काठमाडौं। मध्यपूर्वको युद्धले अर्थतन्त्रमा बाह्य र आन्तरिक दबाब बढ्दा नेपाली भान्सालाई महँगो बनाएको छ। दैनिक उपभोग्य वस्तुहरू खाद्यान्न, तरकारी र फलफूलको मूल्यमा अस्वाभाविक वृद्धि भएको छ।
खाद्यान्न, दाल, खाने तेल, चामललगायतको मूल्य सामान्यदेखि मध्यम स्तरले बढेको छ। मूल्य बढ्नुको मुख्य कारणमा पेट्रोलियमको मूल्यमा वृद्धि हुँदा ढुवानी लागतसँगै भारतबाट आउने कच्चा पदार्थको मूल्यसमेत वृद्धि हुनु मुख्य कारक हो।
नेपाल खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधरले खाने तेलसँगै अन्य आयातित खाद्य सामग्रीको मूल्य पनि बढेको बताए। अहिले हरेक खाद्यान्नको मूल्यमा ५०/१०० का दरले मूल्य वृद्धि भएको उनले बताए।
भान्सामा दैनिक उपभोग्य वस्तु मध्ये सबै भन्दा बढी तेलको मूल्य बढेको छ। प्रतिलिटर भुटेको तोरीको तेल प्रतिलिटर २७० बाट बढेर ३५० रुपैयाँसम्म पुगेको छ, भने काँचो तोरीको तेल प्रतिलिटर १६० बाट बढेर २४० रुपैयाँसम्म पुगेको छ। यी दुवै तेलमा ८०÷८० रुपैयाँसम्म मूल्य वृद्धि भएको छ।
त्यसैगरी, भटमास तेलको मूल्य पनि ११५ बाट बढेर २२० रुपैयाँ पुगेकोमा सनफ्लावर तेल प्रति लिटर १४० बाट २४० रुपैयाँ पुगेको छ। नेपाली घ्यू प्रतिकिलो ७०० सयबाट बढेर ९०० सय रुपैयाँसम्म पुगेको छ।
यस्तै, त्रिशूली पोखरेली चामल प्रतिकिलो ७५ बाट ९० रुपैयाँसम्म पुगेको छ। मसुर दाल प्रतिकिलो १०० बाट बढेर १५० रुपैयाँसम्म पुगेको छ। मैदा प्रतिकिलो ४६ बाट बढेर ५० रुपैयाँ किलोसम्म पुगेको नेपाल खुद्रा व्यापार संघको तंथ्याकमा उल्लेख छ। खाद्यान्नमा मात्रै नभई पानीमा समेत मूल्य वृद्धि भएको छ। बजारमा पाइने बोतल वा जारको पानीमा सामान्य मात्रामा मूल्य वृद्धि भएको छ।
नेपालमा खाने तेलका लागि चाहिने कच्चा पदार्थ मलेसिया, युक्रेन, अर्जेन्टिना, ब्राजिल, क्यानडा लगायतका देशबाट आयात हुने गर्दछन्। अमेरिका–इजरायलले इरानमाथि आक्रमण गरेपछि मध्यपूर्व मुलुकहरूबाट अन्य देशले इन्धन आयात गर्ने प्रमुख जलमार्ग हर्मुजमा इरानले अवरोध गरेको छ। यही कारण संसारभर पेट्रोलियर्मको मूल्य अकासिएको छ। इन्धनको मूल्य बढेपछि धेरै क्षेत्रमा यसको प्रभाव पर्छ। खास गरी इन्धनको मूल्यवृद्धिले औद्योगिक उत्पादनदेखि ढुवानीसम्मको लागत बढाउँदा महँगी बढ्छ।
नेपाल पानी उद्योग महासंघका अध्यक्ष विक्रम लिम्बु चेम्जोङका अनुसार विगत ८ वर्षदेखि पानीको मूल्यमा वृद्धि भएको छैन। जार र बोतलमा प्रतिलिटर २० पैसा मात्रै मूल्य निर्धारण गरिएको छ। कम्पनीले उत्पादन गरेर वितरण गर्न मूल्य प्रतिलिटर २० पैसा मात्रै राखिएको अध्यक्ष चेम्जोङङे बताए। यस बाहेक अरू सबै पानीको मूल्य भनेको कच्चा पदार्थको मूल्य रहेको उनको भनाइ छ।
पानी उत्पादनका लागि आवश्यक कच्चा पदार्थमा अर्थात् प्लाष्टिकका सामाग्रीमा ४० प्रतिशतले मूल्य वृद्धि भएको छ। उनका अनुसार प्याकेज, बोतल, लेबल र ¥यापिङ प्लाष्टिकको मूल्य वृद्धि भएको छ। बोतलको पानीमा ४ रुपैयाँ र जारको पानीमा ५÷७ रुपैयाँ बढ्ने अध्यक्ष चेम्जोङ बताउँछन्।