काठमाडौं। स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्षेत्रीय करेस्पोण्डेन्ट बैंकिङ एकेडेमी कार्यक्रम सम्पन्न गरेको छ। बैंकले नेपालमा पहिलो पटक बैंकले नियामक निकाय तथा प्रमुख वित्तीय संस्थाहरूसँगको सहकार्यमा सो कार्यक्रम आयोजना गरेको हो।
कार्यक्रममा आसियान तथा दक्षिण एसिया का १५ राष्ट्रका केन्द्रीय बैंक, नियामक निकायका प्रतिनिधि र बैंकिङ क्षेत्रका १३० भन्दा बढी प्रतिनिधिको सहभागिता रहेको थियो। उक्त कार्यक्रम अप्रिल २४ र २५ मा काठमाडौंमा सम्पन्न भएको हो।
कार्यक्रमको उद्घाटन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव एवम् मनि लाउन्डरिङ समन्वय समितिका संयोजक फणिन्द्र गौतमले गरेका थिए। सो कार्यक्रममा उनले स्ट्यान्डर्ड चार्टर्ड बैंकले क्षेत्रीय विज्ञहरूलाई सहभागी गराएर महत्वपूर्ण योगदान पुर्याएको बताए। वित्तीय अपराध नियन्त्रणमा सरकार र बैंकिङ क्षेत्रको सघन सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
कार्यक्रममा जोखिम व्यवस्थापन, एन्टि–मनी लाउन्डरिङ तथा आतंकवादी वित्त पोषण सम्बन्धी प्रोटोकल, क्रस–बोर्डर कारोबारका चुनौतीहरू, प्रवर्तन कार्यहरू, वित्तीय सन्देश प्रणालीमा नवीनता तथा वैदेशिक विनिमय समाधानलगायतका विषयहरूमा छलफल भएकाे थियाे।
स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत (सीइओ) गोरख राणाले करेस्पोण्डेन्ट बैंकिङ एकेडेमीको उद्देश्य, आतंकवादी वित्त पोषण, प्रतिबन्ध सम्बन्धी ज्ञान नवीकरण र सुदृढ गर्दै वित्तीय प्रणालीलाई सुरक्षित बनाउनुपर्नेमा जोड दिए।