काठमाडौं। अस्ट्रेलियाको प्रतिष्ठित पत्रिका द अस्ट्रेलियनले सार्वजनिक गरेको सन् २०२६ का सर्वाधिक धनी व्यक्तिको सूचीमा नेपाली मूलका उद्यमी शेष घले र जमुना गुरुङ पुनः अटाएका छन्। यस वर्ष उनीहरू क्रमशः १५०औं र १५१औं स्थानमा रहेका हुन्।
घले दम्पतीको यो उपलब्धि झन् उल्लेखनीय यसकारण छ, उनीहरू लगातार १८ वर्षदेखि उक्त सूचीमा आफ्नो स्थान सुरक्षित राख्न सफल भएका छन्। सन् २००९ मा पहिलोपटक शीर्ष २५० धनीको सूचीमा प्रवेश गरेका उनीहरूले त्यसयता निरन्तर आफ्नो उपस्थिति कायम राख्दै आएका छन्।
उनीहरू एमआईटीका सह–संस्थापक हुन्। सन् १९९६ मा स्थापना भएको एमआईटी आज मेलबर्न र सिड्नीमा क्याम्पस सञ्चालन गर्दै अन्तर्राष्ट्रिय विद्यार्थीका लागि अष्ट्रेलियाको प्रमुख निजी उच्च शैक्षिक संस्थामध्ये एक बनेको छ। विभिन्न विश्वविद्यालयसँगको सहकार्यले संस्थालाई थप विस्तार र विश्वसनीयता दिलाएको छ।

द अस्ट्रेलियनका अनुसार घले दम्पतीको संयुक्त सम्पत्ति करिब १ अर्ब २१ करोड अमेरिकी डलर पुगेको छ। शिक्षा क्षेत्र मुख्य व्यवसाय भए पनि उनीहरू रियल इस्टेट क्षेत्रमा पनि सक्रिय छन्। मेलबर्नभरि व्यावसायिक सम्पत्तिको ठूलो पोर्टफोलियो निर्माण गरेका उनीहरूले तीमध्ये धेरैमा एमआईटीका क्याम्पस सञ्चालन गरेका छन्।
उनीहरूको प्रमुख सम्पत्तिमध्ये मेलबर्न सिबीडीको उत्तरी किनारामा रहेको विलियम स्ट्रिटको ३,९०० वर्ग मिटर क्षेत्रफलको जग्गा विशेष उल्लेखनीय छ। सन् २००९ मा खरिद गरिएको उक्त स्थानमा नयाँ परियोजना विकासको योजना बनाइएको छ।
सन् २०२५ मा पुरानो भवन भत्काइएपछि कार्यालय बजार सुस्त भएका कारण उनीहरूले योजना परिमार्जन गर्दै अब त्यहाँ लक्जरी होटल र सर्भिस अपार्टमेन्ट निर्माण गर्ने तयारी गरेका छन्। सो जग्गाको वार्षिक भूमि कर मात्रै करिब २० लाख डलर लाग्ने बताइएको छ।
नेपालमा जन्मिएका घले र गुरुङ सन् १९९० दशकको सुरुतिर अस्ूट्रेलिया बसाइँ सरेका थिए। व्यावसायिक सफलतासँगै उनीहरू सामाजिक र परोपकारी कार्यमा पनि सक्रिय छन्।
शिक्षा तथा सामुदायिक परियोजनामा सहयोग गर्नुका साथै बेल्जियम र नेपालमा होटल व्यवसायमा समेत उनीहरूको लगानी छ। काठमाडौंमा छिट्टै सञ्चालनमा आउने एक प्रतिष्ठित होटल परियोजना पनि उनीहरूको योजनामा समावेश छ। घले गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्षसमेत हुन्।