काठमाडौं। नेपाल बाल संगठन (बालमन्दिर)को जग्गा हिनामिनामा उपप्रधान तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहकी दिदी रिता सिंहसहित १७ जनाविरुद्ध बुधबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको छ।
उनीहरूविरुद्ध ६० करोड ४० लाख रुपैयाँ बिगो माग गरी मुद्दा दायर भएको हो। सुरुका दिनमा सरकारको दबाबका कारण मुद्दा नचलाउने प्रक्रिया अघि बढेको थियो।
यसैबीच महान्यायाधिवक्ता कार्यालयले मुद्दा चलाउने निर्णय गरेर सरकारी वकिल कार्यालयलाई सोहीअनुसार निर्देशन दिएको थियो। उक्त निर्देशनसँगै आज मुद्दा दायर भएको हो। उनीहरूविरुद्ध करोडौँको मुद्दा दायर भए पनि कसैलाई पक्राउ गरिएको छैन।
बालमन्दिरको जग्गा नियम मिचेर बृहस्पति विद्यासदनलाई लिजमा दिएर संस्थालाई ठगी गरेको भन्दै उनीहरूविरुद्ध मुद्दा दायर भएको हो। सिंहसहित तुलसीनारायण श्रेष्ठ, गणेश भक्त श्रेष्ठ, कृष्णशंकर साह, श्याम कुमार आले, सुवास कुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ (कोने) रहेका छन्।
यस्तै, दिपकराज श्रेष्ठ, प्रवीणराज जोशी, मुरारीनिधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेविरुद्ध मुद्दा दायर भएको हो।