काठमाडौं। विश्वकै सबैभन्दा ठूलो अटो प्रदर्शनीमध्ये एक मानिने ‘बेइजिङ अटो शो २०२६’ मा ‘स्मार्ट इलेक्ट्रिक भेहिकल (ईभी)’ केन्द्रमा राख्दै चिनियाँ तथा अन्तर्राष्ट्रिय अटो निर्माता कम्पनीहरूबीच रोचक प्रतिस्पर्धा देखिएको छ। गत शुक्रबारदेखि औपचारिक रूपमा सुरु भएको अटो शोमा अत्याधुनिक प्रविधियुक्त सवारी, एआई-आधारित ड्राइभिङ सिस्टम र अल्ट्राफास्ट चार्जिङ जस्ता नयाँ प्रविधि प्रस्तुत गरिएको छ।
यस वर्षको अटो शोमा १ हजार ४५० भन्दा बढी सवारी प्रदर्शनमा राखिएको छ भने करिब १८१ भन्दा बढी नयाँ तथा प्रिमियम मोडलहरू सार्वजनिक भएको छ। घरेलु मैदानमा भइरहेको यस प्रदर्शनीमा चिनियाँ ब्रान्डहरूले आफ्नो प्राविधिक क्षमताको भरपुर प्रदर्शन गरेका छन्।
चीनका अग्रणी अटो कम्पनी बिवाइडी, नियो, एक्सपेङ, लि अटोले विशेष गरी इलेक्ट्रिक (ईभी) र स्मार्ट प्रविधिमा आधारित गाडीहरू प्रस्तुत गरेका छन्। यी कम्पनीहरूले लामो रेन्ज, छिटो चार्जिङ र एड्भान्स्ड ड्राइभर-असिस्टेन्स प्रणाली जस्ता सुविधालाई प्राथमिकतामा राखेका छन्।
चिनियाँ बजारको दु्रत विकासलाई नियालिरहेका अन्तर्राष्ट्रिय ब्रान्डहरूले यस पटक बलियो उपस्थिति जनाएका छन्। फक्सवागन, बीएमडब्लु, माज्दा, फोर्ड, हुन्डाईलगायतका कम्पनीहरूले चिनियाँ ब्रान्डलाई टक्कर दिन आफ्ना नयाँ पुस्ताका ‘स्मार्ट ईभी’ मोडलहरू लन्च गरेका छन्।
चिनियाँ कम्पनीहरू प्रविधि र मूल्य प्रतिस्पर्धामा आक्रामक रूपमा उभिँदा विदेशी ब्रान्डहरू पनि नयाँ रणनीतिसहित प्रस्तुत भएका छन्।
अन्तर्राष्ट्रिय ब्रान्डहरूले विशेष गरी सफ्टवेयर डिफाइन्ड भेहिकल, उच्च सुरक्षा मापदण्ड र विश्वव्यापी ब्रान्ड भ्यालुलाई आफ्नो प्रमुख हतियार बनाएका छन्। कतिपय विदेशी कम्पनीहरूले चिनियाँ टेक कम्पनीहरूसँगै साझेदारी गरेर त्यहीँको बजार सुहाउँदो ‘इन्फोटेनमेन्ट’ प्रणालीसमेत विकास गरेको यस शोमा देखिएको छ।
विशेष गरी, यस वर्षको अटो शोमा इलेक्ट्रिक भेहिकल, स्मार्ट कनेक्टिभिटी, स्वचालित ड्राइभिङ प्रविधि र अल्ट्रा-फास्ट चार्जिङ सिस्टम मुख्य आकर्षणका रूपमा देखिएका छन्। चिनियाँ कम्पनीहरू प्रविधि र मूल्य प्रतिस्पर्धामा आक्रामक रूपमा उभिँदा विदेशी ब्रान्डहरू पनि नयाँ रणनीतिसहित प्रस्तुत भएका छन्।
अटो शोमा सार्वजनिक भएका नयाँ मोडलहरु
बिवाइडी
