नाम्गेल शेर्पा मुस्ताङको कठोर भू-भाग र चिसोलाई काठमाडौंको आफ्नो बेसक्यापमा बसेर सम्झँदै हाँस्छन्। अरूले ‘असम्भव’ देखेको ठाउँमा आफूले विश्वस्तरको सम्भावना देखेको सम्झिँदा उनको स्वरमा सन्तुष्टि र जिम्मेवारी दुवै मिसिएको सुनिन्छ। शिन्ता मणि मुस्ताङ सञ्चालनमा ल्याउने निर्णय केवल एउटा रिसोर्ट खोल्नु मात्र थिएन, नेपालको पर्यटन कथामा नयाँ अध्याय सुरु गर्ने साहसिक मोड थियो।
बसुन्धराको बेसक्याम्पभित्र शेर्पा हस्पिटालिटी गु्रपको भव्य अफिस छ। यहीबाट ग्रुपका सीईओ नाम्गेलले हिमालतिर फैलिइरहेको माउन्टेन लजेज अफ नेपाल होस् या चितवनतिरको कसरा रिसोर्ट। त्यसको अपरेसन र व्यवस्थापन हेर्छन्। लुम्बिनीको होक्के होटल र मुस्ताङको शिन्ता मणिको ‘इगलआई’मार्फत फराकिलो व्यवस्थापनले उनमा अहिले नै बिग होटेलियरको झनक झल्किइसकेको छ।
माउन्टेन लज अफ नेपालअन्तर्गत सगरमाथा, मनाङ, कास्कीमा १४ वटा लज सञ्चालनमा आइसकेको छ। पर्यटन क्षेत्रमा पारिवारिक विरासत रहेर सुरु भएका कैयन् व्यवसाय छन्। बुबा ल्हाक्पा सोनाम शेर्पाको दरिलो साथले उनलाई पर्यटन व्यवसायमा नयाँ शैली र फराकिलो लगानी गर्न प्रेरित गरेको छ। ल्हाक्पा आफैंमा पर्यटन क्षेत्रमा सम्मानित नाम हो।
आमा कीर्तिमानी पर्वतारोही स्वर्गीय पासाङ ल्हामु शेर्पाको पर्यटन क्षेत्रप्रतिको समर्पण उनका लागि सदा प्रेरणादायी हुने नै भयो। सगरमाथामा पाइला राख्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पालाई विश्वले वीरता प्रदर्शनीका रूपमा सदा चिन्दछ।
हिमालसँग गहिरो सम्बन्ध भएको शेर्पा परिवार सबै पर्यटनमा समर्पित छ। यही वातावरणमा हुर्केका नाम्गेलले नेपाली आतिथ्य क्षेत्रमा नयाँ आयाम दिन आफूलाई उभ्याइरहेका छन्।
हिमालसँग गहिरो सम्बन्ध भएको शेर्पा परिवार सबै पर्यटनमा समर्पित छ। यही वातावरणमा हुर्केका नाम्गेलले नेपाली आतिथ्य क्षेत्रमा नयाँ आयाम दिन आफूलाई उभ्याइरहेका छन्। हिमाली सुन्दरता मात्र होइन, आधुनिक लक्जरी जोडेर विश्वका पर्यटकलाई नेपाल ल्याउने उनको अथक मिहिनेत र प्रयास जारी छ। त्यही प्रयासको प्रतिफल हो, मुस्ताङको शिन्ता मणि।
पर्यटन क्षेत्रमा ल्हाक्पा आफैंमा सम्मानित नाम हो।
कोभिड १९ को अनिश्चितता, बन्द उडान, थला परेको वैश्विक पर्यटन। त्यहीबीच शिन्ता मणि मुस्ताङको परिकल्पना जन्मियो। कन्डे नास्ट ट्राभलर, ट्राभल लेजुअरजस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय पत्रिकासहित न्यूयोर्क टाइम्सले २०२४ मा छनोट गरेको ५२ गन्तव्यभित्र शिन्ता मणि मुस्ताङ विश्वका शीर्ष लक्जरी गन्तव्यको सूचीमा परेको थियो। नाम्गेलको सपना केवल व्यक्तिगत वा पारिवारिक व्यावसायिक सफलतामा सीमित रहेन, नेपालकै पर्यटन छवि नयाँ स्तरमा पुर्याउने टर्निङ पोइन्ट बन्न पुग्यो।
नाम्गेल भन्छन्, ‘हामीले शिन्ता मणिको सम्झौता गर्दा एउटा मात्रै सोच्यौं कोभिड सकिएपछि विश्वले नयाँ, शान्त, मौलिक र उच्चस्तरीय गन्तव्य खोज्नेछ। त्यतिबेला ‘मुस्ताङ’ नाम विश्वका ठूला टेबलमा आउनुपर्छ। अहिले त्यो कुरा केही हदसम्म यथार्थजस्तो देखिँदा, पहिलेको डर जिम्मेवारीमा बदलिएको महसुस हुन्छ।’
अहिले मुस्ताङ केवल हिमालपारिको शान्त गाउँ होइन, नेपालको प्रिमियम पर्यटन सम्भावनालाई एकैचोटि विश्वमाझ देखाउने शक्तिशाली गन्तव्य बनेर उदिएको छ। कोभिड-१९ पछि सुरक्षित, मौलिक र उच्चस्तरको अनुभव खोजिरहेका पर्यटकका लागि शिन्ता मणि केवल होटल रहेन, मुस्ताङलाई ‘बाँच्ने’ र ‘महसुस गर्ने’ गन्तव्यमा बदल्ने निर्णायक मोड बन्यो।
नाम्गेल भन्छन्, ‘पहिले मुस्ताङ भन्नासाथ धेरैलाई धुलाम्य बाटो, जीपको झट्का र मुक्तिनाथ पुगेर फर्किने यात्रा मात्रै सम्झिन्थ्यो। अहिले मुस्ताङ भन्नासाथ ‘कथासँग जोडिएको अनुभव’ सम्झिनेहरू बढेका छन्। हामीलाई मन पर्नेको कुरा त्यही हो।’
भुटान जाने धेरै पर्यटक अहिले शिन्ता मणि सञ्चालनमा आएपछि मुस्ताङतर्फ मोडिन थालेका छन्।
