काठमाडौं। ग्लोबल आइएमई बैंकले यति एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधासहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ।
काठमाडौंमा आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र यति एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सुवास सापकोटाले संयुक्त रुपमा उक्त कार्डको अनावरण गरेका थिए।
ग्लोबल स्काई क्लब कार्डवाहकले एअरलाइन्सको हरेक हवाई टिकट खरिदमा १० प्रतिशत वा अधिकतम ५०० रुपैयाँसम्म छुट पाउने छन्। यो कार्डबाट पहिलो टिकट खरिदमा क्यासब्याक स्वरुप निःशुल्क टिकट पाइने छ।
साथै, ग्लोबल स्काई क्लब कार्ड लिँदा १०० प्वाइन्ट बोनश प्राप्त हुनेछ। बोनश प्वाइन्ट विभिन्न छुट तथा सुविधाका लागि प्रयोग गर्न सकिने छ। ग्लोबल स्काई क्लब कार्डमार्फत पोस वा ई–कम बाट हुने कारोबारमा पनि प्रत्येक १०० रुपैयाँ बराबर १ माइलेज प्वाइन्ट प्राप्त हुनेछ।
कार्डबाहक ग्राहकहरुले चेक–इन र बोर्डिङमा प्राथमिकताका साथै यात्रामा सामानको निर्धारित तौल भन्दा थप ५ केजी तौल लैजाने सुबिधा पनि पाउने छन्। कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत रेग्मीले ग्लोबल आइएमई बैंक र यती एअरलाइन्सबीचको यस सहकार्यले डिजिटल कारोबार र ग्राहकमैत्री सेवा विस्तारमा सहयोग पुग्ने उल्लेख गरे।
त्यसैगरी, यति एअरलाइन्सका प्रमुख कार्यकारी अधिकृत सापकोटाले ग्लोबल आइएमई बैंकसँगको यस सहकार्यबाट बैंक र एअरलाइन्स दुवैका ग्राहक तथा सेवाग्राहीलाई सुविधा पुग्ने बताए।
ग्लोबल आइएमई बैंकले देशभर जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो। बैंकको ३५४ शाखा कार्यालय, ३८५ एटिएम, २०२ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ११ सयभन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ। यस्तैृ विभिन्न देशबाट पनि सेवा दिँदै आएको छ।
त्यसैगरी, नेपालको अग्रणी हवाई संस्था यति एअरलाइन्सले विगत २६ वर्षदेखि अनवरत रुपमा यात्रुलाई सेवा दिँदै आइरहेको छ। हाल ७ वटा एटीआर विमानबाट यतिले नेपालका सुगम क्षेत्रलगायत पर्वतीय उडानमार्फत वार्षिक १० लाखभन्दा बढी यात्रुहरुलाई सेवा दिइरहेको छ।