काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडा हट्ने निश्चित भएपछि सेयर बजारमा उछाल आएको छ । राष्ट्रिय सभामा अर्थमन्त्री खतिवडा पुनः मनोनित नहुने अवस्था आएपछि बुधबार सेयर बजार ५१ अंक बढेर नेप्से परिसूचक १ हजार ५९३ अंकमा पुगेको छ ।
नेकपाले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय गरेको छ । अर्थमन्त्री खतिवडा हट्ने निश्चित हुँदा बजार निरन्तर उकालो लागेको हो ।
बजार बढेपछि बुधबार ४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ बराबरको ९९ लाख ६ हजार कित्ता सेयर किनबेच भएको छ । यो पछिल्ले दुई वर्षपछिको सबैभन्दा बढी कारोबार हो ।

बुधबार नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सबैभन्दा बढी कारोबार भएको छ । नेपाल लाइफको प्रतिकित्ता १ हजार ४९४ रुपैयाँमा २१ करोड ९९ लाख रुपैयाँको सेयर किनबेच भएको छ । पछिल्लो समयमा नेपाल लाइफको सेयर मूल्य बढ्दै गएको छ ।
यस्तै शिवम सिमेन्ट लिमिटेडको ७२६ रुपैयाँमा १८ करोड ४९ लाख र नेपाल बैंकको ३०८ रुपैयाँमा १७ करोड ९६ लाख, हिमालयन डिष्टिलरीको १ हजार ८८० रुपैयाँमा १६ करोड ७१ लाख र नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको ६९५ रुपैयाँमा ११ करोड २४ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बुधबार जीवन र निर्जीवन बीमा,उत्पादनमुलक, होटल र बैंकको सेयर मूल्य उचालिएको छ । सबैभन्दा बढी जीवन बीमा समूहको सेयर मूल्य बढेको छ । यो समूहको ५७१, निर्जीवन बीमाको २३३, उत्पादनमुलक १४२, होटलको ७३ र बैंकको ५० अंकले बढेको छ ।

बुधबार सबै परिसूचक बढदा बजारमा हरियाली देखिएको छ । सेयर बजारमा झण्डै ७० प्रतिशत हिस्सा रहेको वाणिज्य बैंकको सेयर मूल्य कम दरमा बढेको छ । बीमा कम्पनीहरुको आकासिएको छ ।
एभरेष्ट बैंक, राष्ट्रिय बीमा कम्पनी, युनिलिभर नेपाल लिमिटेड, कालिका पावर लिमिटेड र गुराँश लाइफ इन्स्योरेन्स लगायत बीमा कम्पनीका लगानीकर्ताले कमाएका छन ।