काठमाडौं। अमेरिकी सहायता परियोजना (एमसीसी) ‘सर्टडाउन’ गर्ने अमेरिकी सरकारको निर्णयपछि नेपाललगायतका चार मुलुकलाई परियोजनाका सबै प्रक्रिया टुंग्याउन सयदिने समयावधि थपिने भएको छ।
एमसीसीको आर्थिक सहयोगमा प्रसारण लाइन र पूर्वाधार निर्माण भइरहेका बेला परियोजना बन्द गर्ने अमेरिकी सरकारको निर्णय पुनर्विचार गर्न नेपालले आग्रह गरेपछि प्रक्रिया टुंग्याउन थप सयदिने समयावधि पाएको हो।
यद्यपि अन्तर्राष्ट्रिय सञ्चार माध्यम रोयर्टसका अनुसार नेपालसहित विश्वका ४२ देशमा क्रियाशील अमेरिकी सहायता परियोजना (एमसीसी) बन्द हुने घोषणा अमेरिकी सरकारले गरे पनि चार मुलुकमा निरन्तर रहने भएको छ।
एमसीसी परियोजनाको सहयोगमा नेपालको ऊर्जा, पूर्वाधार विकासका लागि आयोजना अगाडि बढिरहेका बेला कार्यक्रम नै बन्द गर्ने अमेरिकी सरकारको निर्णयपछि चिन्ता भइरहेका बेला सहयोग निरन्तर रहने समाचार एजेन्सी रोयर्टसले खबर प्रकाशित गरेको हो।
एमसीसी परियोजनाअन्तर्गत नेपालले ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण र सडक सुधार कार्यका लागि ५० करोड अमेरिकी डलर अनुदान पाइसकेको छ।
नेपालले यो परियोजनामा २० करोड अमेरिकी डलर बराबरको लगानी गर्ने प्रतिबद्धता जनाएको छ। एमसिसीअन्तर्गतका कार्यक्रम कार्यान्वयन गर्न नेपालमा मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल सचिवालय क्रियाशील छ।
एमसीए नेपालमार्फत अहिलेसम्म नयाँ बुटवल, नवलपरासी पश्चिम, रातमाटे नुवाकोट, नयाँ दमौली तनहुँमा तीन वटा सब–स्टेसन बनाउन ठेक्का सम्झौता भइसकेको छ। १८ किलोमिटर सीमापार प्रसारण लाइनको पनि ठेक्का सम्झौता भइसकेको छ। यस्तै, धानखोला–लमही ४० किलोमिटर सडक मर्मत सम्भारको प्रारम्भिक काम पनि अघि बढिसकेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार संसारभर एमसीसीका सबै कार्य बन्द भए पनि नेपालमा हाल सञ्चालनमा रहेको प्रसारण लाइन निर्माणको काम रोकिने छैन।
रोयटर्सले एमसीसीका सबै काम रोक्न आदेश दिइए पनि नेपाल र सेनेगलमा निर्माण भइरहेका प्रसारण लाइन, मंगोलियाको पानी प्रशोधन प्लान्ट र आइभरी कोस्टको विद्यालयको काम निरन्तर जारी रहने उल्लेख गरेको छ। एमसीसी नेपालसहित ४० भन्दा बढी विकासशील देशमा चलिरहेको छ।
अर्बपति व्यापारी इलोन मस्क नेतृत्वको खर्च कटौती निकाय डीओजीईले एमसीसीका कर्मचारीलाई राजीनामा दिन वा बर्खास्त हुने समय पर्खन भन्दै इमेल पठाएपछि परियोजनना बन्द हुने आकलन गरिएको छ।
विकासशील देशलाई ठूला पूर्वाधार आयोजना निर्माण गर्न साझेदारी गर्ने लक्ष्य लिएको एमसीसी परियोजनामा यसअघि अमेरिकामा डेमोक्र्याट र रिपब्लिकन पार्टीबीच मतैक्य थिएन।
तर, रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पले दोस्रो कार्यकाल सम्हालेपछि खर्च कटौती नारा दिएर यूएसआईडी, एमसीसीलगायत परियोजना बन्द गरिने घोषणा गरेका छन्। १०० दिने कार्यकाल पूरा गरेका ट्रम्पले ९० दिनसम्म इजरायल र इजिप्टबाहेकका मुलुकलाई दिइँदै आएको सहयोग स्थगन घोषणा गरेका छन्।
नेपाल र अमेरिकी सरकारले स्थापना गरेको एमसीसीबीच सन् २०१७मा एमसीसी सम्झौतामा वासिङ्टनमा हस्ताक्षर भएको थियो।