कोभिडका कारण विश्व घरभित्र थुनिएका बेला शिन्ता मणिको टोली भने मुस्ताङको अनकन्टार बस्तीमा विश्वकै उत्कृष्ठ गन्तव्य बनाउने योजनामा दिनरात खटिरहेको थियो। नाम्गेल भन्छन्, ‘सबै जना घरभित्र थुनिएका थिए। हामी भने मुस्ताङको चिसो हावासँग सल्लाह गर्दै थियौं। थाहा थियो-कोभिडपछि भीडबाट थकित मानिसलाई शान्त, प्रामाणिक र उच्चस्तरीय ठाउँ चाहिन्छ। त्यो गुण मुस्ताङमा थियो। त्यसलाई सही ढाँचामा प्रस्तुत गर्न मात्रै बाँकी थियो।’
विश्वभर महँगा प्रोपर्टीहरू खुलिरहेका हुन्छन्, तर समय सही नसमाते सुरुमै उठ्न नसकिने नाम्गेलको बुझाइ छ। कोभिडकै कठिन समय मुस्ताङमा उच्चस्तरीय रिसोर्ट बनाउने जोखिम लिँदा धेरैले ‘अहिले यति ठूलो लगानी?’ भनेर प्रश्न गरे। तर, आज मुस्ताङलाई लक्जरी नक्सामा राख्ने त्यो निर्णय सानोतिनो नभएको प्रमाणित भइसकेको छ।
भुटान जाँदा उच्च आय भएका पर्यटकले खोज्ने शान्त वातावरण, मौलिक संस्कृति र उच्चस्तरको सेवासँग मुस्ताङको चरित्र नजिक देखिन्छ। तर, मुस्ताङलाई त्यही स्तरमा पुर्याउने आधारभूत संरचना थिएन। शिन्ता मणिले यही खाली ठाउँ भरेको छ।
भुटान जाने धेरै पर्यटक अहिले शिन्ता मणि सञ्चालनमा आएपछि मुस्ताङतर्फ मोडिन थालेका छन्। धेरै विदेशीले पहिले आफ्नै निजी जहाज लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राख्ने, त्यसपछि भुटान जाने गरेका थिए। अहिले तीमध्ये निकै जना नेपालमै केही दिन बस्ने, मुस्ताङ पुग्ने, फेरि अन्य हिमाली क्षेत्र घुम्ने योजनासहित आउन थालेका छन्।
नाम्गेल भन्छन्, ‘यसको मतलब नेपाल आउन चाहेका तर लक्जरी प्रोपर्टी नभएकै कारण नआउनेहरूमध्ये केहीलाई हामीले तान्न सफल भयौं। सुरुमा हामी आफैंलाई पनि डर थियो- जुन मोडल हामीले ल्यायौं, ‘काम गर्छ कि गर्दैन?’ भनेर।’
मुस्ताङ अब केवल ‘पहुँच गाह्रो’ ठाउँ होइन, अनुभूतिको मूल्य राख्ने गन्तव्य बनेको छ। शिन्ता मणिले त्यही ‘अनुभूतिको मूल्य’ बेचिरहेको छ-कोठा होइन, कथासहितको पाँच दिनको यात्रा।
शिन्ता मणि उभिएको जग्गाको कथा पनि छोटो छैन। सुरुमा यहाँ जोमसोम माउन्टेन रिसोर्ट बनाउने ठूलो योजना थियो। त्यसबेला कस्मिक एयरका सञ्चालकहरूले अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)बाट लगानी जुटाएर सय कोठे पाँचतारे होटल बनाउने तयारी गरेका थिए।
परियोजना ठप्प हुँदा आईएफसीले लगानी जोगाउन होटल बेच्ने तयारी गर्यो। त्यही बेला यो जानकारी शेर्पा परिवारले पाए।
‘त्यो बेला सडक राम्रोसँग जोमसोमसम्म पुगेको पनि थिएन’, नाम्गेल सम्झिन्छन्, ‘तर, सपना भने विशाल थियो– पाँचतारे होटलको। सपना, साधन र यथार्थबीच दूरी निकै ठूलो थियो। अन्ततः परियोजना नै अगाडि नबढ्ने अवस्थामा पुग्यो।’
परियोजना ठप्प हुँदा आईएफसीले लगानी जोगाउन होटल बेच्ने तयारी गर्यो। त्यही बेला यो जानकारी शेर्पा परिवारले पाए। उनीहरूलाई लाग्यो-मुस्ताङ जस्तो ठाउँमा भविष्यका लागि केही गहिरो काम गर्नुपर्ने हो भने यस्तै कठिन परियोजनाबाट सुरु गर्नुपर्छ।
-1765882326.jpg)
शेर्पा परिवारले होटल खरिद गरेर जोमसोम माउन्टेन रिसोर्टको नाममा सञ्चालन सुरु गर्यो। केही वर्ष नबित्दै भूकम्प आयो। भवन धेरै भत्किएको थिएन। प्राविधिकले चालू राख्न सकिन्छ भनेका थिए। तर, अन्तर्राष्ट्रिय बजारमा सुरक्षाको छवि बिग्रिन सक्छ भन्ने डर बढ्दै गयो। केही ट्राभल एजेन्सीले जसरी पनि नयाँ संरचना चाहिन्छ भनेर सुझाव दिए।
नाम्गेल भन्छन्, ‘प्राविधिकको रिपोर्ट हेर्दा जोगाएर चलाउने पनि विकल्प थियो, तर इमेज र दीर्घकालीन योजना हेर्दा भत्काएर नयाँ बनाउनु नै सही लाग्यो।’
त्यसपछि शेर्पा परिवारले सबै संरचना भत्काएर नयाँ रिसोर्ट बनाउने निर्णय गर्यो। सानो, तर आत्मासहितको रिसोर्टको योजना बनाइयो। यसरी जन्मियो-मोक्ष। २०१८ मा २९ कोठाको मोक्ष तयार भयो। सुरु भएको एक वर्ष नबित्दै विश्व कोभिड-१९ को चपेटामा पर्यो।
मोक्ष चलिरह्यो, पाहुनाहरू आए। तर, होटल चलाएसँगै केही गहिरा प्रश्न उठ्न थाले। नाम्गेल भन्छन्, ‘करिब ७० प्रतिशत कोठा भरिन्थे, तर हामी आफैंलाई लाग्थ्यो- ‘के हामीले लगानी गरेको, सोचेको स्तरको लक्जरी दिन सकेका छौँ त?’ त्यति ‘फिल’ नआएको हो कि जस्तो लाग्थ्यो।’