चिनियाँ अटोमोबाइल कम्पनी बिवाइडीले बेइजिङ अटो शोमा आफ्नो नयाँ पुस्ताको ‘ब्लेड’ ब्याट्री सार्वजनिक गर्नुका साथै, तेस्रो जेनेरेसनको एटो थ्री (युवान प्लस) बिवाइडी ग्रेट टाङ र सिलायन-८ र इन्ट्री लेभलको एटो वान (सिगल)को अपडेटेड भर्सन सार्वजनिक गरेको छ।
‘सिलायन ०८’
बेईजिङ अटो शोमा बिवाइडीले आफ्नो फुलसाइज एसयूभी ‘सिलायन ०८’ सार्वजनिक गरेको छ। सिलायन ०८ बिवाइडीको ओशन सिरिजको एक फ्ल्यागशिप मोडल हो। यसमा ‘मरिन एस्थेटिक्स’ डिजाइन ल्याङग्वेज अपनाइएको छ। जसमा लामा हेडलाइटहरू र चिल्लो बडी लाइनहरू छन्।
सिलायन ०८ को लम्बाई ५११५ एमएम छ। जुन मर्सिडीज बेन्ज जीएलएसभन्दा ९२ एमएम मात्रै छोटो हो। यसको चौडाइ १९९९ एमएम, उचाई १८०० एमएम र ह्वीलबेस ३,०३० एमएम छ।
बिवाइडी सिलायन ०८ क्रसओभर एसयूभी ५ र ६ सिटमा उपलब्ध छ। यसमा बिवाइडीको ग्रेट ट्याङ क्रसओभरमा रहेको नवीनतम प्रविधि अपनाइएको छ। यसमा डुअल चेम्बर एयर सस्पेन्सन र रियर ह्वील स्टेयरिङ समावेश छन्।
यो एसयूभीले बिवाइडीको फ्ल्यास चार्जिङ प्रविधि सपोर्ट गर्छ। दोस्रो पुस्ताको ब्लेड ब्याट्री रहेको यो एसयूभी १० प्रतिशतबाट ९७ प्रतिशतसम्म चार्ज गर्न केबल ९ मिनेट मात्रै लागछ।
बिवाइडीले बेइजिङ अटो शोमा नै आफ्नो इन्ट्री लेभल ह्याचब्याक एटो वान (सिगल)को अपडेटेड भर्सन पनि प्रस्तुत गरेको छ।
सिलायन ०८ मुख्य विशेषता भनेको यो डुअल मोटर अल ह्वील ड्राइभ सिस्टममा बनेको छ। यसमा ६४३ हर्षपावर शक्ति दिने पावरफुल इलेक्ट्रीक मोटर छ। शक्तिशाली मोटरकै कारण यो एसयूभीले करिब ५ सेकेण्डमै १०० किमी प्रतिघण्टाको स्पीट भेटाउन सक्छ।
एटो वान
बिवाइडीले बेइजिङ अटो शोमा नै आफ्नो इन्ट्री लेभल ह्याचब्याक एटो वान (सिगल)को अपडेटेड भर्सन पनि प्रस्तुत गरेको छ। कम्पनीले जारी २०२६ बेइजिङ अटो शोमा नयाँ एटो वान पहिलोपटक लाइडार सेन्सर राखेर ल्याएको छ। यो प्रविधि बिवाइडीले आफ्नो महँगा ब्राण्ड डेन्जा र याङवाङमा प्रयोग गर्दै आएको थियो।
यद्यपि, लाइडार एटो वानको सबै भेरियन्टमा उपलब्ध छैन। यो अप्सनल छ। लाइडारयुक्त भेरियन्टमा बिवाइडीको ‘गडस् आई बी’ नामक चालक सहायता प्रणाली हुनेछ। यो प्रणाली एनभिडिया ड्राइभ ओरिन चिपद्वारा चल्छ। जसको कम्प्युटिङ क्षमता २५४ टीओपीएस छ।
ग्रेट टयाङ
कम्पनीले अटो शोमा फ्ल्यागशिप एसयूभी ग्रेट टयाङको बुकिङ खुलाएको छ। बिवाइडीले ३६ हजार अमेरिकी डलरदेखि ४६ हजार अमेरिकी डलरसम्म मूल्य तोकेर सार्वजनिक गरेको ग्रेट ट्याङ उत्साहजनक बुकिङ प्राप्त गरेको छ। बिवाइडीको डाइनेस्टि लाइनअप अन्र्तगतको सबैभन्दा ठूलो एसयूभीको रूपमा ग्रेट ट्याङ ल्याएको हो। यसके लम्बाइ ५३०२ एमएम, चौडाइ १९९९ एमएम र उचाई १८०० एमएम छ। यसको ह्वीलबेस ३१३० एमएम छ।
