चितवन। जिल्लाका पाँच हजार किसानलाई स्रोत किसानका रूपमा विकास गरिने भएको छ। हरेक दुग्ध उत्पादक सहकारीमा आबद्ध उनीहरुलाई जलवायुको असरका कारण दुग्ध उत्पादनमा परेको समस्या न्यूनीकरणका उपाय र जलवायु परिवर्तनमा पशु चौपायले पार्ने असरबारे जानकारी गराइनेछ।
चितवन जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ र केन्द्रीय दुग्ध सहकारी संघको सक्रियता एवं हेफर इन्टरनेसनलको सहयोगमा किसानलाई तालिम दिन लागिएको हो। यसको सुरुआती स्वरूप जिल्लाका सातवटै पालिकाको पशु शाखाका चिकित्सक एवं प्राविधिक र निजी क्षेत्रका प्राविधिकलाई आइतबारदेखि तालिम सुरु गरिएको छ।
तीन दिनसम्म पशु चिकित्सक एवम् प्राविधिकलाई तालिम दिएर उनीहरुले पालिकामा रहेका सहकारीमा आबद्ध किसानलाई तालिम दिनेछन्।
जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले जलवायुका कारण दूध उत्पादनमा परेको असर र पशुका कारण जलवायुमा पर्ने असरको विषयमा ज्ञान लिई दुवैको समस्या समाधानका लागि सहयोग पुग्ने बताए। उनका अनुसार यसरी तालिम लिएका पाँच हजार किसानले दुग्ध उत्पादनका क्षेत्रमा असल अभ्यास गर्नेछन्।
केन्द्रीय दुग्ध सहकारी सङ्घका अध्यक्ष अम्बरबहादुर कुवँरले दुग्ध उत्पादक किसानलाई आत्मनिर्भर बनाउन तालिम आवश्यक रहेको बताए। उनका अनुसार पाँच हजार किसानबाट अन्य किसानले पशुपालन अभ्यास सिक्न पाउने छन्।
हेफर इटरनेसनलका कार्यक्रम संयोजक डा लेखनाथ अधिकारीले चितवनका किसानलाई आत्मनिर्भर बनाउन पशुपालन क्षेत्रमा काम गरिएको बताए। यहाँको असल अभ्यासले देशलाई नतिजा दिने गरी काम हुने विश्वास उनले व्यक्त गरे।
जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायण अधिकारीले दुग्ध उत्पादक किसानलाई असल पशुपालन अभ्यास अहिलेको आवश्यकता रहेको बताए। यसका लागि तीनै तहको सरकारले सहजिकरणको भूमिका निर्वाह गर्न जरुरी रहेको उनको भनाइ छ।
बागमती प्रदेश दुग्ध विकास बोडका उपाध्यक्ष हरिप्रसाद पौडेलले दुग्ध उत्पादनका क्षेत्रमा काम गर्न यस्ता कार्यक्रम फलदायी हुने उल्लेख गरे।–रासस