काठमाडौं। नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर निलम ढुंगानाले सरकारकै कारण अर्थतन्त्र समस्यामा परेको दाबी गरेकी छन्। राष्ट्र बैंकको ७० औँ वार्षिकोत्सवको अवसरमा आयोजितक कार्यक्रममा बोल्दै उनले यस्तो दाबी गरेकी हुन्।
कार्यक्रममा उनले बाह्य क्षेत्र सबल रहेपनि सरकारको पुँजीगत खर्च नहुँदा र निजी क्षेत्रतर्फको कर्जा विस्तार नहुँदा समग्र अर्थतन्त्र दबाबमा रहेको बताएकी छन्। वर्तमान नेपाली अर्थतन्त्रले सामना गरिरहेको मुख्य चुनौतीहरूमा निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु र सरकारी पूँजीगत खर्च नहुँदा समस्या परेकाे उनले स्पष्ट पारेकी छन्।
‘नेपालको बाह्य क्षेत्र सबल बन्दै गएको भएपनि निजी क्षेत्रतर्फ कर्जा प्रवाह नहुनु, पुँजीगत खर्च नहुनु जस्ता चुनौती रहेका छन्,’ उनले भनिन्।उनले निजी क्षेत्रतर्फ कर्जा प्रवाहमा आएको मन्दीले उत्पादन र रोजगारीमा नकारात्मक असर पार्ने खतरा रहेको औँल्याइन्।
सरकारको पूँजीगत खर्चमा समेत गति नआउनुले विकास निर्माण कार्यहरूमा प्रभाव परेको उनकाे भनाइ छ।कार्यवाहक गभर्नर ढुंगानाले विगत केही वर्षयता बैंकिङ क्षेत्रमा गरिएको सुधार प्रयास र नियामकीय पहलले वित्तीय प्रणालीलाई बलियो बनाएको बताए पनि अहिलेको चुनौतीपूर्ण अवस्था समाधानका लागि सरकार, वित्तीय संस्था र निजी क्षेत्रबीच अझ बलियो सहकार्यको आवश्यकता रहेको धारणा व्यक्त गरिन्।

उनले भनिन्, ‘राष्ट्र बैंकले वित्तीय स्थायित्व कायम राख्न, मौद्रिक नीतिलाई लचकदार बनाउन र आर्थिक वृद्धिलाई टेवा पुर्याउन आवश्यक रणनीतिहरू अवलम्बन गर्दै आएको छ। आगामी दिनमा निजी क्षेत्रलाई अझ सक्रिय बनाउने र पूँजीगत खर्चको प्रभावकारिता बढाउनेतर्फ केन्द्रित भइने छ।’
उनका अनुसार वित्तीय पहुँच सुधार हुँदै गएको छ। यो वित्तीय समावेशीकरणका लागि ठूलो उपलब्धि हो। राष्ट्र बैंकले विभिन्न आवश्यक क्षेत्रमा सहुलियतपूर्ण नीति अवलम्बन गर्दै आएको छ, जसले आर्थिक पुनत्थानलाई टेवा पुर्याउने अपेक्षा गरिएको छ।
समारोहमा अन्य वक्ताहरूले पनि देशको आर्थिक अवस्थाबारे आ–आफ्ना धारणा प्रस्तुत गर्दै निजी क्षेत्र र सरकारबीच सहकार्य अभिवृद्धि गर्नुपर्नेमा जोड दिएका थिए। राष्ट्र बैंकको स्थापनादेखि हालसम्मको यात्रामा बैंकिङ पहुँच, वित्तीय समावेशीकरण र आर्थिक स्थायित्वमा उल्लेखनीय सुधार आएको तथ्यलाई कार्यक्रममा स्मरण गरिएको थियो।