काठमाडौं। भारतले गत बुधबार ‘अपरेसन सिन्दुर’ नाम दिएर आतंकवाद फैलाएको आरोपमा पाकिस्तानका ९ स्थानमा हवाई आक्रमण गरेपछि दुई मुलुकबीचको युद्ध चर्किने संकेत देखिएको छ।
भारतको हवाई आक्रमणपछि बदला लिइने पाकिस्तानी प्रधानमन्त्री शहवाज शरिफ जवाफ दिएका थिए। त्यसयता दुवै मुलुकबीच मिसाइल र ड्रोन हानाहान भइरहेका छन्।
बिहीबार रातैभरि भारत र पाकिस्तानले एकअर्कामाथि ड्रोन र मिसाइल आक्रमण गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले लेखेका छन्।

भारतले इजरायल निर्मित ड्रोन प्रयोग गरिरहेको छ भने पाकिस्तानले इरान निर्मित ड्रोन। युद्धका कारण दुवै देशले सीमा क्षेत्रका नागरिकलाई ब्लाकआउट गर्न र घरभित्रै बस्न आग्रह गरिरहेका छन्।
भारत र पाकिस्तानबीच रातभर गोलीबारी भएको छ। भारत र पाकिस्तानलाई छुट्याउने नियन्त्रण रेखामा मात्र नभई दुई मुलुकबीचको अन्तर्राष्ट्रिय सीमा क्षेत्रमा पनि गोलीबारी भएको भारतीय तथा पाकिस्तानी सञ्चार माध्यले जनाएका छन्।
भारतीय सञ्चार माध्यमले पाकिस्तानी सेनाले भारतका १५ भन्दा बढी स्थानमा हवाई आक्रमण गरेको बताएका छन्।
पाकिस्तानले भारतका तीन वटा लडाकु विमान र एक जासुसी विमान खसालेको दाबी गरेको छ भने भारतले पाकिस्तानका दुईवटा जेएफ–१७ र एक एफ–१६ तथा एक जासुसी विमान खसालेको दाबी गरेको छ। हवाई आक्रमणमा भएको मानवीय तथा सैनिक क्षति र भौतिक संरचना नष्टको विवरण दुवै देशले सार्वजनिक गरेका छैनन्।
भारतले आन्तरिक र अन्तर्राष्ट्रिय उडान हुँदै आएका २४ विमानस्थल सुरक्षाका कारण बन्द गरिएको सूचना निकालेको छ। सुरक्षा चुनौतीलाई लक्षित गर्दैै भारतले २४ विमानस्थल बन्द गरेको भारतीय पत्रिका द हिन्दुस्तान टाइम्सले जनाएको छ।
बिहीबार मात्रै दिल्ली विमानस्थलमा मात्रै ९० वटा उडान रद्द गरिएका छन्।
पाकिस्तानले भारत प्रशासित जम्मु, पन्जाब, गुजरात र राजस्थानका भूभागमा हवाई आक्रमण गर्न थालेपछि भारतको नागरिक उड्डयन प्राधिकरणले विमानस्थल बन्द गर्ने निर्णय गरेको हो।
पाकिस्तानका रक्षामन्त्री खावाजा आसिफले बिहीबार भारतका २५ वटा ड्रोन झारेको बताएका थिए। पाकिस्तानी सेनाले लाहोर, रावलपिण्डी र कराँचीलगायत क्षेत्रबाट ड्रोन र मिसाइल प्रयोग गरी भारतीय ड्रोन झारेको बताइएको छ।

