काठमाडौं । भारतीय लगानीमा निर्माणाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजनालाई नेपाली र भारतीय गरी ७ बैंकहरुले झण्डै १ खर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन । नेपाल र भारतका बैंकहरुबीच आज (बिहीबार) काठमाडौंमा ऋण लगानी सम्झौता हुँदैछ ।
ऋण लगानी हुने लागेको अरुण तेस्रो नेपालको हालसम्मकै सबैभन्दा ठुलो जलविद्युत आयोजना हो । प्रर्वद्र्धक एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनी र लगानीकर्ता बैंकबीच बिहीबार साँझ ऋण सम्झौता हुने तालिका तय भएको छ ।
अरुण तेस्रोमा नेपालका नविल बैंक, एभरेष्ट बैंकले १४ अर्ब ४० करोड रुपैयाँ अर्थात ९ अर्ब भारु ऋण लगानी गर्नेछन । नेपाली बैंकले आयोजनालाई अपुग (ब्रिजलोन) दिने भएका हुन ।
भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्ने छन ।
भारतीय ५ बैंकहरुले ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्ने छन । स्वपुँजी (इक्विटी) का रुपमा एसजेवीएनले २५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ ।
नेपाल राष्ट्र बैंक र लगानी बोर्डले स्वीकृति दिएपछि औपचारिक रुपमा ऋण लगानी सम्झौता हुन लागेको हो । लगानी बोर्डले बुधबार नै वित्तीय व्यवस्थापनका लागि समय थप गरिसकेको छ । निर्धारित समय भन्दा ५ महिना ढिलागरी लगानी सम्झौता हुन लागेकाले बोर्डले म्याद थप गरेको हो ।
ऋणको ब्याज साढे ८ प्रतिशत छ । एसबीआई त्यहाँको सरकारी बैंक हो । भारुमा ऋण ल्याउन भारतीय रिजर्व बैंक (आरबीआई) ले अनुमति दिइसकेको छ । हालसम्म आयोजनाको ३० प्रतिशत काम सकिएको छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
विद्युत उत्पादन संरचना बनाउन एसबीआई र नेपाली बैंकहरुले ऋण लगानी गर्ने छन । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैंसँग ऋण सम्झौता भइसकेको छ ।
एभरेष्ट बैंकले प्रसारणलाइनमा ३ अर्ब ६० करोड रुपैयाँ अर्थात २ अर्ब २५ करोड भारु अरुण तेस्रोमा ऋण लगानी गर्नेछ । यो प्रसारणलाइनका लागि पञ्जाब नेसनल बैंकसँग पनि ८ अर्ब रुपैयाँ अर्थात ५ अर्ब भारु ऋण लगानी गर्ने सम्झौता भएको छ । आयोजना सम्पन्न भएपछि नेपालले झण्डै २०० मेगावाट निःशुल्क बिजुली पाउने छ ।