रौतहट। गत शुक्रबार र शनिबार परेको बेमौसमी वर्षाले रौतहटमा सञ्चालित विभिन्न इँटा उद्योगको लाखौं मूल्यबराबरका काँचो इँटामा क्षति पुर्याएको छ। यहाँका ५० भन्दा बढी उद्योगमा पकाउनका लागि इँटा तयार पारिएका थिए।
इँटा उद्योग व्यवसायी संघका अध्यक्ष रामविनोद साहका अनुसार वर्षाको कारण जिल्लामा सञ्चालित ५० इँटा उद्योगमा क्षति भएको छ। ती उद्योगमा करिब एक करोड ५० लाखभन्दा बढी काँचो इँटा नष्ट भएको छ।
प्रत्येक काँचो इँटाको लागत औसतमा तीन रुपैयाँभन्दा बढी पर्ने भएकाले कुल नोक्सानीको रकम करिब साढे चार करोड रुपैयाँबराबर भएको अनुमान छ।
जिल्लाको बिके इँटा उद्योग, वीर इँटा उद्योग, पूजा इँटा उद्योग, एमबिआई इँटा उद्योग, सोना इँटा उद्योग, रामजानकी इँटा उद्योगलगायत ५० उद्योगमा बेमौसमी वर्षाले नोक्सानी भएको छ। गरुडा–५ महम्मदपुरस्थित रहेको एसपिएल इँटा उद्योगका सञ्चालकसमेत रहनुभएका साहले उद्योगले निर्माण गरेका काँचो इँटा खुला स्थानमा सुकाउने क्रममा बेमौसमी वर्षाले नष्ट गरेको गुनासो गरे।
काचो इँटाको समेत बीमाको व्यवस्था गरिदिन इँटा व्यवसायी महासंघका केन्द्रीय सदस्य मोहन साहले माग गरेका छन्। गुजरा–७ स्थित रामजानकी इँटा उद्योगका सञ्चालक रहेका उनले बेमौसमी वर्षाको कारण इँटा व्यवसायी पलायन हुनुपर्ने अवस्था आएको बताए।
सरकारले वा सम्बन्धित निकायले काँचो इँटाको बिमा प्रणाली अवलम्बन गरिदिने हो भने यस्ता प्राकृतिक प्रकोपबाट इँटा व्यवसायीले राहत पाउने उनको भनाइ छ।
राधाकृष्णा इँटा उद्योगका सञ्चालक प्रेमशंकर यादवले आफ्नो उद्योगबाट लाखौँ मूल्यबराबरको काँचो इँटा नष्ट भएको गुनासो गरे। एउटा काँचो इँटा उत्पादन गर्न माटो, पानी, मजदुरीलगायतको लागत जोड्दा औसतमा तीन रुपैयाँभन्दा बढी खर्च हुने उनी बताउँछन्।
जिल्लामा १६० इँटा उद्योग दर्ता भए पनि हाल ५७ उद्योगमात्र सञ्चालनमा छन्। पछिल्लो समय इँटा उद्योग बन्द गर्ने क्रम बढेको छ। काचो इँटाको बीमा नहँुदा गत वर्ष पनि बमौसमी वर्षाले इँटा उद्योगमा क्षति पुर्याएको थियो।–रासस