काठमाडौं। मेरिटका आधारमा काठमाडौं विश्वविद्यालयका निर्वतमान उपकुलपति भोला थापा चौथो नम्बरमा परेपछि छनोट समितिका संयोजक र सदस्यबीच तनाव सुरु भएको छ।
चौथो नम्बरमा रहेका थापालाई तेस्रो नम्बरमा नल्याई नहुने अडान संयोजक शर्माले राखेको र बाँकी सदस्यले त्यसो नगर्न अडान लिएपछि उपकुलपति छनोट प्रक्रिया लम्बिने संकेत देखिएको छ। सर्टलिस्ट भएका १० जना उम्मेदवारको अन्तर्वार्ता गत शनिबार सकिएको हो।
आइतबार दिनभरि र राति ११ बजेसम्म बसेको छनोट समितिको बैठकले कुलपति समक्ष सिफारिस गर्नुपर्ने तीन जना उम्मेदवारको नाम टुंगो लगाउन सकेन। मेरिटका आधारमा प्राप्त अंक जोड्दा समितिका संयोजक शर्माले एक नम्बरमा राखेर नियुक्तका लागि सिफारिस गर्न चाहेका निवर्तमान उपकुलपति थापा चौथो नम्बरमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष तीन जनाको पठाउन नसकेको हो।
गत शुक्रबार लिएको प्रस्तुतिकरण (२० अंक), शनिबार लिएको अन्तर्वार्ता (२० अंक), भिजन पेपर लेखन र विश्वविद्यालयको चार वर्षे रणनीतिक योजना लेखन १५ अंक (सम्पूर्ण अंकभारको ७० प्रतिशत) जोड्दा उम्मेदवारहरूको मेरिटको क्रम उल्लेख्य रुपले परिवर्तन भएको समितिका एक सदस्यले बताए।
अंकभार जोड्दा एक नम्बरमा बालचन्द्र लुइटेल, दोस्रो नम्बरमा अच्युत वाग्ले र तेस्रो नम्बरमा सुबोध शर्मा छन्। तर, संयोजक शर्माले एक जनालाई हटाएर थापा ल्याउन जोडबल गरेपछि सदस्यहरू असन्तुष्ट बनेका हुन्। ती सदस्यका अनुसार थापा चौथो नम्बरमा र जनार्दन लामिछाने पाँचौं नम्बरमा छन्।
अहिले तीन जनाभित्र परेका शर्मा दक्षिण एसियाकै चिनिएका जलस्रोत विज्ञ हुन्। उनका करिब ७० वटा खोज तथा अनुसन्धान पत्रहरू अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। उनी पूर्वरजिस्ट्रार पनि भइसकेका व्यक्ति हुन्। शर्माको नेतृत्व क्षमता कमजोर मानिन्छ।
वाग्लेले मुलुककै एक चर्चित अर्थ शास्त्री हुन्। उनी रणनीतिक योजना निर्माण र व्यवस्थापनमा अब्बल मानिन्छन्। अन्तर्राष्ट्रिय इन्डेक्स्ट जर्नलमा खोजपत्र थोरै प्रकाशित भएको र दम्भी स्वभाव उनका कमजोरी मानिन्छन्। लुइटेल चिनिएका शिक्षाविद् हुन्। प्राज्ञिक व्यवस्थापन एवं पाठ्यक्रम निर्माणमा उनको विशेष दखल रहेको छ। अपरिपक्को र चञ्चल स्वभाव उनका कमजोरी ठानिएको छ। थापाको विशिष्ट प्राज्ञिक पहिचान बनेको छैन। उनी शैक्षिक प्रशासक मात्र हुन्।
ती सदस्यका अनुसार मंगलबार बेलुका ५ बजे थप छलफलका लागि समितिको बैठक डाकिएको छ। शर्माले चौथो नम्बरमा रहेका थापालाई तेस्रो नम्बरमा ल्याउन नसकेको अवस्थामा छनोट भएका सबैको नाम प्रधानमन्त्री ओलीलाई ६ बजे बझाउनुपर्छ। अहिलेसम्मको छनोट प्रक्रियामा जस्तो लब्धाङ्क आएको छ। त्यसैअनुरुप विवरण प्रधानमन्त्रीलाई बुझाइदिने प्रस्तावमा पनि शर्मा सहमत भएका छैनन्।
गएको सोमबार छनोट समितिले तीन जनाको नाम सर्टलिस्ट गरेर पठाउनुपर्नेमा थापा नअटाएपछि संयोजक र सदस्यबीच विवाद उत्पन्न भएको थियो। त्यही विवादका कारण प्रधानमन्त्रीसमक्ष नाम जान सकेन।
यसरी चौथो नम्बरमा परेकालाई तेस्रो नम्बरमा पार्नेवित्तिकै भोलि अख्तियारले सम्पूर्ण फाइल छानविनका लागि नियन्त्रणमा लिन सक्छ। त्यसो हुँदा आफूहरू फस्ने भय र अपारदर्शी काम गर्न नहुने जनार्दन नेपाल र डा. अर्जन कार्कीले अडान लिएको ती सदस्यले जानकारी दिए।