समस्या केवल कोठा, भवन वा भौतिक संरचनाको मात्र थिएन। त्यहाँ बस्ने पाहुनाको सम्पूर्ण यात्रालाई कसरी बाँध्ने भन्ने ढाँचा अभाव थियो। मुस्ताङ पुगेका पर्यटक आफैंले कहाँ घुम्ने, कहाँ जाने, के खाने, कसरी अनुभव गर्ने-सब कुरा आफैं मिलाउनुपर्ने स्थिति थियो।
शेर्पा हस्पिटालिटीको भुटानमा सञ्चालित अमान रिसोर्टसँग करिब सात वर्षदेखि सहकार्यबारे छलफल चलिरहेको थियो।
लक्जरी भनेपछि सहजता चाहिन्छ। नाम्गेल भन्छन्, ‘कोठा राम्रो भयो, खाना राम्रो भयो, तर पाहुनाले आफ्नो कार्यक्रम आफैं व्यवस्थापन गर्नुपर्यो भने त्यो पूर्ण अनुभव हुँदैन। त्यही कारणले मोडल नै परिवर्तन गर्नुपर्छ भन्ने निष्कर्षमा पुग्यौं।’
यही बेला उनी विश्वकै उत्कृष्ट लक्जरी रिसोर्टहरूको अध्ययनमा गहिरिँदै गए। भुटान, थाइल्यान्ड, इन्डोनेसियाजस्ता देशमा साना कोठा तर गहिरो अनुभव बेच्ने मोडल कसरी चलिरहेको छ, त्यो हेर्न थाले।
शेर्पा हस्पिटालिटीको भुटानमा सञ्चालित अमान रिसोर्टसँग करिब सात वर्षदेखि सहकार्यबारे छलफल चलिरहेको थियो। अमानले भुटानमा करिब २० वर्षअघि गएर सानो कोठा, लामो अनुभव र कथामुखी लक्जरी मोडलमार्फत त्यहाँको पर्यटनको रूप नै बदलिदिएको थियो।
अमानसँग कुरा लामो समय चल्यो। नाम्गेल सम्झिन्छन्, ‘तर उनीहरूको स्वामित्व परिवर्तन भयो, फोकस रिसोर्टभन्दा जमिनतर्फ मोडियो। नेपालतर्फको योजना टुंगोमा पुग्न सकेन।’ त्यसपछि उनीहरूभित्र अर्काे महसुस आयो- ‘अमान आएन भने सपना किन थन्काउनु?’
यो मोडपछि नाम्गेलले ‘विश्वस्तरीय साझेदार’ खोज्न थाले। अमानका एसिया प्रमुख जनसँग निरन्तर सम्पर्क थियो। त्यही क्रममा जनले नाम्गेललाई एउटा प्रस्ताव गरे- ‘अमानजस्तै स्तरको अर्काे समूह छ- शिन्ता मणि। चाहने हो भने म भेट गराइदिन्छु।’
त्यसअघि नै नाम्गेलले शिन्ता मणिका बारेमा केही विवरण सुनेका थिए। थाइल्यान्डलगायतका ठाउँमा सानो, तर गहिरो अनुभवका लागि चिनिएको ब्रान्ड। ‘शिन्ता मणिबारे पहिल्यै थाहा पाइसकेको थिएँ,’ नाम्गेल भन्छन्, ‘थोरै कोठा, गहिरो अनुभव, स्थानसँग जोडिएको कथा- यो मोडल मुस्ताङको चरित्रसँग निकै मिल्थ्यो।’
जनले नाम्गेललाई जेसन फ्रिडम्यानसँग जोडिदिए। जेसन विश्व स्तरका लक्जरी रिसोर्ट डिजाइन र सञ्चालनमा सल्लाह दिने व्यक्तिमध्ये एक।
शिन्ता मणिका कोठाहरू विश्वप्रसिद्ध वास्तुशिल्पी बिल बेन्सलीले डिजाइन गरेका छन्।
‘कोभिडको बन्दाबन्दीमा हामी जुममार्फत मुस्ताङको हावा, उज्यालो, भू-दृश्य कस्तो देखिन्छ भनेर कल्पना गरिरहेका थियौं’, नाम्गेल मुस्कुराउँदै भन्छन्, ‘जेसनले शिन्ता मणिको मोडल बुझाए। हामीले मुस्ताङको सम्भावना राख्यौं।’
जेसनले नै भने, ‘तिमीहरूलाई गहिरो लक्जरी चाहिएको हो भने शिन्ता मणिसँग हातेमालो गर, यो ब्रान्डसँग मैले काम गरेको छु।’
शिन्ता मणिका कोठाहरू विश्वप्रसिद्ध वास्तुशिल्पी बिल बेन्सलीले डिजाइन गरेका छन्।
‘दायाँतिर निलगिरि, बायाँतिर तिब्बती भू-दृश्य, तल मरुभूमिजस्तो भेग, माथि हिमाल-यो सबैलाई कोठाको डिजाइनसँग जोड्ने काम बिल बेन्सलीले गरे’, नाम्गेल भन्छन्, ‘लक्जरी भनेको भुइँमा राखिएको मर्मर मात्र होइन, वरिपरिको प्रकृतिलाई अनुभवको हिस्सा बनाउने कला पनि हो।’
शिन्ता मणिले दिनको करिब २ हजार अमेरिकी डलरमा कोठा बेचिरहेको मोडल चलाउँदै आएको थियो। सानो कोठा, तर धेरै कथासहितको पूर्ण प्याकेज।
‘शिन्ता मणिले चलाएको मोडल हाम्रो मुस्ताङको कल्पनासँग ठ्याक्कै मिल्यो’, नाम्गेल भन्छन्, ‘हामीलाई थाहा थियो-यदि त्यही स्तरको ब्रान्ड मुस्ताङमा ल्याउन सक्यौं भने त्यो केवल होटल चलाउने कुरा हुँदैन, मुस्ताङको नाम विश्वस्तरमा पु¥याउने विषय हुन्छ।’
जेसन पहिले नै नेपालमा ट्रेकिङ गरेर गइसकेका थिए। नेपालप्रति उनमा विशेष लगाव पनि थियो। अहिले उनले द्वारिकाज होटललाई पनि सल्लाह दिइरहेका छन्।