फुलसाइज ७ सिटे यो एसयूभी बिवाइडीले नयाँ डिजाइनमा तयार पारेको हो। यसमा नयाँ डिजाइनको भर्टिकल हेडलाइट समावेस गरिएको छ। इन्टेरियरमा फ्लोटिङ सेन्टर कन्सोल र यात्रुका लागि छुट्टै इन्टरटेन्मेन्ट स्क्रीन उपलब्ध छ। यसको रियर डिस्प्ले भने माथि रुफमा माउन्ट गरिएको छ।
ग्रेट ट्याङमा नयाँ जेनेरेशन ब्लेट ब्याट्री प्रयोग गरिएको छ। जसलाई १ हजार भोल्ट हाइ भोल्टज प्लेटफर्ममा तयार पारिएको छ। बिवाइडी ट्याङलाई कम्पनीले रियर ह्वील ड्राइभ र अलह्वील ड्राइभ गरी दुई भर्सनमा ल्याएको छ। यसको रियर ह्वील ड्राइभ भर्सनले ९५० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले प्रमाणीत गरेको छ।
यसको डुअल मोटर अल ह्वील ड्राइभ मोडलले ५८५ किलोवाट पावर जेनेरेट गर्छ। यो एसयुभी ३.९ सेकेण्डमा ० देखि १०० को स्पीडमा पुग्छ। ग्रेट ट्याङमा १०सी रेटको फास्ट चार्जिङ क्षमताको पीक करेन्ट सर्पोट गर्छ। यो चीनमा उत्पादन भएको सबैभन्दा उच्च चार्जिङ क्षमता भएको एसयूभी मध्य एक हो।
एटो थ्री
बेइजिङ अटो शोमा बिवाइडीले तेस्रो जेनेरेसनको एटो थ्री (युवान प्लस) पनि सार्वजनिक गरेको छ। बिवाइडीले नयाँ एटो थ्री हालकोभन्दा धेरै कुरा परिवर्तन गरेर ल्याएको छ। कम्पनीले यसको साइज बढाउनुका साथै नयाँ डिजाइन, नयाँ प्रविधि, नयाँ ब्याट्री, नयाँ ड्राइभिङ सिस्टममा ल्याएको छ। नयाँ एटो थ्रीमा रियर ह्वील ड्राइभ प्लेटफर्म, दोस्रो पुस्ताको ब्लेड ब्याट्री र अत्याधुनिक फ्ल्यास चार्जिङ सुविधा प्रयोग गरिएको छ।
नयाँ एटो थ्रीको क्याबिन थप व्यवस्थित, सफा र सरल देखिन्छ। यसको इन्टेरियमा ठूलो फ्लोटिङ टचस्क्रीन, एलसीडी इन्स्ट्रुमेन्ट प्यानल, हेड अप डिस्प्ले, टु स्पोक स्टेयरिङ ह्वील, सेन्टर टनेलमा दुई वायरलेस फोन चार्जर, १६ स्पीकरहरू, बिल्ट-इन रेफ्रिजरेटर लगायत फिचर छ।
नयाँ एटो थ्रीको लम्बाइ ४६६५ एमएम, चौडाई १८९५ एमएम र उचाई १६७५ एमएम छ। यसमा २७७० एमएमको ह्वीलबेस रहेको छ। यो हालको एटो थ्रीभन्दा निकै ठूलो हो। यसको साइज हालकोभन्दा २१० एमएम लामो, २० एमएम चौडा र ६० एमएम अग्लो भएको छ।
चिनियाँ स्टार्टअप कम्पनी लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक पर्फर्मेन्स ह्याचब्याक ‘बी ०५ अल्ट्रा’ सार्वजनिक गरेको छ।
