काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् अमेरिका, नेपाली भाषा, साहित्य समितिले विश्वभर छरिएर रहेका नेपाली भाषी कविहरूबीच आयोजना गरेको ‘के म नेपाली हैन र?’ भन्ने शीर्षकको कविता प्रतियोगिताको नतिजा घोषणा भएको छ।
जेठ ४ मा ‘भर्चुअल’ रुपमा सम्पन्न उत्कृष्ट १२ स्थानसम्मका कविहरू सम्मिलित कविता वाचन कार्यक्रममा नतिजा घोषणा गरिएको थियो। नतिजाअनुसार हाल अमेरिकाको नर्थ क्यारोलिना अमेरिकामा बस्ने सुबोध पौडेल प्रथम भएका छन्।
यसैगरी, बाँके खजुराका जीवराज बम दोस्रो, स्याङ्जाका लोकहरि पाण्डेय तेस्रो भएको आयोजक समितिले जनाएको छ। समितिका अनुसार प्रथम हुनेले ६०० अमेरिकी डलर, द्वितीय हुनेले ४०० डलर र तृतीय हुनेले ३०० डलर प्राप्त गरेका छन्।
यसैगरी, पोखराका संयोग बस्याल, इलामका (हाल कतार) युगलमणि ढकाल, इलामकै विभूति अधिकारी, नवलपरासी राजेश सापकोटाले प्रोत्साहन पुरस्कार प्राप्त गरे।
भाषा साहित्य समितिका अध्यक्ष राजेन्द्रप्रसाद अर्यालको सभापतित्वमा सञ्चालित उक्त कवि गोष्ठीमा दश जना कवि उत्तमराज भेटवाल, जीवराज बम, मधुसूदन पराजुली, ईश्वरीप्रसाद रिजाल, विभूति अधिकारी, सुबोध पौडेल, मदन घिमिरे, संयोग बस्याल, लोकहरि पाण्डेय र राजेश सापकोटा सहभागी भएका थिए।
कविगोष्ठीका लागि कुल १३८ कविता प्राप्त भएको आयोजक समितिका सदस्य डा अजित घिमिरेले जानकारी दिए।