कास्की। साइकल प्रयोगलाई बढावा दिने सन्देशसहित पोखरामा पुस ५ गते हुने ‘टुर द पोखरा’को आठौँ संस्करणको तयारी अन्तिम चरणमा पुगेको छ।
पोखरा भ्रमण वर्ष २०२५ का सन्दर्भमा ‘स्वास्थ्य, वातावरण र पर्यटन’का लािग साइक्लिङको नारासहित साइकल सिटी पोखराले ‘टुर दी पोखरा’लाई निरन्तरता दिएको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो। कार्यक्रम पोखरा महानगरको ‘क्लिन सिटी र ग्रिन सिटी’को अवधारणाअनुसार हुन लागेको हो।
‘टुर द पोखरा’साइकल र्यालीका माध्यमबाट पोखरा र वरिपरिका पर्यटकीय गन्तव्य पहिचान गरी आमन्त्रित स्वदेशी एवं विदेशी साइकल यात्रीलाई भ्रमण गराई हरित क्रान्तिको सुरुआत गर्नु रहेको साइकल सिटी पोखराका अध्यक्ष श्यामकृष्ण श्रेष्ठले बताए।
उनका अनुसार यस वर्ष नेपालका ३२ जिल्ला तथा विदेशबाट गरी ८६० जना साइक्लिष्टहरुले नाम दर्ता गराएका छन्। यसबाहेक स्थानीस्तरमा दता नभएका गरी एक हजार बढीको सहभागिता रहने विश्वास गरिएको छ।
'छिमेकी मित्रराष्ट्र भारतसहित तेस्रो मुलुकबाट साइक्लिष्टको सहभागिता हुने निश्चित भएको छ। पर्यटकीय सहर पोखरामा हुने यस कार्यक्रमले पोखराको प्रवद्र्धनसहित साइकल प्रयोग र इन्धन बचाउने सन्देश प्रवाह गर्ने छ,' श्रेष्ठले भने।
‘टुर द पोखरा’ कार्यक्रमले साइकल संस्कृति बसाल्नुका साथै इन्धन बचाउन महत्वपूर्ण योगदान दिने विश्वास आयोजकको छ। कार्यक्रमबाट वातावरण स्वस्थ राख्नका लागि योगदान पुग्ने सचिव रामचन्द्र भट्टले बताए।
उनले भने, 'हामी धेरै सौखिन भयौँ, हिँडेरै पुग्ने वा साइकल चढ्दा हुने ठाउँमा मोटरसाइकल र कार चढ्न थाल्यौँ। यसले हाम्रो वातावरण प्रदूषित गर्यो भने हाम्रो पैसा पनि विदेशियो, त्यसैले थोपा थोपा इन्धन बचाएर पैसा विदेश जानबाट जोगाउँदै वातावरण स्वस्थ राख्न योगदान गर्ने उद्देश्यले हामीले यो कार्यक्रमलाई बर्सेनि निरन्तरता दिएका छौँ,'
साइकलयात्राको दूरी पोखराका विभिन्न स्थानसहित माछापुच्छ्रे गाउँपालिकाको भुर्जुङखोलासम्म गरी ५१ किमी रहेको छ।