शिन्ता मणि आएपछि मुस्ताङ अब केवल ‘सुत्न जाने’ ठाउँ रहेन, आत्मसहित अनुभव गर्ने गन्तव्य बन्यो। पहिले तातोपानी पार गरेर मुक्तिनाथ पुग्नु नै यात्रा पूरा भएको मानिन्थ्यो। अहिले हरेक गाउँ, हरेक मोड, हरेक बस्ती आफैंमा नयाँ सिरानको थलो बनेका छन्।
शिन्ता मणिले पर्यटकलाई यिनै हराएका कथासँग भेट गराइदियो-कहिले गाउँको पुरानो लोककथा, कहिले हिमालसँग स्थानीयको भावनात्मक नाता, कहिले लुब्राको मौलिक धार्मिक परम्परा। यसले पर्यटकलाई केवल हेर्ने होइन, ठाउँसँगै बस्ने, सुन्ने र महसुस गर्ने अवसर दियो।
नाम्गेल भन्छन्, ‘मुस्ताङ घुम्दै जाँदा ‘ओहो, यहाँ यस्तो गाउँ पनि रहेछ’ भनेर अचम्म मान्ने पर्यटक धेरै पायौं। त्यसमध्ये एउटा उदाहरण हो-लुब्रा।’
लुब्रा केवल एउटा गाउँ होइन-बौद्ध धर्म भित्रिनुअघि नै प्रचलित बोन धर्मको परम्परा आजसम्म बाँचिराखिएको जीवित संग्रहालयजस्तै। डाँडामाथिका पुराना गुफा, फरक विधिबाट चल्ने गुम्बा, पुरानो इतिहास-यी सबैले पर्यटकलाई मोहित पार्छ।
नाम्गेल भन्छन्, ‘मार्फामा त सबै जान्छन्, तर मार्फाको वास्तविक आत्मा तब मात्र भेटिन्छ, जब त्यहाँका कमला दिदीजस्ता महिलासँग बस्ने मौका मिल्छ। उहाँले थकाली परिकार मात्र पकाउनुहुन्न, त्यससँगै पुस्तौंदेखि बगिरहेको कथा पनि सुनाउनुहुन्छ। दालभातको स्वादसँगै ‘कथा’को स्वाद मिसिन्छ।’
शिन्ता मणिमा बसेका विदेशी पाहुनाका लागि पाँच दिने र नेपालीका लागि तीन दिनको प्याकेज राखिएको छ। प्रतिव्यक्ति दिनको २ हजार अमेरिकी डलर तिर्नुपर्छ। त्यसमा कोठा मात्रै होइन-सवारी, निजी गाइड, गतिविधि, स्थानीय अनुभव, खानादेखि मदिरासम्म सबै कुरा समेटिएको छ।
नाम्गेल भन्छन्, ‘पहिलो पटक हामीले पाँच दिनको ‘सबै समेटिएको’ प्याकेज २ हजार डलर राख्दा धेरैलाई रकम सुन्दा अचम्म लाग्यो। कसैले त २ हजार रुपैयाँ हो कि जस्तो गरे, कसैले ‘यति महँगो के होला र?’ भनेर शंका गरे। उद्योगका आफ्नै साथीहरू पनि ‘मजाक त हैन?’ भन्ने जस्तो नजरले हेर्थे। तर, त्यो २ हजार डलर केवल मूल्य होइन, मुस्ताङलाई गहिरिएर बाँच्ने सम्पूर्ण अनुभवको दर हो।’
अधिकांश पर्यटकले पाँच दिन बिताएपछि पनि, ‘समय कम पो रहेछ, केही दिन थप्न पाए हुन्थ्यो,’ भन्ने प्रतिक्रिया दिएको उनको अनुभव छ। ‘त्यही त मुस्ताङको जादू हो,’ नाम्गेल भन्छन्, ‘जहाँ बास मात्र होइन, बसिरहन मन लाग्ने कथा भेटिन्छ।’
नाम्गेलको अनुभवमा शिन्ता मणिको युनिकता केवल लक्जरीमा सीमित छैन। विश्वप्रसिद्ध वास्तुशिल्पी बिल बेन्सलीले डिजाइन गरेको काँठ, हरेक कोठाबाट देखिने नीलगिरि र हिमाली शृंखला, तिब्बती भू-दृश्यको संगम, थकाली र मुस्ताङे आत्माको कथा-यी सबै मिलेर यस्तो वातावरण बनेको छ, जहाँ बसिरहँदा समय बिर्सन मन लाग्छ।
यही अनुभूति हाम्रो वास्तविक ‘विशिष्टता’ हो, नाम्गेल भन्छन्, ‘अरू ठाउँले नक्कल गर्न नसक्ने कुरा यही हो।’
गन्तव्य चल्यो कि होटलको ब्रान्ड? उनलाई हाम्रो सीधा प्रश्न थियो।
गन्तव्यको कारण भनौैं भने यसअघि पनि मुस्ताङ त थियो नै। होटल पनि चलेकै थियो। तर, अहिले भुटानमा लक्जरी प्रोपर्टीका लागि पुग्ने पर्यटक नेपालमै अडिँदा कता-कता ब्रान्डकै कारण भएको हो कि भन्ने उनले इन्नोसेन्ट जवाफ दिए।
‘मुस्ताङ आफैंमा सुन्दर गन्तव्य भएकाले होटलको ब्रान्ड र गन्तव्यको मिश्रणले पर्यटकमा थप उत्साह जागेको हुन सक्छ,’ सीईओ शेर्पाले भने, ‘शिन्ता मणिको ठाउँमा भारतको कुनै अर्को रिसोर्टलाई ल्याएको भए चल्थ्यो वा चल्दैन थियो भन्ने विषय भने अन्योलमै रहेको छ।’
शिन्ता मणिको कथा यति मात्र होइन, यो यती वल्र्डको लामो यात्रासँग गहिरो रूपमा गाँसिएको छ।
शिन्ता मणिको आगमनले मुस्ताङलाई ‘ट्रान्जिट’बाट ‘डेस्टिनेसन’मा परिणत गर्यो। अब पर्यटक केवल सुत्न आउँदैनन्, उनीहरूले पाँच दिनको अल-इनक्लुसिभ अनुभव भोग्छन्-खाना, मदिरा, मसाज, गतिविधि, कथासँगै हिमाल हेर्ने बिहानदेखि साँझको सूर्यास्तसम्म।
मुस्ताङ केवल बस्ने होइन, बाँच्ने ठाउँ हुनुपर्छ। पुरानो ट्रेकिङ परम्परा, बुबा-हजुरबुबाले गाउँ-गाउँ घुमाउँदै सिकाएका कथाहरू, लुब्राको बोन परम्परा, गुफा र मनेस्ट्री-यी सबैले संकेत दिइरहेका थिए-‘यहाँको पर्यटनको केन्द्र ‘अनुभव’ हुनुपर्छ।’