नयाँ एटो थ्रीमा ५७.५४ किलोवाट आवर वा ६८.५५ किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। जसले एकपटकको फूल चार्जमा क्रमशः ५४० किमी र ६३० किमी रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ। नयाँ एटो थ्री २०० किलोवाट र २४० किलोवाटको दुई मोटर अप्सनमा उपलब्ध छ। एटो थ्री नेपालमा पनि निकै चर्चित मोडल हो। नेपालमा बिवाइडीका गाडी साइमेक्स इंकले बिक्री गर्दै आएको छ।
लिपमोटर ‘बी ०५ अल्ट्रा’
चिनियाँ स्टार्टअप कम्पनी लिपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक पर्फर्मेन्स ह्याचब्याक ‘बी ०५ अल्ट्रा’ सार्वजनिक गरेको छ। चीनमा ‘लाफा ५ अल्ट्रा’को नामबाट बिक्री सुरू भएको यो ह्याचब्याक अन्तर्राष्ट्रिय बजारमा बी ०५ नामबाट आउने छ।
कम्पनीले बी ०५ अल्ट्राको सुरूआती मूल्य १८ हजार १३५ अमेरिकी डलर (करिब २७ लाख २० हजार रुपैयाँ) तोकेको छ। कम्पनीले सीमित अवधिका लागि छुटसहित १७ हजार ४०० डलरमा उपलब्ध गराउने जनाएको छ।
कम्पनीले बी ०५ अल्ट्रा दुई ब्याट्री अप्सनमा ल्याएको छ। यसको इन्ट्री लेभल मोडलमा ५६.२ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ। जसले एकपटकको फुलचार्जमा ५०० किलोमिटरको रेन्ज दिन्छ। त्यस्तै, टप भेरियन्टमा ६७.१ किलोवाट आवरको एलएफपी ब्याट्री प्याक छ। जसले एकपटकको फुलचार्जमा ६०० किलोमिटर रेन्ज दिनेछ।
जिली
बेइजिङ अटो शोमा जिलीले आफ्नो दोस्रो पुस्ताको ‘ग्यालेक्सि लाइट’ कन्सेप्ट कार सार्वजनिक गरेको छ। यसले कम्पनीको डिजाइन शैलीलाई ‘रिपल एस्थेटिक्स’ बाट विकसित गर्दै बहु–ऊर्जा सवारी साधनहरूका लागि ‘ग्यालेक्सी स्टारफल’ थिममा प्रस्तुत गरेको छ।
यो मोडलमा वास्तुकलाबाट प्रेरित हेडलाइट र तारा–ढाँचाका रियर लाइटसहित परिमार्जित लाइटिङ डिजाइन समावेश गरिएको छ। साथै, अघिल्लो पुस्ताको तुलनामा यसको उचाइ र सिधा उभिएको बनावट (स्टान्स) बढी देखिन्छ। इन्टेरियरमा चिनियाँ डिजाइन सन्दर्भ समेटिएको एआई आधारित ‘क्याबिन-ड्राइभ इन्टिग्रेशन’प्रणाली दिइएको छ, जसले डिस्प्ले, कन्ट्रोल र सिटिङलाई एकीकृत गर्छ।
यसमा जिलीको एआई २.० प्रणाली, २१६०–लाइन डिजिटल लिडार र ३००० टप्स भन्दा बढी कम्प्युटिङ क्षमता भएको प्लेटफर्म जडान गरिएको छ। यसले नक्सा बिना शहरी नेभिगेसन तथा पोइन्ट-टु-पोइन्ट सहायक ड्राइभिङ सुविधालाई समर्थन गर्छ।
आईकार रोबक्स
