काठमाडौं। सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममार्फत निजी क्षेत्रको विश्वास जित्ने प्रयन्त गरेको छ। संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा निजी क्षेत्रलाई लगानीका लागि आवश्यक पर्ने नीतिगत सुधार गर्न सरकार तत्पर रहेको प्रतिबद्धता पुनः दोहोर्याएका हुन्।
‘लगानीमैत्री वातावरण निर्माणका लागि सरकारले व्यावसायिक वातावरण सुधार गर्न अध्यादेशमार्फत सुरु गरिएका नीतिगत सुधारका कार्यक्रमको आधारमा उद्यमशीलता र निजी लगानी प्रवर्द्धन गरिने छ,’ राष्ट्रपति पौडेलले भने, ‘आयात प्रतिस्थापन गर्ने र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यसहित मुलुकलाई आत्मनिर्भर बनाउने विभिन्न विधामा उद्यमशीलताको अवसर सिर्जना गरिने छ।’
स्थानीय कच्चा पदार्थ, उद्यमशीलता र सीपमा आधारित औद्योगिक विकासलाई प्रोत्साहित गरिने छ। जडान उद्योग विस्तार गरी आयात प्रतिस्थापन र निर्यात अभिवृद्धि गरिने छ भने सहकारी तथा सामुदायिक क्षेत्रलाई पनि उद्योगतर्फ आकर्षित गरिने भएको छ।
‘नवप्रवर्तनमा आधारित स्टार्टअप उद्यमीलाई प्रोत्साहित गर्न स्टार्टअप कर्जा कार्यक्रम विस्तार गरिने र प्रदेश तथा स्थानीय कर्जा कार्यक्रम विस्तार गरिने छ,’ राष्ट्रपति पौडेलले भने, ‘प्रदेश तथा स्थानीय सरकार एवम् निजी क्षेत्रसँगको समन्वय र सहकार्यमा स्टार्टअप उद्यमीहरूलाई व्यवसाय प्रवर्द्धन, क्षमता अभिवृद्धि, सेवा, बजारीकरण र मूल्यशृङ्खला निर्माण गर्न सबै प्रदेशमा व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना र सञ्चालन गरिने छ।’
इकमर्शमार्फत व्यापारको विकास गरिने उल्लेख छ। नेपाल व्यापार एकीकृत रणनीति र व्यापार घाटा न्यूनीकरण कार्य योजना लागू गरी निर्यात प्रवर्द्धन र आयात प्रतिस्थापन गर्ने र पहिचान गरिएका वस्तुको निर्यात बढाउन विशेष कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
उत्पादन र व्यापार लागत घटाउन दिगो पूर्वाधार र प्रविधिको विकास र उपयोग गरिने छ। रेल तथा जल परिवहनको पूर्वाधार विकास गरी ढुवानी लागत घटाइने प्रतिबद्धता समेत जनाइएको छ।