काठमाडौं। बैंकहरूको निष्कृय कर्जा (एनपिएल) ८ प्रतिशतको हाराहारीमा पुगेको छ। सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये ९ बैंकको एनपिएल चालू वर्षको तेस्रो त्रैमासमा ५ प्रतिशतमाथि ८ प्रतिशत नजिक पुगेको हो।
उक्त अवधिमा वाणिज्य बैंकहरुको औषत एनपिएल नै ५ प्रतिशत नजिक पुगेको छ। गत वर्षको चैत मसान्तसम्म औषत ३ं६५ प्रतिशत रहेको वाणिज्य बैंकहरुको एनपिएल चालु वर्षको सोही अवधिमा १.१८ प्रतिशत विन्दुले बढेर ४.८३ प्रतिशत भएको छ।
चालू वर्षको चैत त्रैमासमा सबैभन्दा बढी एनपिएल हिमालयन बैंकको ७.६८ प्रतिशत र सबैभन्दा कम एभरेष्ट बैंकको ०.६४ प्रतिशत कायम भएको छ।
उक्त अवधिमा ९ वटाको ५ प्रतिशमाथि हुँदा ८ वटाको ४ प्रतिशतमाथि ५ प्रतिशतसम्म र बाँकी ३ वटाको ३ प्रतिशतभन्दा कम एनपिएल रहेको छ।
समीक्षा अवधिमा १८ वटाको एनपिएल ०.२४ प्रतिशतदेखि २.७२ प्रतिशत बिन्दुसम्मले वृद्धि भएको बैंकहरुद्वारा प्रकाशित चालू वर्षको तेस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरणले देखाएको छ। उक्त अवधिमा स्ट्याण्डर्ड चार्टर्ड र एभरेष्ट बैंकको मात्रै एनपिएल घटेको छ।

गत चैतमा कायम एनपिएलमा एभरेष्टको ०.०६ प्रतिशत विन्दुले घटेर ०.६ प्रतिशत र स्ट्याण्डर्ड चार्टर्डको ०.७ प्रतिशत बिन्दुले घटेर १.४४ प्रतिशत कायम भएको हो।
हिमालयन, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्डबाहेक चालू वर्षको चैत मसान्तमा कुमारी बैंकको ६.९८ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ६.०६ प्रतिशत र लक्ष्मी सनराइज बैंकको ५.८६ प्रतिशत, एनआइसी एशियाको ५.७५ प्रतिशत, सिटिजन्सको ५.७१ प्रतिशत, प्राइम कर्मसियलको ५.६५ प्रतिशत, नेपाल बैंकको ५.४५ प्रतिशत र प्रभु बैकको ५.०९ प्रतिशत एनपिएल रहेको छ। उक्त अवधिमा ८ वाणिज्य बैंकको एनपिएल ४ प्रतिशतमाथि ४.९८ प्रतिशतसम्म कायम छ।
