काठमाडौं। नेपालीको महान चाडपर्व दसैं र तिहार नजिकिँदैछ। जतिजति चाडपर्व नजिकिँदैछ त्यतिनै अटो बजारमा छुटको बहारले चहलपहल बढेकाे छ। चाडपर्वको चलहपहल बढेसँगै दसैं तिहार र छठलाई लक्षित गर्दै विभिन्न कम्पनीले सवारीसाधनमा विशेष ‘फेस्टिभ अफर’ ल्याइसकेका छन्।
चाडपर्वको समयमा नयाँ सामान तथा सवारीसाधन खरिदको लागि उपयुक्त अवसर मानिन्छ। अहिले दुईपांग्रे सवारीसाधन बजारमा उपभोक्तालाई आकर्षित गर्न नगद छुटदेखि फाइनान्सिङमा शून्य प्रतिशत ब्याजदरको योजनाहरू ल्याउन सुरु भइसकेको छ।
चाडपर्वमा छुट तथा अफर दिनु नयाँ कुरा भने होइन विगतका वर्षमा पनि यस्ता छुट तथा अफरहरु ल्याउने गरेका थिए। यस वर्ष पनि केही कम्पनीहरुले चाडपर्व लक्षित अफर सार्वजनिक गरिसकेका छन् भने केहीले ल्याउने तयारीमा रहेको जनाएका छन्।
सवारीसाधनको बिक्री बढाउन र ग्राहकलाई सस्तोमा नयाँ बाइक तथा स्कुटर किन्ने अवसर प्रदान गर्न कम्पनीहरूबीच प्रतिस्पर्धा चलेको छ। बजारमा लोकप्रिय मानिएका कम्पनीहरूले आफ्ना मोडलमा बम्पर उपहार र लक्की ड्र जस्ता योजना पनि समावेश गरेका छन्। यसले उपभोक्तालाई थप उत्साहित बनाएको छ।
प्रायः सबै कम्पनीले निश्चित मोडलमा सिधा नगद छुट दिएका छन्। यो छुट बाइकको मोडल र कम्पनीअनुसार फरक–फरक रहेको छ। केही कम्पनीले सीमित अवधिका लागि शून्य प्रतिशत ब्याजदरमा मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने स्किम ल्याएका छन्। जसले गर्दा कम डाउन पेमेन्टमा पनि नयाँ सवारीसाधन किन्ने अवसर दिएको छ। साथै, केही कम्पनीहरूले बाइक वा स्कुटर खरिद गर्ने ग्राहकलाई हेलमेट, ज्याकेट वा अन्य एसोसरिज निःशुल्क दिने योजना ल्याएका छन्।
सवारीसाधनको बिक्री बढाउन र ग्राहकलाई सस्तोमा नयाँ बाइक तथा स्कुटर किन्ने अवसर प्रदान गर्न कम्पनीहरूबीच प्रतिस्पर्धा चलेको छ।
चाडपर्वलाई लक्षित गरी नेपालका लागि सिएफमोटोको आधिकारिक बिक्रेता रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले भदौदेखि नै विभिन्न खालका अफरहरु दिएको कम्पनीका जनरल म्यानेजर उज्जल जोशी बताउँछन्। ‘हामीले चाडपर्वलाई लक्षित गरी भदौदेखि नै विभिन्न खालका अफरहरु लागू गरिसकेका छौं,’ जनरल म्यानेजर जोशीले भने, ‘हामीले जिहोको इलेक्ट्रिक स्कुटरमा ३० हजार नगद छुटदेखि फाइनान्समा शून्य प्रतिशत अफर दिएका छौं।’ कम्पनीले सिएफमोटोमा ४५ हजारसम्मको नगद छुट दिने जोशीको भनाइ छ।
रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले सवारीसाधन खरिद गर्नेलाई मात्र नभई सोरुम भिजिट गर्नेलाई पनि लकि ड्रमार्फत पाँच हजारको सपिङ भौचर किन्न पाउने लगायतका अफरहरु दिएको जोशीले बताए।
केही समय अगाडि सकिएको नाडा र नाइमा मोबिलिटी एक्स्पोमा विभिन्न कम्पनीहरुले विशेष छुट दिएका थिए। चाडपर्व नजिकिएकाले धेरै कम्पनीहरुले नाडा र नाइमामा दिएको छुटलाई नै निरन्तरता दिइरहेका छन्।
