काठमाडौं। पोखराको लेकसाइडमा सञ्चालित सम्पदा शैली (हेरिटेज स्टाइल)को स्थापित होटल ‘होटल ल्याण्डमार्क पोखरा’ ऋणको भारले थिचिएको छ। होटलले आफ्नो नेथवर्क र कुल व्यापारभन्दा बढी बैंकबाट ऋण लिँदा उच्च वित्तीय दबाबमा परेको हो।
सन् २००७ मा स्थापना भएको यो होटलमा करिब दुई दशक लामो मुक्ति राम पाण्डेसहित दुई दशक लामो अनुभव भएका पर्यटन व्यवसायीहरूको लगानी छ। तर, विगतका वर्षहरूमा निरन्तर भएको घाटाका कारण कम्पनीको पुँजीगत संरचना कमजोर बनेपछि ऋणको भारले होटललाई थप जटिल बनाएकोे क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले देखाएको छ।
केयर रेटिङ नेपालले सार्वजनिक गरेको रिपोर्टअनुसार होटल ल्याण्डमार्क पोखराले कुल ८० करोड रुपैयाँ बराबरको बैंकिङ सुविधाका लागि रेटिङ गराएको छ। जसमध्ये ६५ करोड २० लाख रुपैयाँको दीर्घकालीन कर्जाका लागि ‘कबी प्लस’ र १४ करोड ८० लाख रुपैयाँको अल्पकालीन कर्जाका लागि ‘ए-फोर’ रेटिङ प्रदान गरिएको छ।
कम्पनीको वार्षिक आम्दानीको तुलनामा ऋणको आकार निकै ठूलो देखिएको छ। यो होटलले सन् २०२३ मा १३ करोड २० लाख रुपैयाँ, सन् २०२४ मा १५ करोड १० लाख र सन् २०२५ मा कुल १८ करोड ३० लाख बराबरको व्यापार गरेको थियो। तर, सोही अवधिमा कम्पनीको नेटवर्थ मात्र १ करोड ४० लाख रुपैयाँ खुम्चिएको छ। विगतको निरन्तर घाटाका कारण आर्थिक वर्ष २०२४ सम्म कम्पनीको नेटवर्थ १ करोड ६० लाख रुपैयाँले ऋणात्मक थियो।
कम्पनीको ऋण र स्वपुँजीको अनुपात (गियरिङ रेसियो) निकै डर लाग्दो अवस्थामा देखिएको छ। प्रतिवेदनअनुसार सन् २०२५ मा यो अनुपात ४५.१८ गुणा रहेको छ। यसको अर्थ सेयरधनीको १ रुपैयाँ लगानी हुँदा होटलमा बैंकको ऋण ४५ रुपैयाँभन्दा बढी छ। यस्तो उच्च गियरिङले होटलको वित्तीय स्वास्थ्य जोखिमपूर्ण रहेको संकेत गर्दछ।
यो होटलमा परम्परागत नेपाली वास्तुकला र काठका बुट्टाहरू प्रयोग गरिएको हेरिटेज डिलक्स र सुइट क्याटगोरीका ९५ वटा कोठाहरू छन्।
व्यापारमा केही सुधार देखिए पनि ऋणको ब्याज र किस्ता तिर्ने क्षमता (डेब्ट सर्भिस कभरेज) अझै कमजोर छ। २०२५ मा कम्पनीको ब्याज कभरेज अनुपात १.५६ गुणा छ। होटलको सञ्चालन नाफा करिब ८ करोड रुपैयाँ (कुल आम्दानी १८.३ करोडको ४३.८६ प्रतिशत) देखिन्छ। यस आधारमा होटलले वर्ष २०२५ मा मात्रै करिब ५ करोड देखि ५ करोड २० लाख रुपैयाँको हाराहारीमा ब्याज तिरेको अनुमान गर्न सकिन्छ। अघिल्लो वर्षमा होटलको ब्याज तिर्ने क्षमता (०.८८ गुणा) कमजोर थियो, जसको अर्थ होटलले आफ्नो कमाइले ब्याज समेत धान्न सकेको थिएन।
यद्यपि, आम्दानी बढेकाले यसमा केही सुधार देखिएको छ। तर, कुल ऋण र नगद प्रवाहको अनुपात १९.११ गुणा हुनुले ऋण चुक्ता गर्न लामो समय लाग्ने र कठिन हुने देखाउँछ।
होटल उद्योगको चक्रीय प्रभाव, एकल सम्पत्तिमा आधारित व्यवसाय (पोखरामा मात्रै हुनु) र बढ्दो प्रतिस्पर्धालाई रेटिङ एजेन्सीले जोखिमका रूपमा औँल्याएको छ। साथै, फ्लोटिङ ब्याजदरका कारण बैंकको ब्याज बढ्दा होटलको नाफामा प्रत्यक्ष असर पर्ने देखिन्छ।
यो होटलमा परम्परागत नेपाली वास्तुकला र काठका बुट्टाहरू प्रयोग गरिएको हेरिटेज डिलक्स र सुइट क्याटगोरीका ९५ वटा कोठाहरू छन्। साथै, छतमा स्विमिङ पुल, रेस्टुरेन्ट र बार, स्पा सेवा उपलब्ध छ। होटलको अवस्थिति र नेपाल सरकारले घोषणा गरेको ‘पर्यटन दशक (२०२३-२०३३)’ले आगामी दिनमा पर्यटकको संख्या बढाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
आर्थिक वर्ष २०२५ मा होटलको अकुपेन्सी दर करिब ६० प्रतिशत रहेको छ। आगामी दिनमा कोठाको संख्या थपिएको र औसत दरमा सुधार आएकाले नगद प्रवाह बढ्ने अनुमान गरिए पनि, उच्च ऋणको भार कम गर्नु र नाफाको मार्जिन जोगाइराख्नु नै होटल ल्याण्डमार्कका लागि मुख्य चुनौती देखिन्छ।