शिन्ता मणिको कथा यति मात्र होइन, यो यती वल्र्डको लामो यात्रासँग गहिरो रूपमा गाँसिएको छ।
करिब तीन दशकअघि सोलुखुम्बुबाट काठमाडौं झरेका दुई दाजुभाइ-लाक्पा सोनाम शेर्पा र स्व. आङछिरिङ शेर्पाले विदेशी पर्यटकको भारी उठाउने कामबाट यात्रा सुरु गरेका थिए।
पदयात्रा गर्दै गर्दा उनीहरूले एउटा कुरा बुझ्दै गए-पर्यटकले ट्रेकिङमा जाने बेला चाहिने सबै सेवा-सामान एउटै समूहले दिन सके, अनुभव धेरै राम्रो हुन्छ। यही सोचले यती वल्र्डको बिउ रोप्यो।
-1765882321.jpg)
लुक्ला उड्न विदेशीलाई टिकट नपाएर अन्ततः आफ्नै यती एयरलाइन्स स्थापना गरेको कथा, हिमाली ट्रेलमा राम्रो बस्ने ठाउँ अभाव देखेर यती माउन्टेन होमजस्ता लज खोल्न थालेको अनुभव-यी सबै सानो कथा आज ठूलो वृक्ष बनेको छ।
आज यती वल्र्डअन्तर्गत-यती एयरलाइन्स, तारा एयर, हिमालय एयरलाइन्स, यती एडभेन्चर, कोरा टुर्स, गोकर्ण फरेस्ट रिसोर्ट, कसरा चितवन लज, होक्के लुम्बिनी , ब्रागा रिसोर्ट र शिन्ता मणि मुस्ताङजस्ता संरचना सञ्चालनमा छन्।
नाम्गेल भन्छन्, ‘हाम्रो सोचै यही हो-नेपालमा अवतरण गरेको एउटा विदेशीले फर्किंदासम्म कम्तीमा एकपटक भए पनि यती समूहको कुनै न कुनै सेवा वा उत्पादन उपयोग गरोस्। हिमालदेखि तराईसम्म सेवा विस्तारमा लाग्नुको मूल भाव नै त्यही हो।’
नाम्गेलको व्यक्तिगत जीवनको मोड पनि यत्तिकै महत्त्वपूर्ण छ।
बाल्यकालदेखि परिवारमा एउटा वाक्य बारम्बार दोहोरिन्थ्यो-‘जहाँ पढे पनि अन्ततः नेपाल फर्केर परिवारले सुरु गरेको काम अगाडि बढाउनुपर्छ।’
त्यसपछि शेर्पा हस्पिटालिटी ग्रुप गठनको योजना अघि बढ्यो। विभिन्न लज र होटललाई एउटै छानामुनि ल्याएर एकीकृत ढाँचामा सञ्चालन गर्ने निर्णय भयो।
‘बुबाहरूको पुस्ताले औपचारिक शिक्षा खासै पाउनु भएन, तर थामसेर्कु ट्रेकिङ, माउन्टेन लज नै हाम्रा वास्तविक स्कुल थिए’, नाम्गेल भन्छन्, ‘दार्जिलिङको स्कुल र अमेरिकाको व्यवस्थापन अध्ययनले फरक दृष्टिकोण त दियो, तर होटल व्यवस्थापन पढिएको थिएन। न त सुरुमा ‘होटल चलाउँछु’ भन्ने ठोस योजना नै थियो। तर, मनको गहिरोमा ‘एक दिन फर्केर गर्नु छ’ भन्ने बिउ पहिले नै रोपिएको रहेछ।’
२०७० तिर नेपाल फर्कंदा उनले पारिवारिक व्यवसाय विविध भागमा टुक्रिएको देखे। थामसेर्कु ट्रेकिङ, अन्नपूर्ण क्षेत्रमा रहेका पुराना लजहरू, यती माउन्टेन लज-सबै छुट्टाछुट्टै कार्यालयबाट सञ्चालित।
‘फर्केको पाँच वर्षजति मैले थामसेर्कुमा ग्राउन्ड लेभलबाट काम सिकें’, नाम्गेल भन्छन्, ‘कहाँ कमजोरी छ, कहाँ सम्भावना छ, धेरै नजिकबाट हेरें। तर, नेतृत्व भूमिकामा पूर्ण रूपमा अघि सर्ने अवस्था भने आएको थिएन, किनकि बुबा र काका दुवै पूर्ण सक्रिय हुनुहुन्थ्यो।’
कोभिड-१९ ले त्यो अवस्था बदलिदियो।
‘कोभिडले पर्यटन क्षेत्र पहिला नै ढलायो, सबैभन्दा पछि मात्रै उठ्ने क्षेत्र बनायो’, नाम्गेल भन्छन्, ‘त्यसबेला मनभित्र एउटा कुरा बलियो रूपमा आयो-यदि अहिले कसैले संरचना नबनाए बुबा-काकाहरूले जीवनभर गरेको मिहिनेत विस्तारै हराउँदै जानेछ।’
त्यसपछि शेर्पा हस्पिटालिटी ग्रुप गठनको योजना अघि बढ्यो। विभिन्न लज र होटललाई एउटै छानामुनि ल्याएर एकीकृत ढाँचामा सञ्चालन गर्ने निर्णय भयो।
नाम्गेल भन्छन्, ‘नेतृत्वको भूमिका मैले खोजेर लिएको होइन, परिस्थितिले थिचेर दिएको हो। तर, एकपटक जिम्मेवारी आएपछि ‘अब भागेर होइन, ठाडो उभिएर सामना गर्नुपर्छ’, भन्ने महसुस भयो।’
आज नाम्गेल शेर्पा हस्पिटालिटी गु्रपका प्रमुख कार्यकारी अधिकृतका रूपमा माउन्टेन लज ेज अफ नेपाल, शिन्ता मणि मुस्ताङ, कसरा चितवन, होक्के लुम्बिनी सहितका संरचनाको नेतृत्व गरिरहेका छन्।
‘यो यात्रा कुनै योजनाबद्ध ‘होटल करिअर’ खोजेर सुरु भएको होइन’, उनी भन्छन्, ‘यो त परिवारले भोगेका चुनौती, जिम्मेवारीबोध र ‘देश फर्कने’ बाल्यकालीन प्रतिज्ञाबाट जन्मिएको नेतृत्व हो।’
दुर्गम क्षेत्रमा रिसोर्ट सञ्चालन गर्दा राज्यको प्रोत्साहन नपाउनु अर्काे ठूलो चुनौती हो।
