काठमाडौं । काठमाडौं उपत्यकाको विद्युत वितरण प्रणाली तथा सुदृढीकरणको काम सोमबारदेखि सुरु हुने भएको छ । सोमबारदेखि काठमाडौंको विद्युत वितरण प्रणाली भुमिगतको काम सुरु हुने भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विद्युत् वितरण प्रणालीको भूमिगत (अण्डरग्राउण्ड) गर्ने कामको शुभारम्भ गर्ने भएका छन । पहिलो चरणमा रत्नपार्क र महाराजगञ्ज विद्युत वितरण केन्द्रलाई अन्डरग्राउन्ड गर्ने काम अघि बढाइने भएको हो ।
दुबै वितरण केन्द्र क्षेत्रमा पर्ने ठाउँमा पहिलो चरणमा तार अन्डरग्राउन्डको गर्ने कामको औपचारिक सुरुवात प्रधानमन्त्रीले गर्न लागेका हुन् ।यसअघि प्राधिकरणले विद्युत वितरण भूमिगत गर्न काट्न सडक विभागबाट स्वीकृति लिएको थियो ।
याे पनि पढ्नुस, रत्नपार्क र महाराजगञ्जमा भूमिगत विद्युत तारको काम सुरु गर्न सडक विभागको असहयोग, अनुमति दिन ढिलाइ
अहिले अन्डरग्राउन्ड प्रणालीका लागि सबैजसो उपकरण तथा मेसिनहरु आइसकेकाले सोमबारदेखि औपचारिक रुपमा काम सुरु हुने प्राधिकरणका निर्देशक तथा प्रवक्ता प्रवल अधिकारीले बताए ।
‘होराइजनल ड्रिलिङ’ प्रविधिबाट ठाउँ ठाउँमा प्वाल पारेर तार अन्डरग्राउन्ड गरिनेछ । जसका कारण सबै सडक खन्नुपर्दैन । दुवै केन्द्र आसपासको ठाउँमा तार भूमिगत गर्न भारतको केइआइकके कम्पनीले ठेक्का पाएको छ ।
विद्युत वितरण प्रणालीलाई भूमिगत गर्न एसियाली विकास बैंक (एडीबी) ले १५ अर्ब रुपैयाँ ऋण सहयोग गरेको छ । विद्युत वितरण भूमिगत भएपछि अहिले जस्तो सडकमा तार देख्नु पर्दैन ।
यस्तै विद्युत प्राधिकरणले घरैबाट बिजुलीको बिल तिर्न मिल्ने गरी दुई बर्ष अर्थात २०७८ मंसिरसम्म अन्डरग्राउन्डको काम सम्पन्न गर्ने लक्ष्य प्राधिकरणको छ । अरु केन्द्रमा पनि अन्डरग्राउन्ड गर्नका लागि बोलपत्र आह्वान भई मुल्यांकन भइरहेको छ ।
रत्नपार्क र महाराजगञ्जलाइ स्मार्ट कम्युनिकेसनको क्षेत्र भएकाले पहिलो चरणमा भूमिगत गर्न लागिएको हो । त्यसक्षेत्रमा विद्युत वितरण प्रणाली मात्र नभएर विभिन्न सेवाप्रदायक तथा कम्युनिकेसनका तारहरु एउटै पाइपबाट अन्डरग्राउन्ड हुनेछ ।
दुई वितरण केन्द्रमा तार भूमिगत भएपछि ९० हजार विद्युत उपभोक्ता लाभान्वित हुनेछन् । विद्युत वितरण प्रणालीलाई अन्डरग्राउन्ड गर्न सर्भे भइसकेको छ ।
विद्युत वितरण प्रणालीलाई पहिलो पटक अण्डरग्राउन्ड गर्न लागिएको हो । यो सफल भएपछि अन्य शहरी क्षेत्रमा क्रमशः वितरण प्रणालीलाई अण्डरग्राउण्ड गर्दै लैजाने तयारी विद्युत प्राधिकरणको छ ।