काठमाडौं। फेसबुक, ट्वीटर (एक्स), इन्टाग्राम, ह्वाटसएपलगायतका सामाजिक सञ्जाल दर्तामा नेपाल सरकारले गरेको निर्णयमा अटेरी गरेकै कारण अहिले नेपाली व्यवसायी मारमा परेका छन्। सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरी आफ्नो व्यापार व्यवसाय गर्दै आएका स्टार्टअप व्यवसायी सबैभन्दा बढी मारमा परेका हुन्।
पछिल्लो समय अधिकांश व्यवसायीले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरी ग्राहकलाई आफ्नो उत्पादन बिक्री वितरण गरिरहेका बेला सामाजिक सञ्जालनै बन्द भएपछि अहिले ती व्यवसायीहरु मारमा परेका छन्।
सरकारले तीन दिनअघि (बिहीबार) को मन्त्रिपरिषद्को बैठकले दर्तामा अटेरी गर्ने सामाजिक सञ्जाललाई बन्द गर्ने निर्णय गर्दै नियामक निकाय नेपाल दुरसञ्चार प्राधिकरणलाई बन्द गरिदिन निर्देशन समेत दिएका थिए। सरकारको निर्देशन लगत्तै शुक्रबारदेखि पूर्ण रुपमा प्राधिकरणले सामाजिक सञ्जालहरु क्रमशः बन्द गरेको छ।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतकाे स्टार्टअप एन्ड इनोभेसन समितिका सभापति जुना माथेमाले सामाजिक सञ्जाललाई आधार बनाएर व्यापार व्यवसाय गरिरहेका उद्यमीहरु सबैभन्दा बढी मारमा परेको बताइन्। ‘नयाँ आईडीयाका साथ सञ्चालनमा रहेका व्यवसायहरु अधिकांश सामाजिक सञ्जाल केन्द्रितनै हुने गरेका छन्,’ सभापति माथेमाले भनिन्, ‘अझ ह्वाटसएप बन्दले झनै अर्को असर पुगिरहेको छ।’
दर्ता नभएका सामाजिक सञ्जालहरु सरकारको नियम कानुनअनुसार दर्तामा आउनुपर्ने बताउँदै त्यसका लागि सरकारीस्तरबाट पहलकदमी गरेर कानुनी दायरमा ल्याउनुपर्ने उनको भनाइ छ। ‘कानुनी दायरमा ल्याएर औपचारिक रुपमा दर्ता गरेर तत्कालै बन्द रहेका सामाजिक सञ्जाल खुलाउनेतर्फ सरकारले काम गर्नुपर्छ,’ सभापति माथेमाले भनिन्, ‘बन्द गरे पनि विकल्प दिनुपर्छ भन्ने हाम्रो माग हो।’
सामाजिक सञ्जाल बन्दले स्टार्टअप बिजनेश मात्र हाेइन पर्यटन क्षेत्रमा समेत ठूलो घाटा भएको होटल एसोसिएन अफ नेपाल(हान)का कोषाध्यक्ष युवराज श्रेष्ठले बताए।
अहिले सामाजिक सञ्जालमार्फत सुनदेखि नुनसम्म बिक्री हुँदै आएको छ। अर्थात् किसानले उत्पादन गरेको कृषि उपजदेखि विभिन्न सामानसहित चिया पसलसम्मको प्रचार अहिले सामाजिक सञ्जालमै हुने गरेको छ। त्यही सामाजिक सञ्जालमा राखेको आधारमा अनलाइन डेलिभरीसमेत हुँदै आएको थियो।
अहिले नेपालमा दराज, हाम्रो बजारलगायतका ठूला-ठूला अनलाइन प्लेटफर्महरुले समेत आफ्नो प्रभुत्व जमाइरहेको थियो। तीनै अनलाइन प्लेटर्फममार्फत धेरै उत्पादनहरु बिक्री वितरण गरेर जिविकोपार्जन गरिरहेको बेला सामाजिक सञ्जाल बन्द गरेर नेपाली युवा व्यवसायीहरुलाई मर्का परेकाे जनाएको छ।
सामाजिक सञ्जाल बन्दले स्टार्टअप बिजनेश मात्र हाेइन पर्यटन क्षेत्रमा समेत ठूलो घाटा भएको होटल एसोसिएन अफ नेपाल(हान)का कोषाध्यक्ष युवराज श्रेष्ठले बताए। ‘सामाजिक सञ्जालमार्फतनै सानादेखि ठूला होटलहरुको प्रचारप्रसार गर्ने काम हुन्थ्यो,’ हानका कोषाध्यक्ष श्रेष्ठले भने, ‘पर्यटकीय सिजन सुरु हुनैलाग्दा सामाजिक सञ्जाल बन्द हुँदा ठूलो नोक्सानी हुने स्थितिमा पुगेको छ।’
कानुनी दायरमा नआएका सामाजिक सञ्जाललाई कडाई गर्नु सरकारको दायित्व भए पनि सर्वसाधारणलाई विकल्प नदिएकै कारण अहिले धेरैले समस्या भोगिरहेको उनको भनाइ छ।
सरकारको निर्णयमा बेवास्ता गर्दै फेसबुक
जुनसुकै मुलुकमा कुनै व्यापार व्यवसाय गर्दा अनिवार्य रुपमा दर्ता गराउनुपर्छ। चाहे स्वदेशी होस् या विदेशी। सोहीअनुसार सरकारले पनि नेपालमा चल्दै आएकाे फेसबुक, ट्वीटर(एक्स), इन्टाग्राम, ह्वाटसएपलगायतका सामाजिक सञ्जाललाई पटक-पटक दर्ता गर्न निर्देशन दिँदै आएपनि बेवास्ता गर्दै आएपछि अन्ततः सरकारले शुक्रबारदेखि पूर्णरुपमा बन्द गरिदिएको छ।
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले पटक-पटक दर्ताका लागि आब्हान गर्दा पनि अटेरी गरेपछि बाध्य भएर बन्द गर्नुपरेको बताउँदै आएका छन्। ‘मुलुकको कानुनी राजमा आउन नचाहनेहरुलाई बन्द गर्नुको विकल्पनै भएन,’ सञ्चारमन्त्री गुरुङले भने, ‘जहिले दर्ताका लागि आउँछ त्यही बेला खुल्छ।’
छिमेकी मुलुक भारतमा छ फेसबुकको कार्यालय
छिमेकी मुलुक भारतमा फेसबुकले आफ्नो कार्यालय स्थापना गरेको छ। अमेरिकी कम्पनी मेटामार्फत सञ्चालनमा रहेको फेसबुक, ह्वाटसएप र इन्टाग्रामले भारतमा सम्पर्क कार्यालय राखे पनि नेपालमा भने दर्ताका लागि कुनै पनि चासो देखाएको छैन। मेटाले एसियाली मुलुक हेर्ने गरी सिंगापुरमा कार्यालय राखे पनि हालसम्म नेपालमा बन्द भए पनि दर्ताका लागि कुनै प्रक्रियानै अगाडी नबढाएको सञ्चारमन्त्रालयले जनाएको छ।