‘काठमाडौंमा व्यवसाय गर्न सहज छ। सडक छ, बिजुली छ, बजार नजिक छ’, नाम्गेल भन्छन्, ‘तर, खुम्बु जस्ता ठाउँमा लगानी गर्नु भनेको बिजुली, सडक, पानी, तापदेखि सौर्य ऊर्जासम्म सम्भव भएसम्म आफैंले मिलाउनुपर्ने अवस्था हो।’
लक्जरी प्रोपर्टीमा आउने पाहुनालाई त्यसैअनुसारको गाडी चाहिन्छ, तर यस्ता सवारीसाधन किन्दा कुनै कर-राहत छैन।
उनको बुझाइमा, हिमाली क्षेत्रमा लगानी केवल व्यावसायिक निर्णय होइन-समुदाय बाँच्ने मोडल हो।
‘यदि सरकारले केही हदसम्म सहज बनाइदिएको भए, डेस्टिनेसन अझ छिटो उठ्थ्यो’, नाम्गेल गुनासो पोख्छन्, ‘हामीलाई लाग्छ-माउन्टेन क्षेत्रमा लगानी केवल नाफा कमाउने कुरा मात्र होइन। समुदाय बचाउने, संस्कृति जोगाउने र नयाँ पिँढीलाई गाउँमै रोजगारी दिन सक्ने काम पनि हो।’
उनको बुझाइमा, हिमाली क्षेत्रमा लगानी केवल व्यावसायिक निर्णय होइन-समुदाय बाँच्ने मोडल हो। स्थानीयले त्यहीँ काम गर्दा आफ्नै गाउँ, भाषा, संस्कृति र प्रकृतिप्रति जिम्मेवारीको भावना धेरै बलियो हुन्छ।

‘यसरी हेर्दा हिमाली क्षेत्रमा लगानी केवल ‘रिसोर्ट खोल्नु’ होइन, समुदाय बाँच्ने, संस्कृति नहराउने र भविष्य सुरक्षित गर्ने चक्र हो, जहाँ सरकारले पनि ‘साझेदार’ भएर काम गर्नुपर्छ’, नाम्गेल भन्छन्।
नेपालमा खासगरी दुर्गम क्षेत्रमा लगानी गर्न निकै कठिन छ। पूर्वाधार कमजोर, विद्युत् आपूर्ति अविश्वसनीय, सडक वर्षैभरि चल्न नसक्ने, आन्तरिक उडान हावापानीमा अत्यधिक निर्भर। अरू देशमा सरकारले बनाइदिने काम यहाँ लगानीकर्ताले आफ्नै स्रोतले गर्नुपर्छ।
‘नेपालका नीति निर्माता र कर्मचारीले दुर्गम क्षेत्रमा व्यवसाय सञ्चालन कति कठिन छ भन्ने कुरा आफैं गएर बुझ्न जरुरी छ’, नाम्गेल थप्छन्, ‘यो केवल कागजमा पढेर, बैठकमा सुनेर बुझिने कुरा होइन।’
शेर्पा हस्पिटालिटी गु्रपले हिमाली क्षेत्रमा गरेको लगानी र विस्तारलाई हेर्दा यसको उद्देश्य पनि प्रस्ट देखिन्छ-यो केवल ‘ब्रान्डिङ’का लागि बनाइएको अवधारणा होइन, नेपाललाई उच्चस्तरीय पर्यटन गन्तव्यको रूपमा पुनःपरिभाषित गर्न सक्ने दीर्घकालीन मोडल हो।
सगरमाथा क्षेत्रदेखि अन्नपूर्णको घान्द्रुक, लान्द्रुक, माझगाउँ, धम्पुस सर्किट हुँदै अब मनाङ सर्किटसम्म फैलँदै गएको लज सञ्जालको मुख्य लक्ष्य एकै छ-‘ट्रेकिङ गर्दा हरेक दिनको बासमा समान स्तरको सेवा र अनुभूति दिन सकियोस्।’
‘हामीले ट्रेकिङ मार्गमा यस्तो प्रणाली बसाल्न चाह्यौं, जहाँ पर्यटकले ‘आजको लज राम्रो, भोलिको सामान्य’ भन्ने अवस्था नहोस्’, नाम्गेल भन्छन्, ‘जहाँ गए पनि समान स्तरको गुणस्तर, आराम र अतिथि-सेवा पाउनुपर्छ-त्यही ‘कन्सिस्टेन्सी’ ल्याउनु हाम्रो पहिलो लक्ष्य हो।’
अर्काेतर्फ, शिन्ता मणिलाई नेपालमा ल्याएर देशको प्रिमियम सेग्मेन्टलाई अन्तर्राष्ट्रिय स्तरमा उभ्याउने काम पनि गु्रपले गरिरहेको छ। चितवनको कसरा, लुम्बिनीलगायतका क्षेत्रमा वेलनेसलाई जोड्ने नयाँ संरचना बनाउने योजना नेपाललाई केवल ‘हिमालको देश’ होइन, ‘सम्पूर्ण शारीरिक-मानसिक स्वास्थ्य र गहिरो अनुभव’ चाहनेका लागि एक ‘पूर्ण पर्यटन गन्तव्य’ बनाउने सोच हो।
नेपालमा लक्जरी पर्यटनले पाउनुपर्ने उचाइ अझै नछुएको विषयमा नाम्गेलको विश्लेषण स्पष्ट छ।
‘विश्वले नेपाललाई प्रकृतिले धनी देशको रूपमा हेर्छ’, नाम्गेल भन्छन्, ‘तर, उच्चस्तरीय पर्यटकलाई आकर्षित गर्नुपर्ने संरचना, सन्देश र स्थिरता हामीले आवश्यक मात्रामा दिन सकेका छैनौं।’
उनका अनुसार समस्या प्रायः चार वटा बुँदामा आएर रोकिन्छ-
सुरक्षा, राजनीतिक स्थिरता, कनेक्टिभिटी र एकरुप सरकारी रणनीतिक अभाव।
काठमाडौंमा बिजनेस गर्नु सहज, सुरक्षित र लाभदायक भएकैले धेरै लगानीकर्ता त्यतै केन्द्रित भएका छन्।
‘विश्वले बुझ्ने हिसाबले हाम्रो इमेज धेरै पटक अस्थिरतासँग गाँसिएको छ’, उनी भन्छन्, ‘राजनीतिक उतारचढाव, सरकारको बारम्बार परिवर्तन, सडक आन्दोलनका दृश्य, त्यसमाथि प्राकृतिक विपद्को संवेदनशीलता। यी सबैले नेपालप्रति उच्च आय भएका यात्रुको विश्वासलाई हल्का तयार हुन्छ।’
