काठमाडौं । आवश्यकता भन्दा बढि ग्यास सिलिण्डर लैजाने उपभोक्ताको रेकर्ड राख्न थालिएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विक्रेताहरु मार्फत यस्तो रेकर्ड राख्न थालेको हो ।
कोरोना भाइरसको प्रभाव बढिरहेको बेला उपभोक्ताले आवश्यकता भन्दा बढी ग्यास लगेर बजारमा अभाव सिर्जना गरेको भन्दै रेकर्ड राख्न थालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले जानकारी दिए । २ ओटा सिलिण्डर आवश्यक पर्नेले दश ओटासम्म राख्न लागेको भन्दै उनले अभावको अवस्था अन्त्यका लागि रेकर्ड राख्न थालिएको बताए ।
‘जुन एरियामा ग्यास अभाव हुन्छ, त्यसको गुनासो आउने वित्तिकै विक्रेताहरुसँग तथ्यांक मागेर कर्मचारी पठाउछौ’ मन्त्री भट्टले भने, ‘धेरै राख्नेबाट जफत गरेर नपाउँनलेलाई दिन्छौ’ ।
मन्त्री भट्टले आवश्यकता भन्दा बढि सिलिण्डर नराख्न समेत उपभोक्ताई अनुरोध गरेका छन् । त्यस्तै सञ्चार माध्यमले पनि सकारात्मक प्रचार नगरेकै कारण कृतिम अभाव सिर्जना भएको बताए । उनले अहिले आतङ्कित भन्दा सर्तकता अपनाउने बेला भएकोले त्यस प्रति ध्यान दिन सबैलाई आग्रह गरे । मिडियामा त्रास फैलने किसिमका समचारहरु आएकै कारण सर्वसाधारणहरु आत्तिएको उनको ठम्याई छ ।
बजारलाई आवश्यक ग्यास, खाद्यन्न र पेट्रोलियम पदार्थ पर्याप्त मात्रामा रहेकोले ढुक्क हुन उनले सबैलाई आग्रह गरेका छन् । अहिले लसुन र स्याउको मुल्यमा केहि बृद्धि भएपनि अन्य बस्तुहरुको मुल्य नबढेको उनले जानकारी दिए ।
नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले शनिवारबाट दैनिक ४४ हजार सिलिण्डर ग्यास बजारमा पठाउने जानकारी दिए । अहिले दैनिक ३० हजार सिलिण्डर बजारमा पठाइरहेको बताउदै उनले थप मागलाई सम्बोधन गर्न उत्पादन बृद्धि गर्न लागिएको बताए ।
ग्यास उद्योगीहरुसँगको छलफलमा शनिवारबाटै उत्पादन बढाएर बजारमा सिलिण्डर पठाउने सहमति भएको जानकारी दिए ।बजारमा देखिएको अभावलाई यो उत्पादनले सहज बनाउने उनको विश्वास छ ।