काठमाण्डौं । ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले विद्युत प्रसारण लाइनभन्दा तलको जमिनको पनि सरकारले पूर्ण मुआब्जा दिने तयारी गरेको बताएका छन् ।
मन्त्री पुनले आगामी पाँच वर्षमा ५ हजार र १० वर्षमा १६ हजार मेगावाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ काम अघि बढिरहेको भन्दै विद्युत वितरणका लागि प्रसारण लाइन निर्माणको काम पनि तीव्र रुपमा अघि बढेको बताए । ‘अबदेखि प्रासरण लाइनको मुनि परेको जग्गाको पनि मुआब्जा दिने गरी कार्यविधि तयार भएको छ’, नुवाकोटको तुप्चेमा दिवंगत तत्कालीन माओवादी नेता पोष्टबहादुर बोगटीको शालीक अनावरण तथा चण्डेश्वरी माविको अभिभावक समारोहलाई मंगलबार सम्बोधन गर्दै मन्त्री पुनले भने ।
यसअघि सरकारले प्रसारण लाइनको जग्गामा आंशिक मात्र मुआब्जा दिने गरेको थियो ।
उनले वर्तमान सरकार बन्नुअघि मुलुकमा ९ सय मेगावाट मात्र विद्युत रहेकामा पछिल्लो दुई वर्षमा ४ सय मेगावाट थपिएर कूल जडित क्षमता १३ सय मेगावाट पुगेको उल्लेख गरे । यसै आर्थिक वर्षमा ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशीसहित १ हजार मेगावाट विद्युत केन्द्रीय प्रसारणमा थपिने जानकारी उनले दिए । ‘यो वर्षबाट हामी विद्युतमा आत्मनिर्भर हुँदैछौं’, उनले भने, ‘हामीले वार्षिक १८ अर्बको बिजुली छिमेकी मुलुकबाट आयात गरिरहेका छौं, यही वर्षदेखि आयात प्रतिस्थापन गर्दैछौं ।’ मन्त्री पुनले रसुवा र नुवाकोटमा धेरै विद्युत आयोजना निर्माण भएको र कतिपय निर्माणको चरणमा रहेको चर्चा गर्दै त्यहाँका जनात विकासमैत्री रहेको बताए ।
फरक प्रसंगमा मन्त्री पुनले पोष्टबहादुर बोगटीलाई निष्ठाको राजनीति गर्ने नेताका रुपमा स्मरण गरे । ‘सरकारमा हुँदा होओस् वा बाहिर हुँदा उहाँले जहिल्यै निष्ठाको राजनीति गर्नुभयो, जनताको राजनीति गर्नुभयो’, मन्त्री पुनले भने, ‘डुबिसकेको वायु सेवा निगमलाई पर्यटनमन्त्री हुँदा दुईवटा न्यारोबडी जहाज किन्ने साहस गरेर उहाँले नै जोगानुभएको हो ।’ उर्जा मन्त्रालयमा आफूभन्दा अगाडि नेतृत्व गरेका बोगटीले धेरै नीतिगत काम गरेको र त्यसको सकारात्मक नतिजा अहिले आइरहेको उनको भनाइ थियो ।
कार्यक्रम स्थलमा रहेको चण्डेश्वरी मावि बोगटीले धान खाने खेत दान गरेर बनेको हो । हाल उक्त विद्यालयको नाम परिवर्तन गरेर चण्डेश्वरी पोष्टबहादुर बोगटी राख्ने प्रक्रिया सुरु भएको छ ।