काठमाडौं । भारतीय लगानीमा निर्माणाधिन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत आयोजना सस्तोमा बन्ने भएको छ । आयोजना प्रतिमेगावाट साढे १२ करोडमा निर्माण हुने विकासकर्र्ता एसजेवीएन अरुण ३ पावर डेभलपमेन्ट कम्पनीले जनाएको छ ।
हालको अवस्थामा यो लागत धेरै सस्तो हो । नेपाली लगानीकर्ताले प्रतिमेगावाट १८ करोडदेखि २० करोड रुपैयाँमा आयोजना बनाइरहेका छन ।
आयोजना निर्माणका लागि नेपाली र भारतीय गरी ७ बैंकहरुले झण्डै १ खर्ब ऋण लगानी गर्ने भएका छन । नेपाल र भारतका बैंकहरुबीच आज साँझ काठमाडौंमा ऋण लगानी सम्झौता हुँदैछ ।
ऋण लगानी सम्झौता अघि आयोजित पत्रकार सम्मेलनका अवसरमा कम्पनीका अध्यक्ष एलएन शर्माले अरुण तेस्रो विदेशी लगानी रहने आकर्षण आयोजना हुने बताए । उनले आयोजना निर्माण भएपछि नेपालको प्रतिव्यक्ति विद्युत् खपत क्षमता बढ्ने र अर्थतन्त्रमा ठूलो योगदान पुग्ने बताए ।
यो विदेशी ऋण लगानी हुने लागेको अरुण तेस्रो नेपालको हालसम्मकै सबैभन्दा ठुलो जलविद्युत आयोजना हो । अरुण तेस्रोमा नेपालका नविल बैंक, एभरेष्ट बैंकले १४ अर्ब ४० करोड रुपैयाँ अर्थात ९ अर्ब भारु ऋण लगानी गर्नेछन । नेपाली बैंकले आयोजनालाई अपुग (ब्रिजलोन) दिने भएका हुन ।
भारत सरकार स्वामित्वको भारतीय स्टेट बैंक (एसबीआई), पञ्जाब नेसनल बैंक, युनियन बैंक अफ इन्डिया, क्यानरा बैंक र भारतीय एक्सपोर्ट इम्पोर्ट (एक्जिम) बैंकले ऋण लगानी गर्ने छन ।
भारतीय ५ बैंकहरुले ५३ अर्ब ७३ करोड ६८ लाख भारु अर्थात ८५ अर्ब ९७ करोड ८८ लाख रुपैयाँ ऋण लगानी गर्ने छन । स्वपुँजी (इक्विटी) का रुपमा एसजेवीएनले २५ अर्ब रुपैयाँ लगानी गर्ने छ ।
आयोजना निर्माण गर्न १ खर्ब १५ अर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । कुल लगानीमध्ये १ खर्ब ४ अर्ब विद्युत उत्पादन संरचना र ११ अर्ब रुपैयाँ प्रसारणलाइन बनाउन लगानी हुने छ ।
एसजेबीएनले आउँदो २०७९ असोजसम्म अर्थात सन २०२२ को सेप्टेम्बरमा आयोजना सम्पन्न गर्ने लक्ष्य लिएको छ । आयोजनाको बाँध निर्माण काम सुरु भइसकेको छ । ४ लटमा आयोजनाको काम भइरहेको छ । निर्माण अवधिबाहेक आयोजनाको अवधि २५ वर्ष छ ।
विद्युत उत्पादन संरचना बनाउन एसबीआई र नेपाली बैंकहरुले ऋण लगानी गर्ने छन । प्रसारणलाइन बनाउन पञ्जाब नेसनल बैंसँग ऋण सम्झौता भइसकेको छ ।