काठमाडौंमा बिजनेस गर्नु सहज, सुरक्षित र लाभदायक भएकैले धेरै लगानीकर्ता त्यतै केन्द्रित भएका छन्। तर, दुर्गम क्षेत्रमा व्यवसाय निर्माण, सञ्चालन र दिगो रूपमा फाइदा लिन निकै गाह्रो हुन्छ। पूर्वाधार निकै कमजोर हुन्छ। यातायात पहुँच निकै कठिन हुन्छ। सोही कारण लागत धेरै र जोखिम उच्च हुने गरेको छ। यही कठिनाइका कारण धेरैले दुर्गम क्षेत्रमा लगानी गर्न चाहेनन्।
‘हाम्रा लागि भने त्यो केवल व्यावसायिक निर्णय मात्र थिएन, हिमाली क्षेत्रसँगको आत्मीयता र समुदायसँग जोडिएको एक गहिरो अट्याचमेन्ट पनि थियो’, सीईओ शेर्पाले भने, ‘हामीलाई लाग्यो-यदि माउन्टेन रिजनका मानिसले नै जिम्मेवारी लिएर केही नगरे अरू कसले गर्ने? काठमाडौं केन्द्रित विकासले गाउँहरू खाली हुँदै गएका छन्, तर यस्ता हाइ-एन्ड परियोजना गाउँमै पुगेपछि स्थानीय युवालाई उच्च मूल्यको रोजगारी मिल्छ, उनीहरू बसोबास त्यहीं गर्छन् र समुदायको जीवनस्तर सँगै उठ्छ।’
स्थानीयले त्यहीं काम गर्दा उनले आफ्नो गाउँ, संस्कृति र वातावरणलाई अझ जिम्मेवारीका साथ जोगाउँछन्। यसरी हेर्दा हिमाली क्षेत्रमा लगानी केवल व्यवसाय होइन-गाउँ बाँच्ने, संस्कृति नहराउने र भविष्य सुरक्षित गर्ने चक्र हो, जसमा सरकारको भूमिका अझै महत्वपूर्ण बन्छ।
नेपालमा लगानी खासगरी रिमोट क्षेत्रमा गर्न निकै कठिन छ। त्यहाँ बिजुली छैन, बाटो छैन, पूर्वाधार छैन। पानी तताउनदेखि सोलारसम्म सबै आफूले नै व्यवस्था गर्नुपर्छ। अरू देशमा सरकार आफैंले बनाइदिने काम यहाँ लगानीकर्ताले आफैं गर्नुपर्छ। यस्तो अवस्थामा राज्यले अलिकति सहज गरेर रिमोट क्षेत्रमा प्रिमियम-सेग्मेन्टको लगानीमैत्री वातावरण बनाइदिए पर्यटन बजारको स्वरुप नै फेरिन सक्छ। किनकि, नेपालको मौलिक सुन्दरता सहरमा होइन, दुर्गम ठाउँमै छ-तर त्यही ठाउँ विकास गर्न सबैभन्दा गाह्रो छ। नेपालका नेता र कर्मचारीले दुर्गम क्षेत्रमा काम गर्न कति कठिन छ भन्ने बुझ्न आवश्यक छ।
लक्जरी यात्रुको मनोविज्ञान सामान्य यात्रुभन्दा अलग हुन्छ।
‘उनीहरूले मूल्यभन्दाअघि ‘विश्वासिलो अनुभव’ खोज्छन्’, नाम्गेल भन्छन्, ‘२ हजार डलर महँगो भयो भनेर उनीहरू फर्किंदैनन्। तर, उडान पटक-पटक रद्द भयो, हावापानीका कारण अवतरण गर्न नसकेर जहाज मोडियो, सामान ढिलो गरी आइपुग्यो, सुरक्षासम्बन्धी नकारात्मक खबर अन्तर्राष्ट्रिय मिडियामा आयो भने त्यो बजार वर्षौंसम्म फर्कन गाह्रो हुन्छ।’
भुटानले ‘शान्त र स्थिर’ छवि बनाउँदै विश्वका प्रिमियम यात्रुलाई आफ्नोतर्फ तान्यो।
‘उनीहरूले धेरै सरल सन्देश दिए-‘हाम्रो देशमा आउँदा अनिश्चितता होइन, शान्त अनुभव पाउनुहुन्छ’, नाम्गेल भन्छन्, ‘नेपालसँग भौगोलिक, सांस्कृतिक, प्राकृतिक विविधता धेरै भए पनि ‘स्पष्ट कथा’ र ‘एकरूप प्रस्तुति’ नभएकाले हामीले आफ्नो फाइदा पूरा रुपमा समात्न सकेका छैनौं।’
कनेक्टिभिटीको समस्या पनि गम्भीर छ। युरोपबाट नेपालका लागि सीधै उडान छैन। क्षेत्रीय उडान मौसममा अत्यधिक निर्भर छन्, समयपालन कमजोर देखिन्छ, टिकट पनि महँगो पर्छ।
तर, विश्व बजारमा तिनलाई ‘नेपाल वेलनेस प्रणाली’ भनेर एकीकृत रूपमा देखाउने संयन्त्र बनेको छैन।
‘ट्रेकिङ वा बजेट यात्रुका लागि यो बाधा सह्य हुन सक्छ’, नाम्गेल भन्छन्, ‘तर, उच्चस्तरीय यात्रुले ‘पहिलो मिनेटदेखि अन्तिम मिनेटसम्म’ सहजता खोज्छ। त्यस्तो यात्रुका लागि उडानको अनिश्चितता, सामान ढिलो आउनु, आन्तरिक उडान डाइभर्ट हुनु, बारम्बार हुने ‘अनुभूतिको अवरोध’ ठूलो समस्या हो।’
सरकारको भूमिकामा पनि स्पष्ट अभाव देखिन्छ।
‘हरेक वर्ष १० लाख पर्यटक ल्याउने लक्ष्य दोहोरिन्छ’, उनी भन्छन्, ‘तर, कुन समूहलाई कति प्रतिशत ल्याउने, कसरी ल्याउने भन्ने गृहकार्य हुँदैन। ट्रेकिङका लागि बेग्लै योजना, भारतीय बजारका लागि बेग्लै उत्पादन, उच्चस्तरका यात्रुका लागि फरक सन्देश-यी सबै छुट्टाछुट्टै अभियान चाहिन्छ।’
