काठमाडौं। महालक्ष्मी विकास बैंकले ३१औँ वार्षिकोत्सवको अवसरमा ३१ जना महिला उद्यमीलाई सम्मान गरेको छ। बैंकले साे अवसरमा जेठ ४ गतेदेखि १० गतेसम्म महिनाव्यापी रुपमा वार्षिक उत्सव मनाउने क्रममा देशभरका शाखामार्फत उनीहरुलाई सम्मान गरिएको जानकारी दिएको छ।
वित्तीय पहुँच, आर्थिक विकास, सामाजिक प्रगति तथा लैंगिक समानताको मुल प्रवाहमा ल्याउने उद्देश्यसहित उक्त सम्मान गरिएको बैंकले बताएको छ। सो कार्यबाट उद्यमशिलतालाई समेत प्रर्वद्धन गर्न सहयोग पुग्ने बैंकले विश्वास लिएको छ।
यस्तै, बैंकले वार्षिकोत्सवको अवसरमा जेठ ६ गते देशभरका १० वटा शाखा कार्यालयहरु र बैंकको केन्द्रिय
कार्यालयमा वृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। उक्त रक्तदान कार्यक्रममार्फत ३२० पिन्ट रगत संकलन गरिएको बैंकले जानकारी दिएको छ।
बैंकले जेठ ७ गते बुधबार केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालय तथा शाखा कार्यालयमार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषासहितको पहिरनमा उपस्थित भई सम्बन्धित भेषभुषाको प्रर्दशन गरिएको थियो। यसका साथै बैंकको केन्द्रिय कार्यालयमा निःशुल्क स्वास्थ्य शिविर तथा आँखा शिविर समेत सञ्चालन गरेको छ।
त्यस्तै, केन्द्रिय कार्यालय, प्रादेशिक कार्यालयहरु तथा शाखा कार्यालयका कर्मचारीहरुको सहभागितामा वित्तीय साक्षरतासहितको प्रभातफेरी कार्यक्रम समेत सम्पन्न गरिएको बैंकले बताएको छ। उक्त प्रभातफेरी कार्यक्रममा बैंकिङ्ग सेवाहरुः मोबाइल बैंकिङ्ग, स्मार्ट क्युआर, निक्षेप, कर्जा, विप्रेषण आदिसँग सम्बन्धित प्लेकार्डहरुको प्रयोग गरिएको थियो।