काठमाडौं। चितवनको भरतपुर महानगर १५ रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न नहुने देखिएको छ। ठेक्का सम्झौताको म्याद सकिन करिब छ महिना बाँकी रहँदा परियोजनाको करिब ४८ देखि ५० प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ।
भरतपुर महानगरले २०८१ असारमा ३० महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी हिमालयन कालिञ्चोक-बीबीआर जेभीसँग ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। सम्झौताअनुसार रंगशाला २०८३ पुस २२ गतेभित्र निर्माण सम्पन्न हुनुपर्ने छ।
हालसम्म एकवटा दर्शक टावरको निर्माण सम्पन्न भएको छ भने अर्को टावरको दोस्रो तलाको ढलान सकिएको छ। चारमध्ये एकवटा प्यारापिट निर्माण सम्पन्न भएको, दुई वटाको ढलान सकिएको तथा अर्को प्यारापिटको निर्माण कार्य जारी रहेको छ।
मैदान निर्माणको काम पनि सुरु भइसकेको छ। मैदानमा पाँचवटा क्रिकेट पिच निर्माण गर्ने तयारी भइरहेको छ। यससँगै मैदानसम्म पुग्ने पहुँचमार्ग, भूमिगत विद्युत् केबल, प्लम्बिङ तथा अन्य आवश्यक पूर्वाधार निर्माणका कामहरू पनि समानान्तर रूपमा अघि बढिरहेका छन्।

निर्माण कार्यलाई निरन्तरता दिन भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०८३/८४ का लागि रंगशाला निर्माणमा १४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। नगरसभाको १९औँ अधिवेशनमार्फत रंगशालाको बाँकी निर्माण सम्पन्न गर्न संघीय सरकार र बागमती प्रदेश सरकारसँग सहकार्यलाई निरन्तरता दिने नीति पनि अघि सारिएको छ।
बागमती प्रदेश सरकारले रंगशाला निर्माणका लागि बजेट विनियोजन गरे पनि चालु आर्थिक वर्षमा संघीय सरकारले भने यस आयोजनाका लागि बजेट छुट्याएको छैन। यस्तै, महानगरले महानगर क्रिकेट कप र फुटबल लिगलगायत खेलकुद कार्यक्रम सञ्चालनका लागि ६९ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको निर्माण सुरुमा धुर्मुस-सुन्तली फाउन्डेसनले थालेको थियो। आर्थिक तथा व्यवस्थापकीय कठिनाइका कारण निर्माण कार्य रोकिएपछि आयोजना भरतपुर महानगरलाई हस्तान्तरण गरिएको थियो। त्यसपछि महानगरले बागमती प्रदेश सरकार तथा संघीय सरकारको सहकार्यमा निर्माण कार्य पुनः अघि बढाएको हो।