केटिएम इन्टरनेसनलले पहिलो पटक आयोजना भएको नाइमा मोेबलिटी एक्स्पो २०२५ मा जे जति अफर र नगद छुट दिइएको थियो। दसैं तिहार र छटसम्मको लागि त्यहीँ छुटलाई निरन्तरता दिएको छ। कम्पनीलेहरुले दिएको छुट विशेषगरी चाडपर्वको समयमा नयाँ सवारीसाधन किन्ने योजना बनाउनेका लागि एक सुनौलो अवसर हुने कम्पनीका सेल्स तथा मार्केटिङ म्यानेजर नवराज घिमिरे बताउँछन्।
‘कम्पनीलेहरुले दिएको छुट विशेषगरी चाडपर्वको समयमा नयाँ सवारीसाधन किन्ने योजना बनाउनेका लागि एक सुनौलो अवसर हुन सक्छ,’ घिमिरेले भने, ‘हामीले ग्राहकलाई आकिर्षत गर्न र बिक्री बढाउनको लागि यो छुट दिइएको हो।’ छुटले ग्राहकलाई पनि केही सहुलियत होस् भन्ने उद्देश्यले नाइमादेखिकै अफरलाई निरन्तरता दिएको उनको भनाइ छ।
अफरले उपभोक्तालाई आकर्षित गरेको व्यवसायीहरू बताउँछन्। विभिन्न कम्पनीलहरुले ल्याएका छुटका योजना चाडपर्वको अवसरमा ग्राहकलाई मोटरसाइकल खरिद गर्न थप सहज र सुलभ बनाउने लक्ष्यका साथ ल्याइएका हुन्। चाडपर्वको समयमा यातायातको सहजतासँगै नयाँ सवारीसाधनप्रति आकर्षण बढ्ने भएकाले बिक्रीमा समेत उल्लेखनीय वृद्धि हुने विश्वास उनीहरूको छ।
अहिलेसम्म छुट दिएका कम्पनीहरु
सिएफमोटो
सिएफमोटोको नेपालका लागि आधिकारिक बिक्रेता रिलायन्स ग्रुपअन्तर्गतको ऋषि ट्रेड सेन्टरले फेस्टिभ अफर सार्वजनिक गरेको छ। कम्पनीले बिक्री गर्दै आइरहेको सीएफ मोटोको मोटरसाइकल एमटी ४५०, एनके २५० र एनके ३०० मोडलमा छुट्टा छुट्टै फेस्टिभ अफर दिइएको छ।
यस अफरअन्तर्गत सिएफ मोटोको एनके २५० मोटरसाइकल खरिद गर्दा ३५ हजार नगद रुपैयाँ छुट र जुनसुकै ब्राण्डका मोटरसाइकल वा स्कुटर एनके २५० मोडलसँग एक्स्चेन्ज गर्दा ४५ हजारसम्मको एक्स्चेन्ज बोनस पाइने जनाएको छ। साथै, कम्पनीले एनके ३०० मोडलको खरिदमा एमटी कम्पनीको प्रिमियम हेल्मेट र सिएफमोटोको लोगो भएको एउटा हुडी प्रदान गर्ने जनाएको छ भने एमटी ४५० को खरिदमा कम्पनीले १ वर्षमा ५ वटा फ्री राइड प्लान गराउने र एउटा एमटी हेल्मेट दिने छ।
यसका अलावा बम्पर लक्की ड्र उपहारका रूपमा कम्पनीले भाग्यशाली ग्राहकलाई ४ रात ५ दिनका लागि बाली ट्रिप लाने बताएको छ। यो बम्पर अफर भने तीनै मोडलमा लागू हुनेछ। सिएफमोटोका मोटरसाइकल फाइनान्स सुविधामा पनि किन्न सकिन्छ। यसका लागि कम्पनीले सहज ‘हसल फ्री फाइनान्सिङ’ सुविधा दिने छ।
टिभीएस
टिभिएस मोटरसाइकल तथा स्कुटरको आधिकारिक वितरक जगदम्बा मोटर्सले नजिकिँदै गरेको चाडपर्व लक्षित ‘फिल फेस्टीभ, राइड टीभीएस’ स्कीम सार्वजनिक गरिसकेको छ।
