काठमाडौं। आगामी साउनमा राजधानी काठमाडौंमा एसिया क्षेत्रको सबैभन्दा ठूला खुला स्रोत प्रविधि सम्मेलनमध्यको एक युबुकन एसिया २०२५, आयोजना गर्ने भएको छ।
विश्वभरका प्रविधि विज्ञ सहभागी हुने सम्मेलनमा सिलिकन भ्याली, युरोप र एशियाका विभिन्न प्रविधि केन्द्रबाट २० भन्दा बढी सूचना प्रविधि प्रशिक्षकले सत्र सञ्चालन गर्ने भएका छन्। यो नेपालमा यति ठूलो खुला स्रोत सम्मेलन पहिलो पटक आयोजना हुन लागेको हो।
सम्मेलनका संयोजक आदित्य सिंहका अनुसार हालसम्म १५ भन्दा बढी मुलुकका ७० भन्दा बढी प्रस्तुतीकरण प्रस्ताव प्राप्त भइसकेका छन्। तर, नेपाली सहभागिता थप बढाउने प्रयास जारी छ।
यो घोषणा मार्च ३० मा सेंट जेवियर कलेज, सम्मेलन स्थलमा अन्तर्राष्ट्रिय आयोजक टोलीसँगको बैठकमा गरिएको थियो। सम्मेलनमा ३० मिनेटका प्रविधिक प्रस्तुतीकरण, ९० मिनेटका कार्यशाला (वर्कसप) र छोटो लाइटनिङ टक जस्ता विभिन्न ढाँचाका सत्रहरू रहने छन्।
सम्मेलनका लागि ‘अर्ली बर्ड दर्ता मे महिनादेखि आधिकारिक युबुकन एसिया पोर्टल र स्थानीय टिकटिङ साझेदारमार्फत खुल्ने छ। सम्मेलनका संयोजक आदित्य सिंहका अनुसार युबुकन एसिया नेपालको प्रविधि क्षेत्रलाई सशक्त बनाउन एउटा ठूलो अवसर हुने बताए।
कार्यशाला सत्रमा कम्तिमा २५ प्रतिशत स्थान नेपाली वक्ताका लागि छुट्याउने प्रयास भइरहेको उनको भनाइ छ। हाल तयारी तीव्र गतिमा भइरहेको छ र अन्तर्राष्ट्रिय खुला स्रोत समुदायको नजर काठमाडौंमाथि केन्द्रित भएको छ।
मे महिनामा खुल्ने दर्ताका लागि इच्छुक सहभागीले https://2025.ubucon.asia/ लिङ्क मार्फत सम्पूर्ण जानकारी प्राप्त गर्न सक्ने छन्। सम्मेलनले सहभागीलाई ‘मेन्टोरशिप राउन्ड टेबल’ र अन्य अतिरिक्त गतिविधिमा पनि सहभागी हुने अवसर प्रदान गर्ने छ।
नेपालका लागि यति ठूलो सम्मेलन आयोजना हुनु राष्ट्रिय गौरवको विषय भएको सिंहको दाबी छ। उनले भने, ‘यो सम्मेलनलाई हालसम्मकै सबैभन्दा ठूलो युबुकन एसिया बनाउने लक्ष्य राखेका छौँ। खुला स्रोत प्रविधि संस्कृतिलाई नेपालमा प्रवर्द्धन गर्नुका साथै अन्तर्राष्ट्रिय खुला स्रोत समुदाय र नेपाली प्रविधि क्षेत्रबीच पुल निर्माण गर्ने अपेक्षासहित सम्पूर्ण देश उत्साहित रहेको छ।'
१५ भन्दा बढी अन्तर्राष्ट्रिय वक्ताहरूको आगमनले नेपाललाई विश्वव्यापी प्रविधि समुदायमा उजागर गर्नुका साथै पर्यटन प्रवर्द्धनमा समेत टेवा पुग्ने विश्वास गरिएको छ।