काठमाडौं। मध्यपूर्वमा चर्किंदै गएको तनावको प्रत्यक्ष प्रभाव नेपाली उद्योग क्षेत्रमा देखिन थालेको छ। ऊर्जा आपूर्ति, कच्चा पदार्थ र ढुवानी लागतमा आएको एकै पटकको झट्काले उद्योगहरू थलिन थालेको हो।
नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गत उद्योग समितिका सभापति तथा अर्घखाँची सिमेन्टका सञ्चालक राजेशकुमार अग्रवालका अनुसार अहिलेको संकट केवल मूल्य वृद्धिमा सीमित नभई उत्पादन क्षमतामै संकुचन ल्याउने चरणमा पुगेको छ। ऊर्जा संकट यसको केन्द्रमा छ।
ग्यासको अभाव र पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उद्योग सञ्चालन लागत ह्वात्तै बढाएको छ। विशेष गरी ग्यासमा निर्भर प्लास्टिक उद्योग सबैभन्दा बढी प्रभावित भएका छन्। प्लास्टिकजन्य सामग्री उत्पादनमा आएको गिरावटले बजारमा अभाव सिर्जना गर्नुका साथै मूल्यलाई दोब्बरसम्म पुर्याएको छ।
विडम्बना के छ भने प्लास्टिक प्रयोग घटाउने नीतिगत निर्देशनहरूबीच पनि उद्योगहरू यसको विकल्पविहीन अवस्थामा छन्। खाद्यान्नदेखि सिमेन्टसम्मका उत्पादनमा प्याकेजिङका लागि प्लास्टिक अनिवार्य छ। जसले नीति र व्यवहारबीचको विरोधाभास उजागर गरिरहेको उद्योगी व्यवसायीको भनाइ छ।
सिमेन्ट उत्पादक संघका अध्यक्ष रघुनन्दन मारुले सिमेन्ट उद्योगमा समस्या अझ जटिल देखिएको बताए। उत्पादनका लागि आवश्यक बोरा अभाव हुन थालेपछि उद्योगहरू पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन्। अध्यक्ष मारुका अनुसार बोराको मूल्य करिब ६५ प्रतिशतले बढेको छ भने उपलब्धता पनि घटेको छ। सामान्य अवस्थामा प्रति बोरा १४/१५ रुपैया पर्नेमा अहिले २६ रुपैयासम्म पुगेको छ। यसले उत्पादन लागत मात्र होइन, आपूर्तिसमेत असहज बनाएको उनले बताए।
कच्चा पदार्थको अनिश्चित उपलब्धता र मूल्य अस्थिरताले दीर्घकालीन असर गर्ने उद्योगीहरुको भनाइ छ।
कच्चा पदार्थतर्फ कोइलाको मूल्य वृद्धि अर्को प्रमुख चुनौती बनेको छ। अन्तर्राष्ट्रिय बजारमा ४०/५० प्रतिशतसम्म वृद्धि भएको कोइला भारतमा मात्र ३० प्रतिशतले महँगिएको छ। यसको प्रत्यक्ष असर नेपाली सिमेन्ट र स्टील उद्योगमा परेको छ। सामान्य अवस्थामा प्रतिकिलो १५ रुपैयाँ पर्ने कोइला अहिले २० रुपैयाँसम्म पुगेको छ। जसले ऊर्जा लागतलाई थप चर्काएको छ।
ढुवानी क्षेत्र पनि यस डिजेलको मूल्य वृद्धिले ठूलो असर पुर्याएको जनाएको छ। डिजेलको मूल्य वृद्धिले चुनढुंगालगायत कच्चा पदार्थ ढुवानी खर्च उल्लेख्य रुपमा बढाएको छ। ऊर्जा, कच्चा पदार्थ र ढुवानी तीनै पक्षबाट दबाब आएको सिमेन्ट उत्पादक संघका अध्यक्ष मारुको भनाइ छ।
‘यो अवस्था ‘कस्ट पुश इन्फ्लेसन’को स्पष्ट उदाहरण हो, जहाँ उत्पादन लागत बढ्दा उद्योगहरूले मूल्य बढाउन बाध्य हुन्छन’ उद्योग समितिका सभापतिसमेत रहेका अग्रवालले भने, ‘तर नेपाली बजारको क्रयशक्ति सीमित भएकाले मूल्य वृद्धि दीर्घकालीन समाधान होइन। यसले माग घटाउने, उत्पादन थप संकुचित गर्ने र अन्ततः उद्योगहरूलाई आंशिक वा पूर्ण बन्दतर्फ धकेल्ने जोखिम बढाउँछ।’
अर्कोतर्फ आपूर्ति शृङ्खलामा आएको अवरोधले उद्योगहरूको योजना र पूर्वानुमान क्षमतामा पनि असर पारेको जनाएको छ। कच्चा पदार्थको अनिश्चित उपलब्धता र मूल्य अस्थिरताले दीर्घकालीन असर गर्ने उद्योगीहरुको भनाइ छ।