काठमाडौं। राष्ट्रपति डोनाल्ड ट्रम्पले १४५ प्रतिशतसम्म थप आयात कर लगाएपछि व्यापार युद्धको नजिक पुगेका विश्व महाशक्ति अमेरिका र चीनबीचको जेनेभा वार्ता सहमति नजिक पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
स्वीट्जरल्यान्डको जेनेभामा भएको दुई दिने वार्तापछि अमेरिका र चीन आयात कर विवाद समाधान गर्ने दिशाामा सहमति नजिक पुगेका हुन्। दुई मुलुकबीचको व्यापार वार्तामा सम्झौता भएसँगै विश्व सेयरबजारले स्वागत गरेको छ।
अमेरिका र चीनबीच केही समयदेखि व्यापार युद्ध चलिरहेको थियो। यो सम्झौतालाई दुवै देशले ठूलो उपलब्धि ठानेका छन्।
ह्वाइट हाउसले मे ११ मा विज्ञप्ति निकालेर चीनसँग व्यापार सम्झौता भएको घोषणा गरे पनि विवरण भने दिएको छैन। चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले आज जेनेभामा संयुक्त वक्तव्य जारी गरिने बताएका छन्।
चिनियाँ उपवाणिज्यमन्त्री ली चेङगाङले अमेरिका–चीनबीचको वार्ता विश्व अर्थतन्त्रका लागि खुसीको खबर हुने प्रतिक्रिया दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्।
गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएपछि चीनले प्रतिकारस्वरुप अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको कर लगाएको थियो। सोही कारण दुई मुलुकबीचको वार्षिक ६०० अर्ब डलरको व्यापार बन्द अवस्थामा धकेलिँदै थियो।
जेनेभा वार्तामा सहभागी अमेरिकी अधिकारीले दुई मुलुकबीचको सम्झौताले व्यापार घाटा कम गर्ने बताएका छन् भने चिनियाँ पक्षले महत्त्वपूर्ण सहमति भएको र नयाँ आर्थिक वार्ता सुरु गर्ने बाटो खुलेको प्रतिक्रिया दिएको छ।
गत महिना ट्रम्पले चिनियाँ सामानमा १४५ प्रतिशत कर लगाएका थिए। त्यसको बदलामा चीनले पनि अमेरिकी सामानमा १२५ प्रतिशतसम्मको कर लगाएको थियो। सोही कारण विश्वका दुई ठूला अर्थतन्त्रबीचको वार्षिक ६०० अर्ब डलरको व्यापार बन्द अवस्थामा धकेलिएको थियो।
‘दुई पक्ष धेरै छिटो सम्झौतामा पुग्न सक्षम हुनुले के देखाउँछ भने मतभेद पहिले सोचेजस्तो ठूलो थिएनन्,’ अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकारसँग भने। यद्यपि दुवै देशले बढाइएको आयात करबारे सम्झौता भए/नभएको विवरण भने खुलाएका छैनन्।
गत साता ट्रम्पले चीनमाथि लगाइएको कर घटाउन सक्ने संकेत गरेका थिए। ट्रम्पले एनबीसीको साक्षात्कारमा जुनसुकै बेला चीनमाथिको कर घटाउन सक्ने बताएका थिए।
राष्ट्रपति ट्रम्पले पद सम्हालेपछि नेपालसहित विश्वका ६५ मुलुकमा आयात कर बढाउने घोषणा गरेका थिए। सुरुमा चिनियाँ सामानमा २० प्रतिशत हुँदै १४५ प्रतिशतसम्म पुर्याएका थिए।
राष्ट्रपति ट्रम्पले पद सम्हालेपछिको यो वरिष्ठ अमेरिकी र चिनियाँ आर्थिक अधिकारीबीचको पहिलो प्रत्यक्ष वार्ता हो। जेनेभामा शनिबार र आइतबारसम्म चलेको वार्ताबाट सकारात्मक प्रगति भएको दुवै देशका प्रतिनिधिले बताए पनि सहमतिका बुँदा भने सार्वजनिक भएका छैनन्।
वार्तामा अमेरिकाबाट अर्थमन्त्री स्कट बेसेन्ट र व्यापार प्रतिनिधि जेमिसन ग्रीर तथा चीनबाट उपप्रधानमन्त्री हे लाइफेङ र वाणिज्य उपमन्त्री चेङगाङ सहभागी थिए।
छलफलपछि अर्को व्यापार संवाद संयन्त्र बनाउने सहमति भएको समाचार एजेन्सी रोयटर्सले जनाएको छ।
ट्रम्पले अप्रिल २ मा सबै देशलाई १० प्रतिशत भन्सार महसुल र प्रतिस्पर्धीहरूलाई उच्च ’रेसिप्रोकल’ (पारस्परिक) महसुल लगाउने घोषणा गरेका थिए। ट्रम्पले ६० बढी देशलाई लगाएको पारस्परिक भन्सार ९० दिनका लागि रोकेका छन्।
भन्सार दरमा ११५ प्रतिशत घटाउने सहमति
अमेरिका र चीनले एकअर्कामाथि लगाएको उच्च भन्सार दर ९० दिनलाई घटाउने निर्णय गरेका छन्।
जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म चलेको अमेरिका-चीन व्यापार वार्ताबाट दुवै देशले एकअर्कालाई लगाएको भन्सार दरमा ११५ प्रतिशत घटाउने सहमति भएको हो।
सोमबार जारी संयुक्त वक्तव्यअनुसार हाल दुवै देशले एकअर्कामाथि लगाएको उच्च भन्सार ९० दिनसम्म रोक्ने निर्णय भएको छ।
अमेरिकाले चीनमाथि लगाएको १४५ प्रतिशत घटाएर ३० प्रतिशतमा झार्ने र चीनले अमेरिकामाथि लगाएको १२५ प्रतिशतबाट १० प्रतिशतमा झार्ने सहमति भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।–एजेन्सी