भारतले पनि एयर डिफेन्स प्रयोग गरी पाकिस्तानी ड्रोन र मिसाइल आक्रमण रोकेको उल्लेख छ। पश्चिमी र उत्तरी भारतमा पाकिस्तानले प्रहार गरेका कयौं ’टार्गेट’ निष्क्रिय पारेको भारतले बताएको छ।
भारतले असुरक्षाका कारण चण्डीगढ, श्रीनगर, अमृतसर, लुधियाना, भुन्टर, किशनगढ, पटियाला, सिमला, काँगडा–गग्गल, बठिन्डा, जैसलमेर, जोधपुर, बिकानेर, हलवारा, पठानकोट, जम्मु, लेह, मुन्द्रा, जामनगर, हिरासा (राजकोट), पोरबन्दर, केशोद, काण्डला, भुज विमानस्थल बन्द गरेको छ।
पाकिस्तानले भारतका ३ राज्यका ११ सहरमा ड्रोन हमला गरेको भारतको दाबी छ। जम्मु कास्मिरका जम्मु, साम्बा, केरन, तंगधार, कर्नाह, अखनुर, आरएस पूरा सेक्टर र अरनिया, पञ्जाबको पठानकोट तथा राजस्थानको जैसलमेर र पोखरण सहर पनि पाकिस्तानी ड्रोनको निशानामा परेका छन्।
पाकिस्तानी ड्रोनले जम्मु विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई निशाना बनाएको तर भारतीय वायु रक्षा प्रणालीले त्यसलाई विफल पारेको दाबी गरिएको छ। पाकिस्तानले राजस्थानको जैसलमेरमा पनि ड्रोन आक्रमण गरेको छ। राजस्थानका सबै सीमावर्ती जिल्लामा ब्ल्याकआउट गर्न लगाइएको छ।
जम्मु, किस्तवाड, अखनुर, साम्बा र पठानकोटमा पूर्ण ब्ल्याकआउट गर्न लगाइएको छ। आरएस पूरा सेक्टरमा पाकिस्तानतर्फबाट गोलाबारी भइरहेको छ। धेरै ठाउँमा विस्फोटको आवाज सुनिएको स्थानीयले बताएका छन्।
ड्रोन र मिसाइल आक्रमणका कारण सीमा क्षेत्रमा त्रास फैलिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। गोली हानाहानका कारण सयौं बासिन्दा भूमिगत बंकरमा शरण लिन वा सुरक्षित स्थानतर्फ भाग्न बाध्य भएका छन्।
आक्रमणबाट घर, सवारीसाधन, स्कुल, औद्योगिक क्षेत्र, धार्मिक केन्द्रलगायतका भौतिक संरचनामा ठूलो क्षति पुगेको छ।

आईपीएल खेल रद्द
दुई देशबीच हवाई आक्रमण बढेसँगै हिमाचल प्रदेशको धर्मशालामा भइरहेको पञ्जाब किंग्स र दिल्ली क्यापिटल्सबीचको खेल रद्द गरिएको छ ।पाकिस्तानमा जारी पाकिस्तान सुपर लिग (पीएसएल) का बाँकी खेल पाकिस्तानबाट यूएई सिफ्ट गरिएको छ।
युद्ध रोक्न अमेरिकी आग्रह
भारत र पाकिस्तान हवाई आक्रमणमा उत्रिएपछि अमेरिकाले कुनै राष्ट्रको पक्ष नलिने तर युद्ध रोक्न अधिकतम पहल गरिने बताएको छ।
अमेरिकाले दुवै देशलाई आक्रमण बन्द गर्न अपिल गरेको छ। अमेरिकी विदेश मन्त्रालयकी प्रवक्ता ट्यामी ब्रुसले वांसिङ्टनमा प्रेस ब्रिफिङका क्रममा भारत र पाकिस्तानलाई आक्रमण बन्द गर्न अपिल गरेकी हुन्।
उनले भनिन्, ‘अमेरिकाले द्वन्द्वरत पक्षलाई हिंसा, सैन्य कारबाही र युद्ध बन्द गर्न आग्रह गरेको छ। मध्यपूर्वले युद्ध समाधान नभएको पुष्टि गरेकाले भारत–पाकिस्तानबीचको युद्ध रोकिनुपर्ने मान्यता हाम्रो छ।’
अमेरिकाले द्वन्द्व रोक्न दुवै देशका पदाधिकारीसँग नजिकमा रहेर काम गरिरहेको उनले बताइन्। –एजेन्सी