काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विश्वप्रसिद्ध लक्जरी होटल ब्रान्ड द रिट्ज–कार्लटन को नेपाल प्रवेशले देशलाई विश्वका अर्बपतिहरू र उच्चस्तरीय पर्यटकहरूको आकर्षक गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्ने बताएका छन्।
सोमबार अर्थ मन्त्रालयमा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियट तथा चौधरी समूहका व्यवस्थापन टोलीसँग भएको भेटवार्तामा अर्थमन्त्री वाग्लेले द रिट्ज-कार्लटनको नेपाल आगमनलाई नेपालको पर्यटन र लगानी क्षेत्रका लागि ऐतिहासिक उपलब्धि भएको बताए।
काठमाडौंको ठमेलमा चौधरी समूहको साझेदारीमा द रिट्ज-कार्लटन होटल सञ्चालन गर्ने घोषणा भएको दोस्रो दिन भएको भेटमा अर्थमन्त्रीले म्यारियट समूहलाई धन्यवाद दिँदै नेपालप्रति अन्तर्राष्ट्रिय लगानीकर्ताको विश्वास अझ बलियो बनेको बताए।
“तपाईंहरूको नयाँ परियोजनाले लगानीकर्तामा नयाँ उत्साह थपेको छ। अब विश्वका धनाढ्य पर्यटक र अर्बपतिहरूले पनि नेपाललाई आफ्नो प्राथमिक गन्तव्यका रूपमा हेर्न सक्ने वातावरण बनेको छ,” अर्थमन्त्री वाग्लेले भने, “यसले नेपालको पर्यटन उद्योगलाई नयाँ उचाइमा पुर्याउन सक्छ।”
भेटका क्रममा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियटले नेपाललाई विश्वस्तरीय हिमाली पर्यटन तथा पदयात्रा गन्तव्यका रूपमा वर्णन गर्दै द रिट्ज-कार्लटनको उपस्थितिले नेपालको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाउने विश्वास व्यक्त गरे।
अर्थमन्त्रीले सरकारले लगानीमैत्री वातावरण निर्माणलाई उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै म्यारियट र द रिट्ज-कार्लटनलाई काठमाडौं बाहिरका सम्भावनायुक्त गन्तव्यहरूमा समेत विस्तार गर्न आग्रह गरे। उनले लगानी सुरक्षा, कानुनी सहजीकरण तथा आवश्यक पूर्वाधार विकासमा सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताए।

“सरकार तपाईंहरूको लगानीको सुरक्षाका लागि दृढ छ। हवाई तथा स्थलगत पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गरिरहेका छौं। तपाईंहरूले नेपालको अन्तर्राष्ट्रिय ब्रान्डिङ गर्न सहयोग गर्नुभयो भने नेपाल विश्वका अर्बपतिहरूको गन्तव्य बन्न सक्छ,” उनले भने।
भेटका क्रममा म्यारियट इन्टरनेशनलका अध्यक्ष डेभिस म्यारियटले नेपाललाई विश्वस्तरीय हिमाली पर्यटन तथा पदयात्रा गन्तव्यका रूपमा वर्णन गर्दै द रिट्ज-कार्लटनको उपस्थितिले नेपालको अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाउने विश्वास व्यक्त गरे।
“नेपाल पर्यटनको अपार सम्भावना बोकेको मुलुक हो। हिमाल, संस्कृति र साहसिक पर्यटनको संयोजनले यसलाई विशिष्ट बनाएको छ। द रिट्ज-कार्लटनको आगमनले नेपालबारे विश्व बजारमा सकारात्मक सन्देश जानेछ,” उनले भने।
त्यसैगरी, सीजी हस्पिटालिटी होल्डिङ्स तथा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक राहुल चौधरीले नेपाल लगानीका दृष्टिले अत्यन्त सम्भावनायुक्त मुलुक रहेको बताए। नयाँ सरकार गठनपछि लगानीकर्तामा उत्साह थपिएको उल्लेख गर्दै उनले निजी क्षेत्र र अन्तर्राष्ट्रिय लगानीकर्तालाई आकर्षित गर्न सरकारको निरन्तर सहयोग आवश्यक रहेको धारणा राखे।
भेटवार्तामा सीजी कर्प ग्लोबलका प्रबन्ध निर्देशक निर्वाण चौधरी, म्यारियट एशिया–प्यासिफिक (चीनबाहेक)का अध्यक्ष राजीव मेनन तथा अर्थमन्त्रीको सचिवालयका प्रतिनिधिहरूको पनि सहभागिता रहेको थियो।