काठमाडौं। रसुवागढी भन्सार नाकाबाट एक महिनामै ६०५ युनिट विद्युतीय सवारीसाधन (ईभी) नेपाल भित्रिएका छन्। गत वैशाखमा मात्रै रसुवागढी भन्सार नाकाबाट ६०५ युनिट कार, जीप, भ्यान र लहरी नेपाल भित्रिएका हुन्। उक्त आयातबाट सरकारले १ अर्ब ४९ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
चालू आर्थिक वर्षको एक महिनामा १ अर्ब २० करोड रुपैयाँ बराबरको कार, जीप र भ्यान ५०० युनिट भित्रिएका हुन् भने २९ करोड रुपैयाँ बराबरको १०५ युनिट ट्रक, मिनि ट्रक र लहरी भित्रिएका हुन्।
चालू आवको १० महिना (साउन–वैशाख)सम्म रसुवागढी भन्सार कार्यालयबाट कुल १३ अर्ब ७७ करोड रुपैयाँ बराबरको कुल ५ हजार ७०१ युनिट विद्युतीय सवारी साधन आयात भएका छन्। उक्त आयातबाट सरकारले ८ अर्ब ३९ करोड रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ।
चालू आर्थिक वर्षको साउनमा रसुवागढी भन्सारबाट २३ करोड रुपैयाँ बराबरको १०२ युनिट विद्युतीय गाडी आयात भएको थियो। चालु आवमा रसुवागढीबाट भदौमा सबैभन्दा धेरै १ हजार युनिट गाडी भित्रिएका थिए।
यस्तै, चालू आवको असोजमा ४१२ युनिट, कात्तिकमा ६१२ युनिट, मंसिरमा ७७३ युनिट, पुसमा ४९४ युनिट, माघमा ११७ युनिट, फागुनमा ५२७ युनिट र चैतमा ४५९ युनिट भित्रिएका थिए।
रसुवागढी भन्सारबाट मुख्यगरी बीवाईडी, एमजी, जेक्को जे–६ एक्सपेङ, रिडारा, स्काईवेल, कमर्सियलमा किङलङ र हाइगरलगायत विद्युतीय सवारीसाधन भित्रिने गरेका छन्। रसुवागढी भन्सार कार्यालयबाट सबैभन्दा धेरै बीवाईडी र माइक्रोभ्यान आयात हुने गरेको छ। पछिल्लो समय सडक समस्याका कारण एमजी गाडीको आयात पनि रसुवा भन्सारमा बढेको छ।
आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमा विद्युतीय सवारी साधनमा कर बढ्ने हल्लाका कारण व्यवसायीले वैशाखमा ईभी आयात बढाएका हुन्। अझै जाँचपासका लागि दुई हजार गाडी पाइपलाइनमा रहेको रसुवा भन्सारका एक कर्मचारीले बताए।
तातोपानी भन्सार कार्यालयका अनुसार वैशाखमा मात्र लगभग एक हजार विद्युतीय गाडी जाँचपास भएका छन्। चैतसम्म विद्युतीय गाडीबाट तातोपानी भन्सारले ३ अर्ब राजस्व संकलन गरेको थियो। भन्सार दर बढ्ने शंकाले वैशाखमा विद्युतीय गाडी आयात बढ्दै गएकाले वैशाखमा राजस्व बढ्ने अनुमान कार्यालयले गरेको छ।
चीनबाट आयात हुने विद्युतीय गाडी तातोपानी र रसुवा भन्सार हुँदै आउने भएकाले जाँचपासका लागि चाप बढेको छ।
