काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार चीनबाट आउने अधिकांश आयातमा १४५ प्रतिशत भन्सार महसुल अहिलेलाई ‘कायमै रहने’ बताएका छन्।
यद्यपि, अमेरिकी र चिनियाँ अधिकारी यस हप्ता स्विट्जरल्याण्डमा व्यापार वार्ताका लागि तयारी गरिरहेका छन्। चीनका लागि नयाँ अमेरिकी राजदूत डेभिड पड्र्युको शपथ ग्रहण समारोहमा ट्रम्पले अमेरिका अब पहिले जस्तो ठूलो व्यापारिक नोक्सानी नभोग्ने बताए।
‘हामीले वार्षिक १० खर्ब डलर गुमाइरहेका थियौँ, अब हामीले केही पनि गुमाइरहेका छैनौँ, मैले त्यसरी नै हेर्छु,’ आगामी वार्ताका बारेमा सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने।
ओभल अफिसमा चीनलाई वार्ता टेबलमा फर्काउन भन्सार महसुल घटाउने विचार गर्नु हुन्छ? भनेर सोधिएको प्रश्नमा उनले सीधै ‘विचार गरेको छैन’ भन्ने जवाफ दिएका थिए।
उनले अमेरिकाले यस हप्ताको व्यापार वार्ताको पहल गरेको हो भन्ने चीनको दाबीलाई अस्वीकार गर्दै भने, ‘उनीहरूले भने हामीले पहल गरेको? मलाई लाग्छ उनीहरूले फर्केर आफ्नो फाइल अध्ययन गर्नुपर्छ।’
सिएनएनका अनुसार ट्रम्पको टिप्पणीपछि अमेरिकी सेयर बजार केही मात्रामा घटेका छन्। भन्सार महसुल निर्णयको आधिकारिक घोषणापछि निरन्तर घट्दै छन्।
विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार मार्चमा भन्सार महसुल युद्ध सुरु भएदेखि धेरैजसो रोकिएको छ। तथापि, शीर्ष अमेरिकी र चिनियाँ व्यापार अधिकारीबीच यस हप्ताको बैठक पहिलो औपचारिक वार्ताको चरण हो।