योग, वेलनेस, हिमालयन हिलिङ, आध्यात्मिक केन्द्र, ध्यान र हिमाली प्राकृतिक वातावरण-यी सबै नेपालका असाधारण सम्पत्ति हुन्। तर, विश्व बजारमा तिनलाई ‘नेपाल वेलनेस प्रणाली’ भनेर एकीकृत रूपमा देखाउने संयन्त्र बनेको छैन।
‘निजी क्षेत्रले आफ्नो हिसाबले उत्तम प्रयास गरिरहेको छ’, नाम्गेल भन्छन्, ‘तर, देशको समग्र छवि उस्तै देखिँदा हरेक वर्ष पर्यटक आगमन पनि उस्तै-उस्तै देखिन्छ। क्षमताबारे सबैले कुरा गर्छन्, तर क्षमता पक्रने र ‘अनुभव’मा रुपान्तरण गर्ने संरचना बनेको छैन।’

अबको लक्ष्य-अपर मुस्ताङमा दुईवटा शिन्ता मणि।
‘पहिल्यैदेखि एउटा सपना थियो-मुस्ताङको अझ उचो, अझ दूरदराज भूभागमा उच्चस्तरीय लज बनाउने,’ नाम्गेल भन्छन्, ‘अब त्यो सपना योजनाबाट डिजाइन चरणमा पुगेको छ।’
अपर मुस्ताङको छुक्साङ र लोमान्थाङमा दुई वटा शिन्ता मणि खोल्ने तयारी अघि बढेको छ। दुवै ठाउँमा बन्ने शिन्ता मणि जोमसोममा चलिरहेको रिसोर्टभन्दा अझ प्रिमियम, अझ विशेष र अझ अनुभूति-केन्द्रित हुने योजना छ। प्रत्येक रिसोर्टमा करिब १५ वटा मात्र ‘स्वीट’ कोठा रहने छन्।
‘थोरै पर्यटक, तर अत्यन्त उच्च मूल्यमा आधारित ‘उच्च मूल्य-कम संख्या’ मोडलमा रिसोर्ट सञ्चालन गर्ने सोच अगाडि सारेका छौं’, नाम्गेल भन्छन्।
लगानी अनुमान-दुई रिसोर्टका लागि कम्तीमा १ अर्ब ५० करोड रुपैयाँभन्दा बढी।
तल्लो मुस्ताङदेखि माथिसम्मको सम्पूर्ण यात्रालाई एउटै अनुभवमा जोडेर ‘पाँच दिन तल, पाँच दिन अपर मुस्ताङ’ भन्ने १० दिनको एउटै यात्रा-मोडल बनाउने योजना छ।
‘एउटै ब्रान्डमार्फत दुई फरक उचाइ, दुई फरक वातावरण, तर सेवाको स्तर उस्तै राख्ने योजना छ’, नाम्गेल भन्छन्, ‘यसरी निरन्तरता दिन सके, पर्यटकको मनमा ‘नेपाल बारम्बार फर्किनुपर्ने देश’ भन्ने भावना बलियो हुन्छ।’
शिन्ता मणिले विदेशीलाई पाँच दिन र नेपालीलाई तीन दिनको प्याकेज राखेझैं आगामी दिनमा एभरेस्ट ट्रेल, मनास्लु, बर्दिया, चितवन, लुम्बिनीजस्ता ठाउँसँग पनि लिंक गरेर ‘नयाँ ठाउँ, उस्तै भरोसा’ दिने यात्रा शृंखला बनाउने योजनामा शेर्पा हस्पिटालिटी अघि बढिरहेको छ।
अन्त्यमा, नेपाल लक्जरी गन्तव्यतर्फ उन्मुख हुन सक्ने विषयमा नाम्गेलको निष्कर्ष स्पष्ट छ-नेपाललाई एउटै ‘हिमालको देश’ भन्ने क्याम्पेनले मात्र नधानिने भइसकेको छ।
‘नेपालको ‘क्यारेक्टर’ एउटै शब्दले नबुझिन्छ’, नाम्गेल भन्छन्, ‘एडभेन्चर, वेलनेस, संस्कृति, आध्यात्मिकता र लक्जरी-यी सबैलाई एउटै टुप्पोमा राखेर ‘मोर देन माउन्टेन्स’ भन्नु ठीक हो, तर, त्यसभित्र छुट्टाछुट्टै रणनीति चाहिन्छ।’
थाइल्यान्डले ‘अमेजिङ थाइल्यान्ड’भित्र खानाको गन्तव्य, समुद्रतट, वेलनेस, रात्रि-जीवन, संस्कृति सबैलाई अलग-अलग सन्देशसहित अघि बढाएको छ। भारतमा प्रत्येक राज्यले आफ्नै पर्यटन ब्रान्ड बनाइरहेका छन्।
उनको धारणा सरल छ-लक्जरी पर्यटकलाई सन्तुष्ट पार्ने अनुभव दिन सके उनीहरू रिपिट हुन्छन्।
‘हामीले पनि डाँडाकाँडा, सहर, मधेस, हिमाल सबैलाई एउटै फ्रेममा राखेर मात्र प्रचार गर्ने होइन, भित्रबाट खण्ड–खण्ड गरेर सही सन्देश दिनुपर्छ’, नाम्गेल भन्छन्, ‘लक्जरी सेग्मेन्टका लागि सन्देश फरक, एडभेन्चर चाहनेका लागि फरक, धार्मिक यात्रुका लागि फरक, भारतीय परिवार पर्यटकका लागि फरक योजना चाहिन्छ।’
उनको धारणा सरल छ-लक्जरी पर्यटकलाई सन्तुष्ट पार्ने अनुभव दिन सके उनीहरू रिपिट हुन्छन्। दोस्रो, तेस्रो पटक आउँदा उनीहरू नयाँ ठाउँ खोज्छन्, नयाँ संस्कृति, नयाँ कथा अनुभव गर्न चाहन्छन्।
‘शिन्ता मणिजस्तो ब्रान्डले एउटै स्तरको सेवा, तर फरक-फरक गन्तव्यमा दिन सक्यो भने ‘नेपाललाई वर्षौंसम्म फर्किरहनुपर्ने देश’ बनाउने काम सम्भव हुन्छ’, नाम्गेल भन्छन्, ‘२ हजार डलर ठूलो देखिए पनि मध्यम-उच्च आय भएका अन्तर्राष्ट्रिय यात्रुका लागि त्यो सामान्य मूल्य हो। सवाल मूल्यको होइन, भरोसाको हो।’
उनका शब्दमा-
‘अब प्रश्न ‘कति पर्यटक आयो?’ होइन, ‘एकपटक आएको मानिस कति पटक फर्कियो?’ बन्नुपर्छ। लक्जरी पर्यटनको भविष्य त्यहीँ छ र नेपाल त्यहाँ पुग्न सक्ने क्षमतायुक्त देश हो।’