कम्पनीले फेस्टिभ स्किमअन्तर्गत १ लाखसम्म नगद छुटका साथै, ग्राहकले अब नागरिकताकै भरमा पनि टीभीएस मोटरसाइकल तथा स्कुटर किन्न सक्ने जनाएको छ। कम्पनीले सार्वजनिक गरेको स्किमअनुसार १ लाखसम्म नगद छुट, १ हजार जनाले ८ हजार रुपैयाँको सपिङ भौचर जित्न सक्ने छन्। यसरी एक्सचेन्ज गर्दा पुरानो मोटरसाइकलमा बजार मूल्यांकनमा थप १० हजार एक्सचेन्ज वोनस दिने कम्पनीले जनाएको छ।
बेनेली
नेपालका लागि बेनेली तथा मोर्बिडेली बाइको आधिकारिक वितरक केटिएम इन्टरनेसनल ट्रेडिङले नाइमा मोबिलिटी एक्स्पो २०२५ मा मोर्बिडेली र केटिएमको बाइकमा भारी छुट दिएको थियो।
पहिलो पटक आयोजना भएको नाइमा मोबिलिटी एकस्पो २०२५ मा कम्पनीले मोर्बिडेली टी ३५२ एक्समा ७४ हजार रुपैयाँ छुट दिएको थियो भने बेनेलीका अन्य मोडलहरूमा १ लाख रुपैयाँसम्मको छुट दिएको थियो। कम्पनीले नेपाल नाइमा मोबिलिटी एक्स्पो २०२५ मा बेनेलीमा दिएको छुट दसैं तिहार र छटसम्म दिने जनाएको छ।
भेस्पा अप्रिलिया
नेपालको लागि भेस्पा एप्रिलियाको आधिकारिक वितरक डेल्टा अटोकर्पले पनि चाडपर्वलाई लक्षित गर्दै अफर ल्याएको छ। अन्य कम्पनीहरुले चाडपर्वलाई लक्षित गर्दै नगद छुटलगायतका स्किमहरु ल्याउँदा डेल्टा अटोकर्पले भने एक्सचेन्ज अफर ल्याएको छ। कम्पनीकाअनुसार भेस्पा एप्रिलिया एक्सचेन्ज गर्दा सबैभन्दा न्यूनतम मूल्य नै ४० हजार रुपैयाँ हुने जनाएको छ। साथै, यसमा पनि स्क्र्याच कुपनमार्फत बजार भ्यालुमा पाइने भन्दा बढी १ लाख ५० हजार रुपैयाँसम्म पाउन सक्ने छन्।
कम्पनीका अनुसार यस अफरअन्तर्गत हरेक ग्राहकले भेस्पा तथा एप्रिलिया स्कुटरको खरिदमा एउटा स्क्र्याच कुपन पाउनेछन्। उक्त कुपनमा दिइएको क्यूआर कोड स्क्यान गरी स्क्र्याचमा पाएको रकमलाई ग्राहकले दोब्बर वा तेब्बरसम्म बढाउन सक्ने कम्पनीले जनाएको छ।
हरेक हप्ताको लक्की ड्रमार्फत ग्राहकले ४ रात ५ दिनको रोमाञ्चक थाइल्याण्ड भ्रमण जित्ने अवसर र एक जना भाग्यशाली ग्राहकले १० लाख नगद रुपैयाँ जित्ने अवसर पाउने छन्। कम्पनीले फाइनान्समा स्कुटर किन्न चाहाने ग्राहकलाई ४.९९ प्रतिशत ब्याजदरमै कर्जा सुविधा पनि उपलब्ध गराउने भएको छ। यसमा कुनै सेवा शुल्क नलाग्ने कम्पनीले जनाएको छ।
हार्डफोर्ड भिआर
चाडपर्व लक्षित धेरै कम्पनीहरुले आफ्ना विभिन्न मोडलमा ग्राहकलाई आकर्षित गरी बिक्री बढाउने उद्देश्यले अफर दिइरहँदा नेपालका लागि हार्टफोर्ड मोटरसाइकलको आधिकारिक वितरक इग्निसन अटोले भने आफ्नो स्टक किल्यरेनस घटाउन अफर ल्याएको छ। इग्निसन अटोले हार्टफोर्डको भीआर १५० एच मोटरसाइकल खरिदमा १ लाख ३० हजार रुपैयाँ छुट दिने घोषणा गरेको छ।
कम्पनीकाअनुसार यसअघि ४ लाख ९० हजार रुपैयाँमा बिक्री गर्दै आएको हार्टफोर्डको भीआर १५० एच मोटरसाइकल ‘स्टक क्लियरेनस’ अफरअन्तर्गत ग्राहकले ३ लाख ६० हजार रुपैयाँमै खरिद गर्न पाउनेछन्। कम्पनीले सन् २०२१ र २०२२ का पुराना मोडलमा छुट अफर ल्याएको हो। ग्राहकले उक्त नगद छुटसँगै १ वर्षको वारेन्टि र १० वटा सर्भिसिङ फ्रीमा पाउने छन्।