नु, कैदीबन्दी फरार हुनु र प्रहरीको हतियार लुटिएको खबरले अन्तर्राष्ट्रिय पर्यटक (खासगरी खर्चालु)को आत्मविश्वास कमजोर बनाएको छ। जसले गर्दा अन्तर्राष्ट्रिय चेन होटलहरु नेपाल आउने योजना ‘क्यान्सिल’ वा ‘होल्ड’ गर्ने अवस्थामा छन्।
विशाल लगानी, न्यून उपयोगले कर्जा नवीकरणमा समस्या
नेपालको हस्पिटालिटी क्षेत्र विशाल लगानी र उत्पादन क्षमताका बाबजुद वर्तमानमा अधिशेष क्षमता (ओभर सप्लाइ)को समस्याले ग्रस्त छ। जसले यसको आर्थिक सम्भावना पूर्ण रूपमा उपयोग हुन सकेको छैन।
हालको बजार मूल्यको आधारमा होटेल क्षेत्रमा करिब १८ खब रुपैयाँको हाराहारीमा लगानी भएको अनुमान छ (यो राष्ट्रिय बजेटकै हाराहारीको आँकडा हो)। तर, नेपाली हस्पिटालिटी क्षमताको एक तिहाई मात्र उपयोग भइरहेको देखिन्छ।
-1765629912.jpg)
नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार हस्पिटालिटी क्षेत्रमा ३ खर्ब बराबरको कर्जा प्रवाह भएको देखिन्छ। तर, हालको अस्थिरता र न्यून उपयोगका कारण कर्जा नवीकरणमा समस्या आउन थालेको संघका अध्यक्ष शाक्य बताउँछन्।
‘होटल रुमहरूको अत्यधिक आपूर्ति र क्षमताको एक तिहाई मात्र उपयोग रहेकाले, व्यवसायीहरू दैनिक रूपमा घाटामा सञ्चालित छन्। यस्तो अवस्थामा बढ्दो ब्याजदर र समयसीमाभित्र साँवा–ब्याज तिर्न सक्ने क्षमता नै छैन। जसले गर्दा बैंकहरूको ऋण ताकेता र लिलामीको दबाब उद्योगका लागि सबैभन्दा जटिल समस्या बनेको छ,’ उनले भने।’
उनका अनुसर कोभिड महामारीको मारबाट पूर्ण रूपमा सञ्चालन नहुँदै पुनः शिथिलता आएपछि, होटेल उद्योगलाई पुनर्जीवन दिन ऋणको साँवा ब्याज भुक्तानीको भाका व्यवहारिक ढंगमा बढाउनु (पुनर्तालिकीकरण) नितान्त आवश्यक छ। सरकारले राष्ट्रिय महत्वको उद्योग घोषणा गरे पनि राष्ट्र बैंकले यसलाई विशेष उद्योगसरह बेस रेटमा १ प्रतिशतभन्दा नबढ्ने गरी ब्याजदर कायम गर्न र सहज पुनर्कर्जा सुविधा दिनुपर्छ।
नेपाली होटेल क्षेत्रमा राष्ट्रिय बजेटकै हाराहारीमा विशाल लगानी भइसकेको छ। यो लगानी भविष्यको ठूलो बजार (भारत र चीन)लाई लक्षित छ। तर, पूर्वाधार (विमानस्थल र राजमार्ग)को अभाव, सुरक्षा चिन्ता र कर्जा सहुलियत नहुँदा वर्तमानमा घाटाको चक्रब्युह सिर्जना भएको छ।
भारत र चीनको बीचमा रहेको नेपालले ती दुई देशका २८ करोड होलिडे मेकर्समध्ये ३ प्रतिशतमात्र आकर्षित गर्न सके पनि ५० लाख पर्यटक भित्र्याउन सक्छ।
यदि, समयमै नीतिगत सम्बोधन भएन भने भैरहवाका होटलहरूजस्तै अन्य होटलहरू पनि बैंकको ऋण तिर्न नसकेर क्रमिक रूपमा धरासायी हुने बाध्यता आउने छ।
सुरक्षा र ट्राभल एडभाइजरी
जेनजी आन्दोलनपछि सुरक्षामाथि प्रश्न उठ्नु, ८-१० देशले ट्राभल एडभाइजरी जारी गर्नु, कैदीबन्दी फरार हुनु र प्रहरीको हतियार लुटिएको खबरले अन्तर्राष्ट्रिय पर्यटक (खासगरी खर्चालु)को आत्मविश्वास कमजोर बनाएको छ। थमस कुक जस्ता ठूला समूहहरू नेपाल आउने योजना ‘क्यान्सिल’ वा ‘होल्ड’ गर्ने अवस्थामा छन्।
होटल क्षेत्रका अन्य चुनौती
पूर्वाधारको दुर्दशाः भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल चल्न नसक्नु तथा प्रमुख पर्यटकीय गन्तव्य (पोखरा, चितवन, लुम्बिनी) जोड्ने राजमार्गहरूको अस्तव्यस्तता ले गर्दा भारतबाट बाइरोड आउने पर्यटकको सुरक्षा जोखिम बढेको छ।
नीतिगत अस्पष्टताः सरकारसँग भारत र चीन (जहाँ १८ करोड चिनियाँ र १० करोड भारतीय बाहिर घुम्न निस्कन्छन्) बाट पर्यटक आकर्षित गर्न प्रष्ट राष्ट्रिय कार्यनीति र कार्ययोजना को अभाव छ। पर्यटन दशक जस्ता घोषणाहरूले कार्यान्वयन नभई फेरिन्छन्।
भविष्यको सम्भावना र लगानीको दृष्टिकोण
भारत र चीनको बीचमा रहेको नेपालले ती दुई देशका २८ करोड होलिडे मेकर्समध्ये ३ प्रतिशतमात्र आकर्षित गर्न सके पनि ५० लाख पर्यटक भित्र्याउन सक्छ। पर्यटन क्षेत्रमा पर्यटक आउने बित्तिकै (विमानस्थल वा नाकाबाट) खर्च सुरु हुने भएकाले यसले अर्थतन्त्रलाई तुरुन्तै आर्थिक उपार्जनमा सहयोग गर्छ।
अन्तर्राष्ट्रिय चेन होटेलहरू (मोक्सी जस्ता ३ दर्जन ब्राण्डहरू) नेपालमा प्रवेश गरिरहनुले उनीहरूले १० देखि १५ वर्षपछिको पर्यटन वृद्धिको सम्भावना देखेको बुझिन्छ।
उनीहरू अल्पकालीन समस्यालाई अस्थायी मान्छन्। ५० वर्ष पुराना होटेलहरू (जस्तैः शेर्पा, ब्लू स्टार, नारायणी जुन पहिले बन्द भएका थिए)ले बजार गुमाउने र नयाँ अन्तर्राष्ट्रिय पहुँच भएका होटेलहरू चल्ने अवस्था अहिले पनि दोहोरिएको छ।