काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजारमा उछाल आएको छ । सेयर बजार २९.३२ अंक बढ्दा २ अर्ब ७८ करोड ५० लाख रुपैयाँको कारोबार भएको छ ।
सेयर बजार बढेर १ हजार ४३४.५७ अंकमा पुगेको छ । यो २ वर्षयताकै सर्वाधिक उच्च अंक हो । सेयर बजारको अंक र कारोबार रकमले पछिल्लो समयमा नयाँ रेकर्ड कायम गरेको छ ।
विश्वास बढेपछि बजारले उचाइ लिन थालेको लगानीकर्ताको भनाई छ । बिहीबार विभिन्न कम्पनीहरुका ५८ लाख २९ हजार ५१० कित्ता सेयर किनबेच भएको छ ।

शिवम सिमेन्ट लिमिटेड, हिमालयन डिष्टिलरी लिमिटेड र नेपाल लाइफ इन्स्योरेन्सको सबैभन्दा बढी कारोबार भएको छ । शिवमको प्रतिकित्ता ६६७ रुपैयाँमा १७ करोड २ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।
पछिल्लो समयमा शिवमको सेयर मूल्य र कारोबार रकम बढ्दै गएको छ । यस्तै हिमालयन डिष्टिलरीको १ हजार ५९१ रुपैयाँमा १२ करोड २२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । नेपाल लाइफको १ हजार २४० रुपैयाँमा १२ करोड १५ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बिहीबार व्यापार र म्युचअल फण्ड बाहेक अन्य परिसुचक बढेका छन । बीमा, लघुवित्त र उत्पादनमुलक समूहको परिसूचक बढेको छ । बीमा र लघुवित्तले बजार उचालेका छन । जीवन बीमा र निर्जीवन बीमा क्रमश ३८५ र ३७४ अंकले बढेको छ । लघुवित्तको १५९ अंकले बढेको छ ।
बिहीबार सबैभन्दा बढी बोटलर्स नेपाल तराइ लिमिटेडका लगानीकर्ताले कमाएका छन । बोटलर्सपछि लघुवित्त संस्थाका लगानीकर्ताले कमाएका छन ।
बोटलर्सका लगानीकर्ताले प्रतिकित्ता ७७२ रुपैयाँ कमाएका छन । यस्तै फस्र्ट माइक्रोफाइनान्स, एनएमबी माइक्रोफाइनान्स, कालिका माइक्रोक्रेडिट, मेरो माइक्रोफाइनान्स, स्वावलम्बन र आरएसडीसी लघुवित्तका लगानीकर्ताले कमाएका छन ।

बजारको साइकले घुम्दै अब बढ्ने बाटोमा आएको सेयर लगानीकर्ता प्रकाश तिवारी बताउँछन । पछिल्लो ३ वर्ष लगातार घट्दै आएको बजार अब विस्तारै पहिलोको अवस्थामा आउने देखिएको उनको भनाई छ । यद्यपी बजार बढेपछि करेक्सन हुनुपर्ने उनको तर्क छ ।
वाणिज्य बैंकहरु भन्दा पनि साना पुँजी भएका कम्पनीमा लगानीकर्ताको आकर्षण बढेको उनले बताए । पछिल्लो समय अर्थमन्त्री डा. युवराज खतिवडा सेयर बजारप्रति सकरात्मक देखिएपछि लगानीकर्ताको विश्वास बढेको उनको बुझाइ छ ।
नेपाल राष्ट्र बैंकले पनि आगामी साता मौद्रिक नीतिको समीक्षा गर्दै छ । समीक्षामा सेयर बजारमा केही सहुलियत आउने अपेक्षा लगानीकर्ताको छ ।