काठमाडौं। सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल राष्ट्र बैंकको नयाँ गभर्नरमा तत्काल गुणाकर भट्ट नियुक्त गर्न आग्रह गरेका छन्।
पूर्व सम्झौताअनुरुप नेपाल प्रहरीको महानिरीक्षक ओलीले चाहेको व्यक्ति ल्याउने र गभर्नरमा देउवाले चाहेको व्यक्ति ल्याउने विषयमा सहमति भइसकेकाले त्यहीअनुसार अघि बढ्न देउवाले ओलीलाई आग्रह गरेको बूढानीलकण्ठ स्रोतले बताएको छ।
शनिबार बालुवाटारमा प्रधानमन्त्री ओली, सभापति देउवा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री रमेश लेखकबीच कुराकानी हुँदा सभापति देउवाले ओलीलाई सहमतिअनुसार अघि बढ्न र सरकार हल्लाका विषयका पछि नलाग्न आग्रह गरेको छलफलमा सहभागी एक नेताले बताए।
गभर्नर तत्काल टुंग्याइहाल्नुस्, शिक्षकको आन्दोलन सल्ट्याइहाल्न पहल गर्नुस्, सरकार केही हुँदैन्, ओलीसामू देउवाले भनेको ती नेताले सुनाए। प्रधानमन्त्री ओलीले नै गभर्नरमा किचलो गरेकाले अहिलेसम्म मुलुकले नयाँ गभर्नर पाउन नसकेपछि देउवा बिच्किन सक्ने आँकलन बढेपछि दुई नेताबीच यस विषयलाई जतिसक्दो चाँडो निरुपण गर्ने अनौपचारिक सहमति भएको हो।
भेटका क्रममा ओलीले गभर्नर छनोट समितिका सदस्य विजयनाथ भट्टराइले राजीनामा दिएकाले नयाँ सदस्य नियुक्त गरेर तत्काल गभर्नर नियुक्त गर्ने जवाफ दिएका थिए। पूर्वसहमति जे छ, त्यसैमा काम हुन्छ। छनोट समितिमा नयाँ सदस्य केही दिनमै आउने र त्यसको एक दुई दिनमै गभर्नर नियुक्त हुने देउवासामू ओलीले बाँचा गरेको ती नेताले बताए।
भट्टराइको ठाउँमा नयाँ सदस्य ल्याउने र प्रक्रिया अघि बढाउने ओलीले देउवालाई जवाफ दिएका थिए।
देउवाले गभर्नरका लागि नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गुणाकर भट्टको नाम अघि सारिसकेका छन्। त्यहीअनुसार ओलीलाई अनुरोध गरिसकेको अवस्थामा पनि ओलीले अनेकन बखेडा निकालेर गभर्नर नियुक्ति लम्ब्याएपछि देउवा चिढिएका थिए।
तर, शनिबार ओलीले गभर्नर जतिसक्दो छिटो टुंग्याउने भनेपछि देउवाले सरकारका बारेमा बजारका चलेका हल्लका पछि नलाग्न भनेका थिए।
पूर्वकार्यकारी निर्देशक भट्टले राजीनामा गरिसके पनि कामु गभर्नर निलम ढुंगानाले भट्टको राजनीनामा स्वीकृत गरेकी छैनन्। उनी पनि गभर्नरको दौडमा भएको र प्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलको ग्रीन सिंग्लनमा राजीनामा स्वीकृत नगरेको राष्ट्रबैंक भित्र चर्चा छ।
प्रधानमन्त्री ओलीले कामु गभर्नर ढुंगानालाई भन्ने वित्तिकै राजीनामा स्वीकृत हुन्छ। त्यति गर्दा पनि ढुंगानाले नटेरे कामु गभर्नर नै अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रलाई बनाएर पनि सरकार अघि बढ्न सक्छ। यो काममा ओलीले सक्रियता नदेखाएपछि सरकारको भविष्यमाथि आँकलन सुरु भएको हो।
सभापति देउवा थाइल्यान्ड जानु पूर्व आफ्ना निकट व्यक्तिलाई यो मुलुकमा गभर्नर भट्ट हुन्छ, यदि भट्ट गनर्भर भएनन् भने म प्रधानमन्त्री हुन्छु भनेका थिए। अर्थात् देउवा गभर्नर नेपाली कांग्रेसले सिफारिस गरेको व्यक्ति नबन्ने अवस्था आएमा सत्ता सञ्चालनमा समस्या पैदा हुन सक्ने देखिन्थ्यो।
त्यसैगरी कांग्रेसले शिक्षकको आन्दोलनलाई पनि अनादर गर्न सरकारलाई सम्झाएको हो। यी दुई विषयमा सरकार गम्भीर नभएपछि शनिबार देउवा र ओलीबीच भेट भएको हो। भेटले सबै समस्यालाई समाधान गर्नेतर्फ अघि बढाइएको छ।
शिक्षकले उठाएका मागलाई सम्बोधन गर्न कांग्रेस महामन्त्री गगन थापालाई जिम्मेवारी दिइएको छ।