अटो शोमा चेरीले आफ्नो एक्स सिरिज को आइकार रोबक्स कन्सेप्ट प्रस्तुत गरेको छ। यसको बाहिरी डिजाइनमा माथिल्लो भाग एक बक्स संरचनामा रहेको छ भने तल्लो भागमा उच्च ग्राउन्ड क्लियरेन्स, ठूला पांग्रा र फराकिला व्हील आर्चहरू समावेश छन्।
लाइटिङ डिजाइनमा गोलाकार र आयताकार आकारका एलिमेन्टहरू प्रयोग गरिएका छन्। यसमा ऋ–पिलर ब्लाइन्ड विन्डो र माथिल्लो भागमा राखिएको ब्रेक लाइट पनि समावेश गरिएको छ। रोबक्स आई स्विफ्ट प्लेटफर्ममा ३.० मा आधारित छ। यो प्लेटफर्म उच्च भोल्टेज आर्किटेक्चरमा आधारित रहेको बताइएको छ, जसले लिथियम–आयन र सोलिड–स्टेट ब्याट्री दुवैसँग मिल्दोजुल्दो छ।
नियो ‘ईएस नाइन’
नियोले अटो शोमा देखाएको ईएस नाइन मोडलको लम्बाइ ५३६५ एमएम, चौडाइ २०२९ एमएम, उचाइ १८७० एमएम र ह्वीलबेस ३२५० एमएम लामो रहेको छ। यो एसयूभीमा २३ इन्चको ह्वील प्रयोग भएको छ। ९०० भोल्ट आर्किटेक्चरमा बन्ने यो एसयूभीमा १०२ किलोवाट आवरको टर्नरी एनसीएम ब्याट्री उपलब्ध छ।
ली अटो ‘एल नाइन’
ठूला एसयूभीको भिडमा थपिएको अर्को मोडल ली अटोको एल नाइन एसयूभी हो। ८०० भोल्ट आर्किटेक्चरमा बनेको यो ठूलो एसयूभीको मूल्य ८० हजार ६८५ अमेरिकी डलरसम्म पर्नेछ। एल नाइन एसयूभी पनि ५३०० एमएम माथिको साइजमा उपलब्ध हुनेछ। साथै, २२ इन्चको ह्वील रहेको एसयूभीमा हाइटेक प्रविधि युक्त फिचरहरू रहनेछन्।
एक्सपेङ जीएक्स
चिनियाँ ईभी निर्माता कम्पनी एक्सपेङले आफ्नो नयाँ जीएक्स मोडल प्रदर्शन गरेको छ। यो ६ सिट क्षमताको यसयूभी हो, जसको तेस्रो लहरका सिटहरू फ्ल्याट बनाउन सकिन्छ। यसको लम्बाइ ५.२ मिटर छ। यसमा ३११५ एमएम लामो ह्वीलबेस छ। एक्सपेङले जीएक्सलाई प्योर ईभी र ईआरईभी हाइब्रिडमा ल्याएको छ।
जिकर ‘८–एक्स’
बेईजिङ अटो शोमा जिकर ८ एक्स सार्वजनिक भएको छ। जिकर ८ एक्स प्योर ईभी र प्लगइन हाइब्रिडमा उपलब्ध छ। यसलाई कम्पनीले ९०० भोल्ट आर्किटेक्चरमा बनाएको हो। २.९६ सेकेण्डमै शून्यबाट १०० किलोमिटर प्रतिघण्टाको स्पीड भेट्टाउन सक्ने जिकर ८ एक्समा १०३० किलोवाटको अल ह्वील ड्राइभ मोटर छ।
आइएम एलएस–८
अटो शोमा सार्वजनिक भएको अर्काे ब्रान्ड आइएम एलएस–८ हो। ३६ हजार ६०० अमेरिकी डलर मूल्यबाट सुरू भएको एलएस–८ पनि फुल साइज एसयूभी हो। ८०० भोल्ट आर्किटेक्चरमा नै तयार भइरहेको एलएस–८ हाइब्रिड मोडल हो। एलएस ८ को लम्बाइ ५०८५ एमएम छ भने ह्वीलबेस ३०६० एमएम लामो छ। २२ इन्चसम्मको ह्वील प्रयोग भएको एसयूभी टेक फिचर लोडेड हुनेछ।
