काठमाडौं । सिटामोललगायतका औषधि तथा कच्चा पदार्थ निर्यातमा भारतले प्रतिबन्ध लगाएपछि नेपाली व्यवसायीले चीनबाट त्यस्ता कच्चा पदार्थ आयात शुरु गरेका छन् ।
भारतमा कोरोना भाइरस फैलिएपछि आफ्नै देशमा औषधिको कमी हुने आशंका गर्दै भारत सरकारले औषधि निर्यातमा रोक लगाएको हो । तर, चीनबाटै फैलिएको कोरोना भाइरस विस्तारै नियन्त्रणमा आउन थालेपछि नेपाली व्यवसायीले चीनबाट औषधिका कच्चा पदार्थ आयात गर्न शुरु गरेका हुन् ।
केहि समय पहिले चीनमा माहामारीकै रुपमा नोबेल कोरोला भाइरस (कोभिड १९) फैलिएको र त्यसपछि कच्चा पदार्थ आयात रोकिएकाले नेपालमा सिमाटोललगयातका औषधि बनाउन कठिनाई भएको थियो । तर, अहिले चीनबाट त्यसको कच्चा पदार्थको आयात सुचारु भएकाले सिटामोल बन्न लागेको नेपाल औषधि उत्पादक सङ्कका पूर्व अध्यक्ष दीपकप्रसाद दाहालले जानकारी दिए ।
‘भारतबाट सिटामोललगायतका औषधि नआए पनि केही फरक पर्दैन्,’ लामो समयदेखि औषधि उत्पादन गरिरहेका पूर्व अध्यक्ष दाहालले भने, ‘अहिले चीनबाट कच्चा पदार्थ ल्याउन थालिसकेका छौं । आत्तिनुपर्ने अवस्था छैन ।’
चीन नियमित काममा फर्किसकेको त्यहाँका व्यापारीले जानकारी दिन थालिसकेका छन् । उनीहरुकै जानकारी पछि केही नेपाली व्यापारीले सिटामोललगायत धेरै औषधिको कच्चा पदार्थ ल्याउन सुरु गरेको उनको भनाइ छ ।
उत्तरतिरका दुई ओटा नाका पूर्ण रुपमा बन्द भए पनि कोलाकात्ताबाटै कच्चा पदार्थ ल्याउन सुरु गरिएको व्यवसायीहरुले बताएका छन् ।
‘अत्यावश्यक औषधिको कच्चा पदार्थ आउन सुरु भइसकेको छ । नेपालमा सिटामोललगायत औषधिको धेरै स्टक पनि छ,’ उनले क्यापिटल नेपालसँग भने, ‘भारतबाट आयात रोकिँदा त्यसको असर नेपालमा पर्दैन ।’
नेपाल ५५ प्रतिशत औषधिमा आत्मनिर्भर भइसकेको छ । ५५ प्रतिशतभित्र सिटामोललगायतका औषधि हुन् । भारतले केही औषधिको निर्यातमा रोक लगाएपछि नेपालीको मनस्थितिमा ठूलो असर परे पनि बजारमा औषधिको अभाव नहुने व्यवसायीहरु बताउँछन् । ‘चीनबाट त्यसको कच्चा पदार्थ नआएको भए बजारमा केही अभाव हुन सक्थ्यो,’ दाहालले भने, ‘तर, अहिले त्यस्तो अवस्था छैन ।’
लोमस फर्मास्यूटिकल्स प्रालिका निर्देशक प्रवलजङ्ग पाण्डेले सिटामोललगायत धेरै औषधिको कच्चा पदार्थ पर्याप्त भएकाले भारतले आयात रोक्दा पनि कुनै असर नपर्ने बताए । ‘उद्योग–उद्योगमा पर्याप्त मात्रामा कच्चा पदार्थ छ,’ उनले भने, ‘भारतले औषधि निर्यातमा रोक लगाएको भन्ने सन्देश बाहिर गएपछि बजारमा औषधि छैन कि भन्ने परेको छ । तर, त्यस्तो होइन्, चाहिने जति औषधि छ ।’