फक्सवागेनका ठूला ईभी
जर्मन कार उत्पादकले बेइजिङ अटो शोमा फक्सवागेन जेट्टा एक्स कन्सेप्ट सार्वजनिक गरेको छ। रङगीबिरङगी जेट्टा सेडानहरूको बीचमा प्रस्तुत गरिएको जेट्टा एक्स कन्सेप्ट यसयूभीले जेट्टा ब्रान्डका सवारी साधनहरूको ठूलो लाइनअप सुरु हुने संकेत गरेको छ। चीनमा जेट्टालाई केही वर्षदेखि छुट्टै ब्रान्डको रूपमा विकास गरिएको छ।
फुल साइज एसयूभी रोज्नेको लागि बेइजिङ अटो शोमा आइटो एम नाइन पनि आकर्षक मोडलको रुपमा देखिएको छ।
यो एक्स कन्सेप्ट चारवटा नयाँ र अत्यन्त सुलभ मूल्यका विद्युतीय सवारी साधन सुरुवात गर्नेछ। अमेरिकामा जेट्टा ब्रान्ड विस्तार हुने सम्भावना भने कम देखिन्छ, किनकि त्यहाँ यसको बिक्री खासै उल्लेखनीय छैन। तर चीनमा भने जेट्टा ब्रान्डको लोकप्रियता पर्याप्त भएकाले यस्तो रणनीति सफल हुन सक्ने देखिन्छ।
अउडी ‘ई सेभेन एक्स’
साओमीको वाइयु सेभेनसँग प्रतिस्पर्धा गर्नेगरी अउडीले ई सेभेन एक्स मोडल बजारमा ल्याएको छ। ५०४९ एमएम लामो एसयूभीमा ३०६० एमएम लामो ह्वीलबेस उपलब्ध छ। यसमा २२ इन्चको ह्वील र १०९.३ किलोवाट आवरको ठूलो ब्याट्री रहेको छ।
फोर्ड ब्रोन्को
अटो शोमो फोर्डको ब्रोन्को प्रदर्शनी गरिएको छ। फोर्डले उत्तर अमेरिकामा आफ्ना प्रतिष्ठित मोडलहरूलाई विद्युतीकरण गर्नेबारे चर्चा गरिरहे पनि चीनमा भने ब्रोन्को ईभी पहिले नै आइसकेको छ। यो जियालिङ मोटर्ससँगको साझेदारीमा विकसित गरिएको हो। यो ईभी र एक्स्टेन्डेड रेन्ज ईभी दुवै विकल्पमा उपलब्ध छ। जसको संयुक्त रेन्ज करिब ७५८ माइलसम्म पुग्ने दाबी गरिएको छ।
यसको पावरट्रेन जति आकर्षक छ, इन्टेरियर पनि उत्तिकै उल्लेखनीय छ। यसको अगाडि र पछाडिका दुवै सिटहरू पूर्ण रूपमा सम्म फ्ल्याट पारेर पट्याउन सकिन्छ। यसले गर्दा भित्र एयर म्याट्रेस अटाउने ठाउँ बन्छ, जुन क्याम्पिङ ट्रिपका लागि एकदमै उपयुक्त हुन्छ। सामान्य ब्रोन्को जस्तो कडा लुक्सको सट्टा यसको भित्री भागमा प्रयोग गरिएको रिच ओरेन्ज लेदरले यसलाई परम्परागत ब्रोन्को भन्दा पनि ‘रेन्ज रोभर’ जस्तो लक्जरी अनुभव दिन्छ।
आइटो ‘एम नाइन’
फुल साइज एसयूभी रोज्नेको लागि बेइजिङ अटो शोमा आइटो एम नाइन पनि आकर्षक मोडलको रुपमा देखिएको छ। ५.२ मिटर लामो एसयूभीमा ३११० एमएम लामो ह्वीलबेस दिइएको छ। प्योर ईभी र ईआरईभी हाइब्रिडमा उपलब्ध हुने एम नाइनले अवलोकनकर्तालाई तान्ने अनुमान गरिएको छ।